सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कहिले भूकम्पले हल्लाउँछ त कहिले बाढीले बगाउँछ। कहिले हावा हुरीले उडाउँछ, त कहिले महामारीले आतंक ल्याउँछ।
लकडाउन अगाडिसम्म त नेपालीको दैनिकी सामान्य अवस्था नै चलिरहेको थियो। उही बाहिर निस्किदा मास्क लगाउनु पर्ने रहेछ, सामाजिक दुरी अपनाउनु पर्ने रहेछ, र बाहिरबाट आएपछि हातखुट्टा राम्राेसँग धुनुपर्ने रहेछ भन्ने सामान्य खालका चेतना मात्र जनमानसमा पसेको थियो। यसै बेलामा हाम्रो वार्षिक परीक्षा पनि नजिकिँदै थियो।
चैत ८ गते सकिने भनिएको परीक्षा चैत ५ गते भित्रमा सक्नुपर्ने भनेर नेपाल सरकारको सूचना आएपछि मेरो मनमा अलिअलि चिसो पस्न थाल्यो। यो त साच्चिकै डरलाग्दो रोग रहेछ भन्ने लाग्यो। हाम्रो परीक्षा त समाप्त भयो तर भालि पल्टदेखि सुरू हुन लागेको एसइई परीक्षा अघिल्लो दिन मात्र स्थगित गरिँदा मेरो डरको सीमा नै रहेन।
यस्तै अन्य क्रियाकलापहरू स्थगित हुँदै गर्दा नेपालमा २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरू भयो।
यति लामो बिदा, यति धेरै दिन आमा बाबासँगको घर बसाई र यति ठूलो महामारी रोगको अनुभव मलाई अहिलेसम्म भएको थिएन। लकडाउनका सुरूका दिनहरू त निकै उत्साह र उमंगले भरिएका थिए। म आज यो काम गर्छु, आज यो खाजा खाने, आज यो फिल्म हेर्ने, इत्यादि। दिनहरू बित्दै जाँदा, लकडाउन थपिँदै जाँदा ती रमाइला दिनहरू पनि उराठ लाग्दा लाग्न थाले। म आफैँलाई घरभित्र थुनिए जस्तै लाग्न थाल्यो। घरको छतबाट पर देखिएको खेल मैदान हेर्दा त्यहाँ गएर सबै साथी जम्मा गरेर खेलौं जस्तो लाग्थ्यो।
भनिन्छ नि, 'कि परेर जानिन्छ, कि पढे्र।'
मैले पनि लकडाउनको सदुपयोग गर्न बिस्तारै सिकेकी छु। आजकलका दिनहरू नेपाली टाइप सिक्दै, मादल बजाउन सिक्दै बितिरहेका छन्। अनि धेरै खानाका परिकारहरू बनाउन, बेसिक कम्प्यूटर प्रोग्रामिङ सिक्न, पियानो सिक्न धेरै इच्छा छ। साच्चिँकै विद्यालयमा लिइने सैद्धान्तिक ज्ञानभन्दा घरमा पाइने व्यवहारिक ज्ञान निकै महत्वपूर्ण हुने रहेछ। किताबका पाना पल्टाउँदा टाउको दुख्ने मलाई आजभोलि साहित्यमा निकै रूचि बढ्न थालेको छ। यतिका धेरै काम सिक्ने अवसर पाएकोमा म औधि खुसी छु।
हामी यहाँ बिदामा आनन्दले बस्दा, खाँदा र परिवारसँग रमाइला क्षणाहरू बिताउदै गर्दा धेरै मानिसहरू भोकमरीमा परेका, घरभाडा तिर्न नसकेर सडकको बास बिताउन बाध्य भएका, धेरैले यसैका कारण आफ्ना आमा, बुबा छाेरा छाेरी, नातेदार गुमाउनु परेको छ भन्दा मनै खिन्न हुन्छ, नरमाइलो लाग्छ। यसो एकछिन समाचार हेर्छु भनेर टेलिभिजन खोल्दा धेरै पैसा कमाउने आशामा विदेशिएका नेपालीको रोजगारी गुमाएपछिको व्याथा सुन्दा उनीहरूको परिवारको भोकोपेट, चिसो ओच्छयान र ती परिवारको च्यातिएका थोत्रा लुगाको झझल्को आउँछ।
हरेक दिन बिहान झ्यालबाट घामको झुक्लो आँखामा पर्दा मन्द मुस्कान दिँदै उठ्ने म आजभोलि विश्वमा कति संक्रमित थपिए होलान् कतिले ज्यान गुमाए होलान् भन्ने पहिलो प्रश्नले नै मुस्कानलाई बिथोलिदिँदो रहेछ।
अर्कातिर निलो सफा आकाशमा कालो बादललाई छेडेर निस्किएको चम्किलो सूर्यका किरण महशुस गर्दै, प्रदुषण नभएको कारण तंग्रिएको रानीबन हेर्दा निकै आनन्द महशुस हुन्छ। यस रोगले सबैका मनमा सन्त्रास सिर्जना गरेको छ। यस विषम् परिस्थितिमा सरकारको नियमलाई हास्टेमा हैंसे गर्दै हामीले लकडाउनको पालना गर्नु पर्छ। जति नै संयमित, सचेत र सुखी रहन खोजे पनि टेलिभिजनमा देखिएका व्यथा र कष्टपूर्ण जीवन बिताइरहेका गाथाले बेलाबेला घचघचाउँदो रहेछ।
कोभिड १९ को यो कठिनतम क्षण तिता र मीठा अनुभवहरूले भरिएको छ। सकेसम्म दीनदुःखीलाई सहयोग गरौं। हरेक दिनलाई नयाँ, अलग र फरक तरिकाले बाँच्न सिकौं र सर्जिनात्मक काममा लागौं। भयभित र त्रसित नबनौं।
लकडाउन साँच्चै नै मेरा लागि सुनौलो अवसर बन्यो, आफ्नो सिर्जनात्मक कला चिन्ने अवसर। त्यो कला सुधार्ने अवसर र त्यही कलासँग रमाउने अवसर।
(आयूषा पौडेल सिद्धार्थ बनस्थली इन्ष्टिच्यूट बालाजु, काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)