सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम जेशिका अधिकारी हो। आमाले माया गरेर मलाई जेशु पनि भन्नु हुन्छ। चैत ६ गते जाँच सकिएपछि काठमाडाैंकै घरमा कम्प्युटरमा नेपाली टाइप गर्न सिक्ने भनेर बसेकी थिएँ। चैत ९ गतेका दिन नै हाम्रो घर धादिङको त्रिपुरासुन्दरी नगरपालिका मूलपानीमा गयाैं।
दसैंमा आएको भन्दा यसपालि मलाई धेरै फरक लाग्यो। घर पुगेको तेस्रो दिनबाट म पनि मकै छर्न गएँ। बारीका डल्लाहरू फुटाएँ। केही दिनमा मकैहरू भुरूरू उम्रिए। म पनि अरूसँग घाँस काट्न र दाउरा काट्न गएँ। तर बानी नभएकाले राम्ररी काट्न जानिनँ। घाँस काट्न जानेन भने त हात पनि काट्ने रहेछ।
घरमा कुखुरा र बाख्रा पनि छन्। कुखुरा र साना बाख्रा खान स्याल आउने रहेछ। मैले चिडियाखानाबाहेक अन्त स्याल देखेको थिइनँ। एक दिन स्याल आएछ तर कुखुरा र साना बाख्रा खान पाएन। किनभने काका र हामी सबै जना मिलेर स्याल खेदिहाल्यौं। मैले पनि टाढाबाटै स्याल देखेँ। यता कुखुरा खोरभरी कराइरहेका थिए । स्यालले सबभन्दा ठूलो कुखुराको भालेलाई पक्रन खोज्ने रहेछ। घरमा मैले धारामा ठूलो पानीमा भाडाहरू माझ्न पनि सिकेँ।
एक महिना जति घर बसेर हामी मामाघर गयौं। मामाघरमा धेरै कुखुरा, बाख्राहरू, माछा र बंगुरहरू पालेको छ। माछा मासु किन्न र चल्लाहरू किन्न दैनिक धेरै मानिस आउँछन्। कोरोनाका कारण उनीहरू टाढाटाढा बसेर मात्र किन्न सक्छन्। गेटमा बस्ने दिदीले सबैलाई हातमा स्यानिटाइजर लगाइदिनु हुन्छ। मामा घरमा पनि मैले साना बाख्राहरूसँग खेलेँ। ठूला बाख्राहरूसँग खेल्नु हुँदैन अरे। ठूला बाख्राका सिङले हामीलाई घाइते बनाउन सक्ने रहेछ।
मामाघरमा मैले पोखरीबाट माछा समात्न सिकेँ। मामाघर नजिकैको खोलामा गए पनि दिदीहरूले मलाई पौडी खेल्न दिनु भएन। मामाघरमा चाउचाउ र बिस्कुटहरू त थिएनन्। तर मिठो रोटी, तरकारी, दही, खीर, मासु आदिको खाजा हुन्थ्यो। त्यहाँबाट भाेलिपल्ट घर जान लामो बाटो सम्झेर मेरा खुट्टा दुख्न थाले।
महिना दिन जति मामा घर बसेपछि हामी मुलपानी आफ्नै घर आयौ। यसपालि भने घरमा आरूबखडा, आल्चाहरू पाकिरहेका रहेछन्। म आफैं आरूबखडा, आल्चाका रूख चढेर टिपेर खाँए। साना रूखमा चढेर रूखको घाँस पनि काटे। मलाई साना गाइहरूले घास खाएको हेर्न औधी मन पर्छ। काठमाडाैंमा पढ्दा पनि म जनावरहरूका भिडिओ हेर्छु। विद्यालयले हामीलाई धेरै जसो विश्वमा भएका चमत्कारहरू बारे भिडिओ देखाइरहन्छ। त्यसमा मेसिनले ठूला मकैबारीमा एकै छिनमा काम गरेकाे देखेकी थिएँ। यहाँ त दिनभरी कोदालाले मकै खन्नु पर्ने रहेछ।
भूकम्पपछि बाबाले बनाउनु भएको हाम्रो पहाडको घर धेरै राम्रो छ। नासपाती, लिची, बेल, कटहर र आँप पनि खानेबेला भइसकेका छन्। यसका रूखहरू ठूला हुन्छन्। तर यसमा चढ्न आमाले दिनु हुँदैन। अब त मकै पनि ठूला भइसकेका छन्। काका र दिदीहरूसँग म पनि बाँदर खेद्न खेतमा जान्छु। कुकुर भुकेपछि बाँदरहरू भाग्छन्।
एक दिन घर छेउमा धेरैजना मान्छेहरू जम्मा भएका थिए। किन रहेछ भनेर म पनि गए। त्यहाँ त काकाले अस्तिका दिन गाउँबाट ल्याएको खसि काट्नु भएछ। आजसम्म यहाँ धेरैजना नयाँ साथी भइसकेका थिए। गत वर्ष म काठमाडाैंको मानव सेवा आश्रममा गएपछि सबैलाई माया गर्नु पर्छ भन्ने सिकेकी छु। त्यसैले यी सबै साथी मेरा लागि बराबर माया लाग्ने साथीहरू हुन्।
हामी सबैलाई कोरोना भाइरसको बिदा कसरी मनायौं भनेर विद्यालय खुले पछि कक्षामा मिसले सोध्नु हुन्छ। म यी विषयहरू नै भन्ने छु। मुना पत्रिकामा पनि मैले यात्रा गरेका लेखहरू आउँछन्। केही दिन अगाडि मात्र आमालाई अस्पताल आउने काम परेकाले म आमासँग कामाडाैं आएकी छु। म जस्तै सबै जना साथीहरूलाई म के भन्न चाहन्छु भने हामी सबैले लकडाउनको कसरी मनायौं भन्ने बारेमा आफ्नो विद्यायलमा सर मिसहरूलाई सुनाउनु। धेरै राम्रो हुन्छ।
(जेशिका अधिकारी दीपज्योति आ.मा.वि, टोखा, काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)