सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
प्रिय सेतोपाटी,
धेरै धेरै सम्झना र माया।
म यहाँ आराम छु र त्यहाँ तिमीलाई पनि आरामै रहोस् भनि श्री पशुपतिनाथसँग प्रार्थना गर्छु।
प्रिय सखी, चिठी नै लेख्नुपर्ने त्यस्तो विशेष त केही पनि छैन। यस्तो बेलामा के नै पो खास हुन्थ्यो र? त्यो तिमीलाई पनि थाहा नै छ। धेरै दिन भयो तिमीसँग कुरा नभएको। फेरि यो एक मात्र माध्यम हो तिमीसँग कुरा गर्ने। त्यसैले बस् मनका कुरा मनसँग गर्दैछु।
तिमीलाई थाहा छ तिमीले मलाई साथी बनाउनु अगाडि म कति एक्ली थिएँ। कति निसास्सिएकी थिएँ। कति आत्तिएकी थिएँ। कोरोनाको कारण मेरो विद्यालय बन्द भएको पनि महिनौं भएको थियो। मेरा गुरूगुरूआमाहरू, साथीहरू, मलाई धेरै माया गर्ने स्टाफ अंकल र आन्टीहरू, मैले सधैं खाजा खाने मेरो स्कुल क्यान्टिनका अंकलआन्टी, बगैंचा, मैले सधैं खेल्ने बास्केट बल, मेरो कम्प्युटर ल्याब अनि सबभन्दा बढी त मेरै मजाकिया साथीहरूलाई मैले धेरै सम्झिएँ।
मलाई लाग्दैनथ्यो, यो वैज्ञानिक युगमा पनि यसरी विश्व ठप्प हुनेछ। सबै मानिस घरभित्रै थुनिने छन्। एउटा नाथे जिवाणुलाई परास्त गर्न मानिसलाई हम्मे हम्मे हुनेछ। लाखौं मानिसले एकैचोटी ज्यान गुमाउनेछन् र सयौं मानिसको एउटै चिहान हुनेछ। सोच्नै नसक्ने यस्तो विषम् परिस्थितिमा एउटा कोठाभित्र थुनिएकी म तिमीलाई भेटेदेखि धेरै फुरूङ्ग भएकी छु। अशान्त मन केही शान्त छ। निराश मनमा आशा जागेको छ।
यो महामारीलाई हामीले पेल्नुपर्छ, जित्नुपर्छ र अगाडि जानुपर्छ भन्ने दह्रो आत्मबल जागृत भएको छ। मेरा प्रिय स्कुले साथीहरूलाई भेट्न नपाएर विक्षिप्त बनेकी मेरो अब तिमी मन मिल्ने साथी बनेकी छौ। मलाई कहिलेकाहीँ मनमनै लाग्छ, तिमी कति मिलनसार, कति सहयोगी, कति ज्ञानी अनि कति भलाद्मी छौ।
तिमीबाट मैले धेरै कुरा सिक्न पाएँ, धेरै बुझ्न पाएँ। गाँठी कुरो तिमीजस्ती हितैषी पाएँ। तिमी जस्तै सखी सबैले पाऊन्।
सखी सेतोपाटी,
अब यो कहर छिटै सङ्लिने छ। चराहरू उसैगरी चिरबिराउने छन्। आफन्त देख्दा आफ्नाहरू उसैगरी आत्मीय हुनेछन्। अशान्त विश्वमा शान्ति छाउनेछ। मेरा आमाबाबा, परिवार र गुरूहरूको अनुहारमा उस्तै कान्ति छाउनेछ। अनि म पनि बिहानीको सूर्योदयसँगै पुलकित हुनेछु। मेरा सबै साथीहरू भेटिनेछन्। मेरो संसार खुसी नै खुशीले भरिनेछ। तर सखी, म तिमीलाई कहिल्यै बिर्सने छैन। तिमी मेरो मनमा छौ।
यति भन्दै म यो पत्रबाट बिदा हुन्छु।
उही तिम्रो सखी,
समृद्धि पौडेल
(समृद्धि एशीयन पब्लिक स्कुल, अनामनगर काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)