सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रत्यूश पाण्डे हो। म बुढानिलकण्ठ स्कुलको कक्षा ६ मा पढ्दै छु। हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं १ मा बस्छु।
मेरो विद्यालयबाट विगत डेढ महिनादेखि अनलाइन कक्षा लिइरहेको छु। एक दिन मलाई समाजशास्त्र पढाउने शिक्षिका मञ्जुदेवी मर्हजनले आफू बसोबास गर्ने गाउपालिका वा नगरपालिकाको मेयरसँग विकास निर्माणको काम सम्बन्धमा कुराकानी गरी प्रतिवेदन बनाउने गृहकार्य दिनु भएको थियो। म बसोबास गरेको नागार्जुन नगरपालिकाको वेवसाइटबाट मेयरको मोबाइल नम्बर पत्ता लगाएँ। उहाँको नाम मोहन बहादुर बस्नेत रहेछ।
बाबाआमाले फोन गरी सबै जानकारी भनिदिनुहुन्छ भन्ने लागेको थियो। तर बाबाले मलाई आफैं कुरा गर्न लगाउनुभयो। म त आत्तिएर के भनौं भन्ने भएको थियो। जसोतसो शिक्षिकाले दिएको गृहकार्य विकास निर्माणको कामको बारेमा कुरा गरेँ। मेयर (उहाँ) ले राम्रोसँग सम्झाई-बुझाई विकास निर्माणको कामको सम्बन्धमा विस्तृत जानकारी गराउनुभयो। केही छुटेका विषयमा उहाँ आफैंले फोन गरेर पुनः मलाई भन्नुभयो।
हामी लकडाउनको समयमा बाहिर निस्केका थिएनौं। मेयरले धेरै ठाउँमा कोरोना प्रभावित व्यक्तिलाई खाना खुवाउने व्यवस्था गरेको बताउनु भएको थियो। मेरो घरको नजिकै तीनवटा सरकारी भवन छन्। कोही प्रभावित भएमा उपचार गर्न सक्ने झण्डै ४० वेडको आइसोलेसन कक्ष बनाएको बताउनु भएको थियो। उहाँले नागार्जुन वडा नं १ लाई नगरपालिकाको नमुना वडा बनाउन लागेको बताउनु भएको थियो। हामी बसेको घरमा खानेपानी आउँदैथ्यो। बाबाले सधैं तिनधारा गई ल्याउनु पर्थ्यो। केही समयपछि हाम्रो घरको धारामा साँच्चै पानी आयो।
सबैभन्दा रमाइलो लागेको कुरा त उहाँले 'भोलि बाटो पिच गर्न लागेका छौं, तिमी पनि आऊ' भन्नुभएको थियो। कोरोनाको डरले गइनँ। केही दिनपछि जाँदा बाटो त साँच्चैको पिच भएछ। लकडाउनको बेला कसरी बाटो पिच गरेको होला भनेर मलाई त अचम्मै लाग्यो। मेयरसँग कुराकानीको आधारमा तयार गरेको प्रतिवेदन मैले विद्यालयमा बुझाएँ। मेरो गृहकार्य निकै राम्रो भएको शिक्षिकाले बताउनुभयो। यसपछि खुसीको सीमा रहेन।
अहिले मलाई विकास निर्माण र समाज सेवाको कामको बारेमा निकै चासो लाग्न थालेको छ।
नगरपालिकाको मेयरले गरेको कामका लागि अति नै खुसी लागेको छ। मेरो शिक्षिकाको कारण मैले नगरपालिकाको कामबारे बुझ्ने मौका पाएँ। म समाजसेवा गर्न उत्साहित छु। सबै विद्यालयमा मेरो शिक्षिकाले जस्तै पढाए मलाई जस्तो पढ्न रमाइलो लाग्थ्यो कि?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)