सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हाम्रो विद्यालय बन्द हुनुभन्दा केही अगाडिबाट नै मैले कोरोना भाइरसबारे सुनेको थिएँ। ममीले यसबारे घरमा कुरा गर्न थाल्नुभएको केही दिन भएको थियो। मलाई स्कुल जाने बेला पनि मास्क लगाएर र झोलामा स्यानिटाइजर राखेर पठाउन थाल्नुभएको थियो।
पटकपटक साबुनपानीले हात धुनु, पानी नभए स्यानिटाइजर प्रयोग गर्नु भनेर सम्झाउनु हुन्थ्यो। ममीको अगाडि 'हस' भने पनि मैले यसलाई गम्भीरपूर्वक लिएको थिइनँ।
त्यसबेला ‘विद्यालय बन्द गर्न ढिला भइसक्यो’ भनेर ममीले लेख्नुभएको लेख कान्तिपुर पत्रिकामा छापिएको थियो। अब छोरालाई स्कुल नपठाउने भनेर ममीले कुरा गर्नुभएको सुनेर म छक्क थिएँ। विद्यालय कहिल्यै नछुटाउनु र परीक्षा भनेको परीक्षा नै हो भन्ने ममीले यो वर्ष जाँच नदिए पनि हुन्छ भनेको सुन्दा म साँच्चै दंग थिएँ।
हाम्रो परीक्षा तोकिएको समयभन्दा छिटै सुरू भएर सकियो। परीक्षा सकिएको केही दिनमै लकडाउन सुरू भयो र हामी घर भित्रै बस्न थाल्यौं। ममी पनि अफिस जान छोड्नुभयो। मैले घर वरिपरि पनि साइकल चलाउन नपाउने भएँ। केही दिन रमाइलो नै लागेको थियो। तर सबैजना आत्तिएर सधैं घरमै बसेको देखेपछि मात्र मलाई कोरोना भाइरस भन्ने चिज डर लाग्दो रहेछ भन्ने लाग्न थाल्यो।
कोरोनाको कारण लकडाउन भएको पनि तीन महिना पुग्न लागिसक्यो। अहिलेसम्म विश्वभरमा ७५ लाखभन्दा बढी मानिसलाई कोरोना संक्रमण भइसकेको छ भने चार लाख बीस हजारभन्दा बढी मानिसको यस भाइरसका कारण मृत्यु भइसकेको छ। नेपालमा पनि चार हजारभन्दा धेरै मानिसलाई यो रोग लागिसकेको छ भने १५ जनाको मृत्यु भइसकेको छ।
झण्डै दुई हप्तादेखि हामी ‘मर्निङ वाक’ जान थालेका छौं। काठमाडौं भए पनि हामी बसेको ठाउँतिर खासै धेरै घरहरू छैनन्। बिहान बिहान हिँड्न थालेपछि केही रमाइलो हुन थालेको छ। ममी भने अहिले झन संक्रमणको डर बढेको छ भन्नुहुन्छ।
ममीको अफिस सुरू भएकाले सधैं अफिस जानुहुन्छ। हामी भने अनलाइनमा पढ्छौं। मलाई भने अनलाइनमा पढ्दा खासै रमाइलो लाग्दैन। लगातार तीन घण्टा कम्प्युटरमा हेरिरहनु पर्दा कहिलेकाहीँ त टाउको दुख्छ। मेडमहरूले छिट्टै स्कुल खुल्दैन त्यसैले अनलाइन पढ्न बानी पार्नुपर्छ भन्नुहुन्छ।
मलाई कोरोना भइरससँग झन् डर लाग्न थालेको छ। वैज्ञानिकहरूले यसको औषधि तथा खोप बनाउँदै छन् भनेर ममी भन्नुहुन्छ। तर यसको औषधि बनेर नेपालमा आइपुग्न अझै एक वर्षभन्दा बढी लाग्छ रे। यस्तो सुन्दा मलाई झन् अत्यास लाग्छ। आजभोलि त मलाई कोरोना महामारी सपना भइदियाेस् जस्तो लाग्छ। एउटा लामो सपना। भोलि बिउँझदा यो त सब सपना पो रहेछ जस्तै।
'सपनासँग पनि मान्छे त्यसै डराएका छन्,' भन्ने भइदिए कस्तो रमाइलो हुन्थ्यो होला है?
(संकल्प भट्टराई समृद्धि स्कुल, बालाजुमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)