सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
केही दिनअघि अबेर साँझ म मेरी बहिनीलाई तेल लगाएको हेरिरहेकी थिएँ। ऊ च्याँच्याँ चुँचुँ गरिरहेकी थिई। म उसलाई हेरेर हाँसिरहेकी थिएँ।
पापा चाहिँ अँध्यारोमा वरपर घुम्न निस्कनु भयो। उहाँले घुम्दै गर्दा बाटोमा जुनकिरी फेला पार्नु भएछ र समातेर ल्याउनु भयो। उहाँले हातमा राखेको जुनकिरी मलाई देखाउनुभयो। अनि मेरो हातमा राखिदिनुभयो। त्यो जुनकिरी मेरो टाउकोसम्म आयो र बत्ती बाल्दै उडेर गयो। मलाई एकदम मज्जा लाग्यो।
जुनकिरी ढाड नभएको सानो किरा हो। यो किरा पानी पर्ने मौसममा आउँछ। पानी पर्ने समयमा पनि राती मात्रै आउँछ। जुनकिरीको पछाडि तलपट्टि बत्ति बल्ने रहेछ। अँधेरोमा धेरै जुनकिरी बत्ति बाल्दै उडेको हेर्न एकदम रमाइलो हुन्छ।
मैले पापालाई फेरि जुनकिरी भएको ठाउँमा जाउँ भनेँ। उहाँले हुन्छ भन्नुभयो। हामी जुनकिरी खोज्न गयौं। बाटोमा जुनकिरीहरू पिलिक पिलिक गर्दै बलेको देखिए। एक ठाउँमा फेरि पापाले जुनकिरी समात्नु भयो र मलाई दिनुभयो। त्यो जुनकिरी मेरो हातमा एकछिन बसेर उडेर बत्ती बाल्दै उडेर गयो।
हामी एक छिन घुमेर घर फर्कियौं। पापालाई म सुत्न जानुभन्दा अगाडि मैले भोलि फेरि घुम्न जाऔं र जुनकिरी समातौं है भनें। पापाले हुन्छ भन्नुभयो।
भोलिपल्ट दिउँसो म कोठामा बसिरहेको बेला आमाले 'सानु, ऊ सर्प, ऊ सर्प, हेर त' भन्दै मलाई बोलाउनु भयो। साँच्चै आँगनमा एउटा मसिनो तर दुई फिट जति लामो सर्प घिस्रँदै थियो। मैले डराउँदै 'सर्प, सर्प' भनेर कराएँ। माथि तलामा बस्ने अंकल र आन्टी आएर लठ्ठी देखाएर सर्प धपाउनु भयो। सर्प बिस्तारै घिस्रँदै गेटबाट बाहिर गयो।
सर्प घिस्रने जीव (रेप्टाइल) हो। यसको हड्डी हुन्छ। गर्मी बढेपछि यो जमिनबाट बाहिर निस्कँदो रहेछ। हामी कहाँ पहिले पनि यस्तै सर्प आएको थियो। हामीले अहिले हाम्रो साइन्सको किताबमा ढाड भएको (भर्टिब्रेट्स) र नभएको (इन्भर्टिब्रेट्स) जीवको बारेमा पढिरहेका छौं। जुनकिरी ढाड नभएको र सर्प ढाड भएको जीवमा पर्छ।
सर्प घिस्रदै गएको ठाउँ म साँझमा पापा र साथीहरूसँग खेल्ने ठाउँ हो। त्यसपछि म डरले बाहिर खेल्न गएकी छैन। भोलिपल्ट साँझमा पनि मैले डरले घुम्न नजाने भनेँ। तर मलाई जुनकिरीसँग खेल्न नपाएर नमज्जा लागेको छ। साँझमा जुनकिरीले बत्ती बाल्दै उडेको हेर्न र समातेर हातमा राखेर खेल्न साँच्चै मज्जा आउँछ।
(आराधना पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)