सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम दिप्ती आचार्य हो। म सिद्धार्थ बनस्थली स्कुलमा कक्षा आठमा पढ्छु। कोरोना भाइरसको कारण विद्यालय बन्द भयाे। त्यसअघि मैले सात कक्षाको परीक्षा दिएकी थिएँ। परीक्षाको नतिजा धेरै पछि मात्र आयो। नतिजामा उत्तिर्ण मात्र भनिएको थियो। कति नम्बर आयो भन्ने पनि थाहा भएन।
ममीले अनलाइनमार्फत नै कक्षा आठमा भर्ना गरिदिनु भयो। अहिले स्कुलले दैनिक एक घण्टा अनलाइन क्लास चलाएको छ। म पनि सहभागी भएकी छु। अहिले समय कटाउन अलि सजिलो भएको छ।
केही समयअघि भने यस्तो थिएन। कोरोना महामारीका कारण हाम्रो परीक्षा पनि अलि छिटै सुरू भएको थियो। परीक्षा सकिने बित्तिकै लकडाउन पनि सुरू भयो। धेरै साथीहरू हतारहतार गाउँ गए। हामी भने काठमाडौँमा घरभित्रै बसिरह्यौँ। घरमा सधैँ कोरोनाबारे कुरा चल्थ्यो। कति जना संक्रमित भए, कति जना मरे भन्ने समाचार सुन्दा-सुन्दा दिक्क हुन्थ्यो। म भित्र भित्रै डराउन थालेकी थिएँ। त्यसो त हामी कोही पनि घरबाट बाहिर निस्केका थिएनौँ तर पनि डर भने लाग्थ्यो।
केही दिन मात्र होइन महिनौसम्म घरभित्रै थुनिइराख्नु पर्दा दिक्क लाग्न थालेको थियो। समय कटाउन टिभी हेर्ने, युट्युबमा भिडियोहरू हेर्न थालेकी थिएँ। पहिलेपहिले ममीबाबाको आँखा छल्दै युट्युबमा भिडियोहरू हेर्न खुब रमाइलो लाग्थ्यो। अहिले भने यस्ता भिडियोहरू हेर्न पनि अल्छी लाग्न थाल्यो।
लकडाउन कहिले खुल्ने कुनै पत्तो नभएपछि बिस्तारै घरभित्रै रमाउने बानी पर्न थाल्यो। दिदी, म र भाइ मिलेर घरको छतमा खेल्ने, टिकटक भिडियोहरू बनाउने तथा घण्टौंसम्म बादलका आकृतिहरू हेरेर बिताउथ्यौँ। बादलको फोटोहरू खिच्ने, सुर्यास्त हेरेर त्यस्तै पेन्टिङहरू बनाउने जस्ता कुरा गरेर रोमाञ्चित हुन्थ्यौँ। लकडाउनमा दाइले मलाई स्केट बोर्ड खेल्न पनि सिकायो। कहिलेकाहीँ घरको छतमा स्केट चलाउने गरेकी छु।
त्यति मात्र होइन यसबेला मैले घरायसी कामहरू पनि सिकेँ। खाना पकाउने, तरकारी केलाउने तथा घर बढार्ने जस्ता कामहरू पनि गर्न थालेकी छु। यस्ता कामबाट ममीको काममा सहयोग पुगेको छ। अब विस्तारै कोराना भइरससँग डर लाग्न छाडेको छ। नेपालमा भने कोरोना संक्रमितहरू बढ्न थालेका छन्। मेरो बाबाको अफिस पोखरामा छ। उहाँ लकडाउनमा पनि घर आउन पाउनु भएन। यस्तो महामारीको डरलाग्दो समयमा पनि बाबा घर आउन नपाउनु भएकाले साह्रै दिक्क लाग्छ।
स्कुल कहिले खुल्छ कुनै टुंगो छैन। अनलाइन क्लासमार्फत पढाई भए पनि साथीहरूसँग बसेर पढेको जस्तो रमाइलो हुँदैन। त्यस्तै, पढाएको पनि खासै बुझिँदैन। अब त बिस्तारै घरमै बस्ने बानी पर्न थालेको छ। स्कुलका साथीहरूसँग भेट्ने अनि चोकमा गएर पानीपुरी, चटपट खाने दिन कहिले आउँला जस्तो लाग्छ।
कोरोनाको औषधि र खोप कहिले बन्ला र हामी यसको डरबाट मुक्त हुन पाउछौँ होला भन्ने कुरा मात्र मनमा आइरहन्छ। आशा गरौँ त्यो समय छिटै आओस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)