सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मानिस सामाजिक प्राणी हो। ऊ समाजमा बस्छ। संसारमा भएका सबै प्राणीमध्ये मानिस उत्कृष्ट प्राणी हो। मानिसमा भएको बुद्धि र विवेकका कारणले ऊ सर्वोत्कृष्ट प्राणी बन्न सकेको हो।
एकआपसमा सहयोग गर्नु, मिलेर बस्नु र आपसी समझदारीमा काम गर्नु मानिसको विशेषता हो। यति सबै हुँदाहुँदै पनि मानिस रङ, भौगोलिक क्षेत्र र आर्थिक अवस्थाका आधारमा भेदभाव गर्ने गर्छ। यो मानव समाजका लागि पटक्कै नसुहाउने कुरा हो।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो प्रसिद्ध खण्डकाव्य मुनामदनमा जात सम्बन्धी राम्रो उदाहरण दिएका छन्। सुन कमाउन भोट गएको मदनलाई आफ्ना साथीहरूले अलपत्र छोड्छन् तर एकजना 'भोटे'ले आफ्नो घर लगि उनलाई निको पार्छ। 'भोटे'का घरबाट फर्किने बेला मदनले 'क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन' भनी 'भोटे'लाई ढोगिदिएका थिए। देवकोटाको यो भनाइ अहिले पनि निकै सान्दर्भिक छ। मान्छेले मान्छेलाई नै जातभातका आधारमा भेदभाव गर्नु अमानवीय काम हो।
केही दिन अघिमात्र नेपालको पश्चिमी जिल्ला रूकुममा दुई फरक जातका युवक र युवतीले विवाह गर्न खोज्दा समाजले स्वीकार गरेको थिएन। त्यतिखेर दुलाहा र जन्ती बनेर गएका ६ जना मानिसलाई 'मारेर' भेरी नदीमा फालिदिएका थिए। यो घटना सबै नेपालीलाई लज्जित बनाउने घटनाका रूपमा रहेको छ।
हामी बालबालिकालाई ठूला मानिसले पढे लेखेर ठूलो मानिस बन्नु भनेर आशिष दिन्छन्। त्यसरी आशिष दिनुको अर्थ ठूलो शरीरको हुनु भनेको होइन। असल मान्छे बन्नु भनेको हो। असल मान्छे त्यो हो जो अरूलाई परेको बेला सहयोग गर्छ र अरूको मन दुखाउँदैन। सबै मानिस समान हुन्छन्। उमेर र आकारले ठूलो सानो भए पनि सबै व्यक्ति मानिस नै हुन्। त्यसैले, मानिस मानिसबीच भेदभाव गर्नु हुँदैन।
हाम्रो समाजमा धेरै पहिलेदेखि जातप्रथा प्रचलनमा छ। भन्ने गरिएका ठूला जातका मानिसले तल्लो जातका मानिसलाई हेप्ने, दुःख दिने गरेको समेत पाइन्छ। यो प्रथा राम्रो होइन। हाम्रो सामाजिक संस्कारलाई नराम्रो देखाउने कुरा जाति प्रथा बनेको छ। यसपटकको बिदामा मैले रामायण र महाभारत हेर्ने मौका पाएँ। रामले वनमा शवरीले जुठो बयर दिँदा खुसी हुँदै खाएका थिए। रामायणमा देखाएअनुसार देवताले समेत आफ्ना भक्तको जुठो खाएका थिए। यदि जातले मानिस तल्लो तहको हुन्थ्यो भने रामले किन जुठो खान्थे र?
अहिले अमेरिकामा गोरा र काला जातिका बिचमा संघर्ष चलिरहेको छ। आफूलाई निकै शक्तिशाली र सभ्य भन्ने अमेरिकाले अहिलेसम्म रङका आधारमा हुने भेदभावलाई हटाउन सकेको रहेनछ। यो पनि मानवतामाथिको नराम्रो प्रहार हो। संसारमा भएका सबै मानिस उस्तै हौं। सबैको रगत रातो छ। सबैका उस्तै अंग छन्। सबैको राम्रो गर्ने चाहना हुन्छ। माया गर्दा सबै खुसी हुन्छन्। हेला गर्दा सबैलाई दुःख लाग्छ। यस्तो कुरा जानेर पनि मानिसहरू अरूको चित्त दुखाइदिन्छन्।
नेपालका सहरी क्षेत्रमा जातपातका आधारमा हुने भेदभाव कम हुँदै गए पनि गाउँघरमा अझै पनि विभेद देखिन्छ। यसलाई हटाएर सबै मानिसलाई उत्तिकै सम्मान गर्ने वातावरणको सिर्जना गर्नुपर्छ। अनि मात्र मानिस सबैभन्दा राम्रो प्राणी हो भन्ने कुरा प्रमाणित हुन्छ। कोही कसैले पनि जात र रंगका आधारमा मानिसलाई ठूलो र सानो भन्नु हुँदैन। हामी सबै ईश्वरका सन्तान हौँ। त्यसैले सबै मिलेर एकले अर्कालाई सम्मान गर्दै बाँच्न सिक्नुपर्छ।
यस प्रकारको भेदभाव नहोस् भनेर हाम्रो स्कुलमा नामसँग थर लेख्न पाइन्न। यहाँ रोल नम्बर र नाम मात्र लेख्न पाउने व्यवस्था छ। पढेलेखेका सबै मानिसले चेतना फैलाउन सके कतै पनि जातका आधारमा मानिसलाई हेपिनु पर्दैनथ्यो। मानिस राम्रो मानिन उसको मन सफा भए पुग्थ्यो।
(प्रांशु भुसाल बुढानीलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)