सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हामी विगत दुई महिनाभन्दा बढी समयदेखि बन्दाबन्दीमा छौं। हाम्रो देशमा मात्रै होइन, विश्वभरका मानव जगत नै एक प्रकारले ठप्प अवस्थामा छन्।
प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आ-आफ्नो घरभित्रै सीमित भएका छौं। आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउँला भनेर कसैले कल्पनासमेत गरेका थिएनन होला। यो अकल्पनीय समयमा हामीले चुपचाप घरमा बस्नुको अर्को विकल्प भएन र छैन।
हामी सबैले मनमनै कामना गरौं। कोभिड १९ रोग निको पार्ने औषधि वैज्ञानिकहरूले छिट्टै पत्ता लगाउन सफलता पाउन। यो रोगको औषधिको अभावमा आज हजारौं मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ। लाखौं मानिसले संक्रमणको सिकार हुनु परेको छ। हामीजस्ता करोडौं बालबालिका पढ्न लेख्न पाउनु पर्ने अधिकारबाट बन्चित हुनु परेको छ।
आज विश्वका कयौं वैज्ञानिकहरूको आँखामा निद्रा परेको छैन। उनीहरू खाइनखाई, सुतिनसुती कोभिड १९ विरूद्धको औषधि पत्ता लगाउन निरन्तर लागि परिरहेका छन्।
हामीले अलिकति पनि कल्पना नगरेको यो महामारीले मजस्ता विश्वभरका करोडौंकरोड बालबालिकाको शिक्षण क्रियाकलाप अन्योल सिर्जना गरिदियो। हामी सहज रूपमा आ-आफ्ना शिक्षण संस्था गएर पढ्न लेख्न सकेनौं। नजिकै आइरहेको परीक्षा दिनबाट अन्तिम अवस्थामा आएर रोकिनु पर्यो । आफ्ना सबै नियमित क्रियाकलाप छोडेर हामीले आफ्नै घरमा कुनै दिन यसरी बन्दाबन्दी भएर कष्टपुर्वक बस्नुपर्ला भनेर सोचेका पनि थिएनौं।
घरमै बस्नुपर्दा मनमा धेरै कुरा खेल्नु स्वभाविक हो। यसअगाडि हामी यसरी कहिल्यै घरमा बन्दी अवस्थामा बस्नु परेको थिएन। बालबालिकाको मनोविज्ञान यसै पनि चन्चल र अस्थिर स्वभावको हुन्छ। बढ्दो उमेर हुने भएको हुँदा शारीरिक रूपमा पनि निकै चलायमान हुनु पर्ने हुन्छ।
पढ्ने, खेल्ने मनोरञ्जन गर्ने, साथीभाइसँग घुलमिल हुनुपर्ने उमेरमा कोठा मै थुनिनु पर्दा धेरै सकस हुने नै भयो। कति साथीलाई लाग्दो हो बाहिर गएर फुटबल र क्रिकेट खेल्न पाए हुन्थ्यो। कति साथीलाई विद्यालयमा गएर साथीभाइसँग पढ्दै खेल्दै गर्न पाए कस्तो हुन्थ्यो होला भनेर सोच्नु हुन्छ होला।
हाम्रो मनोविज्ञानमा बालमैत्री अनेकौं कुराहरू खेले पनि मनमा सोचे पनि अहिले विश्वभरका बालबालिकाहरूको अवस्था बालमैत्रीपूर्ण छैन। घरको चार सुरबाट हामी टाढा जान सक्ने अवस्थामै छैनौं। यो महामारीबाट जोगिन सके पुनः हामी पहिलाकै सामान्य अवस्थामा फर्किन सक्छौं।
यो प्राणघातक रोग कोरोना अत्यन्त सुक्ष्म जीवाणुले सर्ने भएको हुँदा हाम्रा खुल्ला आँखाले ती जीवाणु देख्न सक्दैनन्। हामी बाहिर निस्किदा के थाहा ती सुक्ष्म जीवाणु हाम्रै शरीरबाट घरसम्म आइपुग्ने हुन कि? तसर्थ, घरबाट बाहिर जानै हुन्न। रोगसँग बचे मात्रै हामीले पढ्ने, लेख्ने र खेल्ने हो। हामी एक जनाको सामान्य हेलचेक्रयाइले के थाहा हामी र हाम्रो समाज नै अप्ठ्यारोमा पर्न सक्छ। त्यसैले, हाम्रा धेरै रहर र चाहनाहरू हुँदाहुँदै पनि घरबाट बाहिर निस्किन सकिरहेका छैनौं।
हामीले खुल्ला आँखाले देख्न पनि नसकिने सुक्ष्म जीवाणुले आज संसार हल्लाइदियो। कुनै पनि कुरालाई सानो भनेर हेप्न नहुने रहेछ। कोरोनाले सानो भनेर हेप्नु हुन्न भन्ने शिक्षा पनि दिएको छ।
