सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म सानो बाबु आशुतोष तिमिल्सिना हुँ। म युरो स्कुल , थापाथलीमा कक्षा दुईमा पढ्छु। मेरो गाउँ तनहुँमा पर्छ। मलाई मेरो गाउँ धेरै मन पर्छ।
मेरो गाउँको घर वरिपरि धेरै खेल्ने ठाउँ छ। मेरो गाउँमा हजुरआमा, ठूलो बाबा, ठूलो मामु र कुन्ती दिदी पनि हुनुहुन्छ। सबै जनाले मलाई धेरै माया गर्नु हुन्छ। अहिले काठमान्डुको घरभित्र बस्दा मैले मेरो गाउँ धेरै सम्झेको छु। यहाँ त्यहाँको जस्तो मीठो लिची र आँप पनि पाइँदैन। बारीमा दौडिन पाइँदैन। माटोमा खेल्न पाइँदैन।
घरिघरि दिदीको अनलाइन कक्षा डिस्टर्ब पनि गरिदिन्छु। दिदीले गालि गर्नुहुन्छ। रूँदै मामु सित जान्छु। दिदीले फेरि माया गर्नु हुन्छ। मेरो दिदी प्यारी हुनुहुन्छ। मामुले र बाबाले मलाई खेलाउनु हुन्छ। होमवर्क पनि गराउनु हुन्छ।
मलाई आकाश दाइसित खेल्न पनि मन पर्छ। टिभी हेर्न र ट्याब खेल्न पनि मन पर्छ। धेरै माया गर्ने मैले मेरो सरम्यामहरूलाई पनि धेरै सम्झेको छु। मैले मेरो साथीहरूलाई नदेखेको धेरै भएको थियो तर हिजो ल्यापटपमा देखेको। साथीलाई पनि भेट्न धेरै मन लागेको छ।
मामुलाई सधै सोधिरहन्छु, 'यो कोरोना कहिले जान्छ?'
मामुले हात राम्ररी धोउ, जान्छ भन्नुहुन्छ।
म बेस्सरी मिचिमिची हात धुन्छु। धोइरहन्छु। दिनको एकपटक मामुले नुहाइदिनु हुन्छ।
म सोध्छु, 'मामु बाहिर घुम्न कहिले जाने?'
मामु भन्नुहुन्छ, 'कोरोना सकिएपछि।'
कहिले सकिन्छ कोरोना? कहिले जान्छ कोरोना? के हजुरलाई थाहा छ?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)