सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
वर्तमान समयमा विश्व कोरोना भाइरसको महामारीमा परेको छ। यसको उपचारका लागि थुप्रै देशहरूले परीक्षण त गरिरहेका छन् तर औषधि बजारमा आएको छैन। धेरै देशहरूले यसको रोकथामका लागि लकडाउन गरेका छन्। हाम्रो देशमा पनि लकडाउन भएको साढे दुई महिना पुगिसक्यो।
मानिसहरूले पहिले त पूर्ण रूपमा लकडाउनको पालना गरेका थिए। पहिले त मानिसलाई कोरोनाको डर ज्यादा थियो। अहिले उनीहरूलाई कोरोनाको भन्दा धेरै डर भोकको छ। यतिका समयसम्म चलेको लकडाउनले सबैको जीवन बदलेको छ। लकडाउनको सुरूसुरूमा मानिसहरू खेतीपातीमा केन्द्रित भएको देख्दा मलाई लकडाउन राम्रो रहेछ जस्तो लाग्थ्याे। होइन रहेछ।
अहिले धेरै मानिस बेरोजगार भएका छन्। होटल, व्यापार र उद्योग ठप्प छन्। देशको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ। आम्दानी नहुँदा, खर्च मात्र भइरहँदा सबैलाई खर्च धान्न गाह्रो भएको छ। खाना सबैलाई चाहिन्छ। कमाई नहुँदा खानपानका वस्तु जुटाउन समस्या भएको छ।
ज्यानको माया सबैलाई हुन्छ तर भोकभोकै घरमा थुनिएर बस्न सम्भव हुँदैन। सरकारले नहेरेपछि केही मानिसहरू आफ्नो व्यापार व्यवसायमा फर्किएका छन्। यो उनीहरूको रहर नभएर बाध्यता हो। सरकारले खाद्यान्नको व्यवस्था गरिदिएको भए उनीहरू बाहिर निस्किने थिएनन्। कतिपय भाडामा बसेका हुन्छन्। रोजगार नभएको बेला उनीहरूले भाडा कसरी तिर्ने? २०२० भ्रमण वर्ष बनाउने भनिएको थियो। नाफा हुन्छ भनेर धेरै मानिसले पर्यटकिय क्षेत्रमा लगानी गरेका थिए। तर उनीहरूको सपना चकनाचुर भयो। नाफा त परको कुरा महामारीले उनीहरूलाई झन् घाटा व्यहोर्न बाध्य बनायो।
शैक्षिक क्षेत्रमा पनि लकडाउनको नराम्रो असर परेको छ। म लकडाउनको बीचमै कक्षा आठबाट नौमा पुगे। विद्यालयमा कहिले पुग्ने ठेगान छैन। कुनै कुनै विद्यालयहरूले अनलाइन कक्षा संचालन गरिरहेका छन्। हाम्रो विद्यालयले पनि अनलाइन कक्षा चलाइरहेको हुनाले हाम्रो किताब कापी हेर्ने बानी छुटेको छैन। म इन्टरनेटको पहुँचमा भएर कक्षामा सहभागी हुन पाए। विकट ठाउँमा भएका विद्यार्थीलाई यो सम्भव छैन। उनीहरूलाई त अनलाइन कक्षा कल्पना गर्न पनि गाह्रो छ।
म पोखराको मदरल्याण्ड मा.वि.मा भएर अनलाइनबाट पढ्ने मौका पाइरहेको छु। रोल्पाको कुनै स्कुलमा पढ्ने विद्यार्थीको शिक्षाको अधिकार हनन भएको छ। सरकारले त्यतातिर ध्यान दिन आवश्यक छ कि?
हामीलाई अनलाइन शिक्षामा बानी पार्न कठिन भएको छ। विद्यालयले अनलाइन कक्षा सुरू गरेपछि सुरूसुरूका दिन त एपहरू चलाउन सिक्दै गएँ। हामी मोबाइल चलाउँछौ, कम्प्युटर चलाउँछौ र इन्टरनेट पनि चलाउँछौ। जुम र गुगल क्लासरूम जस्ता एपहरूको नाम हामीमध्ये धेरैले यही लकडाउनमा सुन्यौ। यदि पहिलेदेखि नै हामीले आफूलाई युट्युब र फेसबुकमा मात्र सीमित नराखेको भए आज परिस्थिति केही सहज हुन्थ्यो होला।
लकडाउनले शिक्षा, व्यापार, व्यवसाय, उद्योग लगायत क्षेत्रमा असर गरेको छ। लकडाउनले उब्जाएका धेरै प्रश्न छन्। उत्तर कसले दिन्छ? सबैलाई प्रभावित पारेको लकडाउनको विकल्प अब खोज्नै पर्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)