हालसम्म कोरोनाको उपचार भनेकै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनु हो। विश्व स्वास्थ संगठनले पनि औषधि पत्ता नलागुनजेल मानिस मानिसबीच सामाजिक दूरी कायम गर्ने, पटकपटक साबुन पानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजरले हात सफा गर्ने र घरमै बस्ने भनेर सम्झाएको छ। मैले पनि यिनै कुरालाई सतर्क भएर अपनाउने गरेको छु। हामीले पढेका छौँ नि 'रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो।'
मलाई विश्वास छ तपाईंहरूले पनि त्यही गर्नु भएको होला। यो संसारमा धेरै मानिसको दैनिकी बिग्रेको छ भने हामी जस्ता बालबालिकाको नियमित प्रक्रियामा व्यापक परिवर्तन आएको छ।
यस्तो बेला आत्तिनु वा हतास हुनु पनि हुन्न। मैले त आफ्ना सबै गतिविधिलाई फरक बनाएको छु। आफूलाई जुन कुरा सजिलो हुन्छ त्यो गर्ने हो। परिवारसँग रमाउँदा धेरै कुरा भुल्न सजिलो हुने रहेछ। अहिले म इन्टरनेट अलि बढी नै चलाउँछु तर आफूलाई केही न केही जानकारी मिलोस भन्ने सोच्छु। मैले इन्टरनेटका माध्यमबाट केही जिवन उपयोगी कुराहरू यो बन्दाबन्दीमा सिकेँ।
खानेकुराहरू बनाउने तरिका, लुगा कपडा कसरी जतन गर्ने उपाय, चित्रकला कसरी बनाउन भन्ने तरिका, कसरी राम्रो अक्षर लेख्न सकिन्छ भन्ने जस्ता धेरै कुराहरू इन्टरनेटमा हेरेर सिकेँ।
मलाई चित्र कोर्न निकै रमाइलो र मजा लाग्छ। बन्दाबन्दीको समयमा धेरै चित्रहरू कोरेँ। चित्र कोर्दा मलाई प्रकृतीको रमणीय ठाउँहरू मन पर्छ।
यो अप्ठ्यारो समयमा पनि मैले आफ्नो नियमित लेख्ने पढ्ने कुरालाई नियमित गर्ने कोसिस गरिरहेको छु। आफूले नजानेको कुरा आफ्ना अभिभावकलाई सोधपुछ गर्छु। अहिले हाम्रो स्कुलले अनलाइन क्लास पनि सुरू गरेको छ। म विद्यालयले दिएको गृहकार्य पनि गरिरहेको छु। म त विद्यालय कहिले जाने होला भन्ने सोचिरहन्छु। आफ्ना साथीभाइ, गुरूहरू र गुरूआमासँग कहिले भेट होला भन्ने लाग्छ। सपनामा पनि म त विद्यालयमा पढिरहेको देख्छु। कोरोनाको यो महामारी कहिलेसम्म हो? कसैले भन्न सकिरहेका छैनन्। तसर्थ, मैले त आफ्नो नियमित पाठ्यसामग्रीलाई नै महत्त्व दिदैँ आएको छु।
पढ्ने कुराका अलवा हाम्रो जीवनमा चाहिने कतिपय सीप घर परिवारबाट सिक्नु पनि शिक्षा नै हो। मैले यो समयमा घर परिवारबाट पनि धेरै कुरा सिक्न पाँए। त्यसबाट पनि म खुसी भएको छु। घरपरिवारबाट पनि हामीले धेरै ठूलो शिक्षा लिन सक्दा रहेछौं भन्ने कुरा म अहिले बुझ्दैछु।
भनिन्छ, 'दुःख नपरी मानिसको चेत खुल्दैन।' साँच्चै बुढापाकाले भनेको यो कुरा सत्य रहेछ। अब हामीले पनि यो महामारीबाट निकै ठूलो पाठ सिक्नुपर्ने हुन्छ। प्रकृति जस्तो ठूलो शक्ति केही रहेनछ भन्ने शिक्षा मैले सिक्न पाए।
अहिले मैले घरमै आवश्यक शारीरिक व्यायाम पनि गर्ने गरेको छु। स्वास्थ रहन शारीरिक व्यायाम पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले हरेक विहान सामान्य व्यायामबाट मेरो बन्दाबन्दीको दैनिकी सुरू हुन्छ।
घरमै लामो समय बस्दा शरीरलाई धेरै गाह्रो हुने भएको हुँदा मैले बेलाबेला शरीर तन्दरूस्त राख्ने उपाय अपनाउँदै आएको छु। यो बन्दाबन्दीमा तपाईंहरू पनि जीवनलाई कसरी सजिलो र सिर्जनात्मक बनाउन सक्नुहुन्छ सोच्नुहोस्। हरेक अप्ठ्यारालाई सजिलोसँग परिवर्तन गर्न सक्नु नै जीवन जिउने उत्तम उपाय हो।
(एभान्जोलिना कार्की श्री जुगल इङलिस मिडियम स्कुल कपन, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)