सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म प्रज्ञा चापागाईं। हाल टिकाथली, ललितपुरमा बस्छु। अहिले कक्षा दसमा अध्ययनरत छु।
२०७६ चैत ११ देखि चलेको लकडाउनको कारण म घरभित्रै बसी विभिन्न क्रियाकलापमा रमाइरहेको छु। म मात्र होइन हाल नेपालभरका सम्पुर्ण बालबालिका घरभित्रै बस्नु परेको छ। हुन त अत्यावश्यक सेवादेखि बाहेकका सबै कर्मचारी लगायत देशभरका सबै मानिसहरू घरैभित्र बस्न नेपाल सरकारले आह्वान गरेको छ।
यो भाइरस विश्वमै नयाँ किसिमको भएको र सजिलै एकअर्काबाट सर्ने भएकाले यसको बारेमा अझै पनि राम्रो जानकारी, अनुसन्धान, तथ्य फेला नपरिसकेको साथै औषधि पनि पत्ता नलागिसकेको कारण विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गरी एक अर्काबाट सर्न र संक्रमण रोक्न उत्तम विकल्प भएको बताएकाले हाम्रो देश मात्र होइन विश्व नै लकडाउनमा छ।
२०७६ सालको वार्षिक परीक्षा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बाच्न तथा बचाउन हतारहतारमा सक्नु परेको थियो। त्यसपछि त म घरै बसेर विभिन्न क्रियाकलाप गरिरहेको छु। कक्षा दशको विद्यार्थी भएकाले पढाई, लेखाइमा बढी ध्यान दिइरहेको छु। लकडाउनको अवधिमा धेरैजसो टेलिभिजनबाट प्रसारण हुने समाचार, कोरोनाको संक्रमण स्थिति, जनजिवन, नेपाल फर्किनेको घुइँचो, सरकारको विरोध आदि यस्तै मात्र दिइरहेको हुन्छ।
मेरो दादा, दिदीहरू, फुपू, भिनाजु, सानिमा लगायतका धेरै आफन्त कोही अष्ट्रेलिया, अमेरिका, खाडी मुलुकतिर हुनुहुन्छ। ममीबाबा, आमा वहाँहरूको चिन्ता गरिरहनुहुन्छ। प्रायः आफन्तहरू विदेश भएकाले सानो बेलादेखि घरमा विदेशका कुराहरू हुने गर्छ। सबैले राम्रो पढेर यता आउनुपर्छ भन्नुहुन्छ। मेरो बाबा नेपाल सरकारको सेवामा भएका कारणले 'होइन छोरी देशको सेवा गर्नुपर्छ, लोकसेवा आयोगको तयारी गर्ने र देशको सेवा गर्नुपर्छ, सबै विदेश जाने हो भने को चाहिँ बस्ने हो नी देशमा' भन्ने कुरा मलाई सम्झाई रहनुहुन्छ।
पहिला पहिला त मलाई पनि विदेशबाट आउनेहरू देख्दा +१२ सकेपछि जानु पर्छ कि जस्तो लाग्थ्यो। लकडाउनको अवधिमा मेरो सोचाइमा परिवर्तन आयो।
अरूका कुरा सुन्थे- नेपालमा के छ र बस्नु, काम छैन, अवसर छैन आदि। विदेश त आम्मामा...
खोई त? अहिले यो अवस्थामा त्यत्रा विकशीत देशहरूको स्थिति नियन्त्रण बाहिर गयो त। खोई त औषधि उपचार गर्न सकेको? आखिर कस्तोलाई विकसीत मान्ने?
आफ्नो देशलाई योगदान दिने बेलामा विदेशीले देखाएको सेवा सुविधाको ललिपपमा लोभिएर जानेहरूलाई अप्ठ्यारो परेको बेला आफ्नै देश जाउँ भन्दो हुँदाे रहेछ त। खोई त संरक्षण गरेको?
अप्ठ्यारो परिस्थितिमा सबैलाई नेपाल आमाको प्यारो काखको सम्झना आइरहेको हुन्छ नि। त्यसैले होला विभिन्न नाकाबाट दिनको लाखौं मानिसहरु नेपाल आए। यी सबै अवस्था हेरेर मलाई अब विदेश जाने रहर हराइसकेको छ।
मानिस सार्है स्वार्थी हुँदा रहेछन्। आपतको बेलामा म मात्र खाउँ सबै जस्तो गरेको देखेर मलाई नराम्रो लाग्यो। म ममीसँग किनमेलमा जाँदा एउटै मान्छेले १० पाेका नुनसम्म किनेको देखेँ। त्यति मात्र कहाँ हो र? सबै सामान मलाई नै चाहिन्छ जस्तो गर्दो रहेछ मान्छेले। कोरोना सन्त्रास फैलनासाथ सबैले घरघर २, ४ बोरा चामल लगायत खाद्य सामग्री थुपारेर राख्न थाले। मेरो घरमा त्यसो गरिएन।
बाबा सरकारी कर्मचारी भएकाले पनि नेपाल सरकारले खाद्यान्न अभाव हुँदैन चिन्ता नगर्नुहोस्, एक्लैले धेरै सामान नथुपार्नु भनिरहेको छ। हामीले त्यस्तो काम गर्नु हुँदैन भनेर सिकाउनु भएकाले हाम्रो घरमा कुनै चिन्ता थिएन। पसलेले एक जनाले यत्रो नलैजानुस् भन्दा पनि नमान्ने कस्तो नराम्रो लाग्यो मलाई। यो तरिका जे छ जति छ बाँड्दै मिलेर खानुपर्छ आखिर मर्ने हो भने मरिहालिन्छ नि, होइन?
मेरो बाबा अफिसबाट फर्किएर करेसाबारीमा समय दिएर, कौसीमा फलाएको करेला, घिरौंला आदि देखाउँदै, सिकाउँदै हेर छोरी आत्मनिर्भर बन्नुपर्छ भनिरहनु हुन्थ्यो। यो आत्मनिर्भर भनेको चाहिँ के रहेछ जस्तो लाग्थ्यो। लकडाउनमा मैले यसको अर्थ बुझ्न सकेँ। हामीले तरकारी आफ्नै छतमा फलायाैं भने पनि पैसाको बचत धेरै हुने रहेछ।
व्यक्तिगत सरसफाइ महत्वपूर्ण कुरा हो। कोरोना संक्रमण रोक्न लगातार हात धुनु भन्ने कुरा विश्व स्वास्थ्य संगठनले सिकाइरहको छ।कोरोना मात्र होइन धेरै रोगहरूबाट बच्न हात धुने, सरसफाई नै उत्तम उपाय हो भन्ने कुरा त हामीलाई राम्रो थाहा छ। हाम्रो हात धुने चलन उत्तम रहेछ। हामीलाई त सानै बेलादेखि मामुबाबाले यही बानी सिकाउनु भएकाले सरसफाइपूर्ण व्यवहारले कोरोना लगायत अन्य रोगव्याधिबाट बच्न सघाउ पुर्याएको छ।
लकडाउनमा प्रशस्त समय भएकाले यसो सोच्छु, 'जे गर जसो गर जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो' भन्ने गीतको रचना गरेको राष्ट्र प्रेम बढाउने सन्दर्भमा ठीक हो। राष्ट्रलाई टाढा बसेर होइन यही बसेर, यही खोजेर, केही गरेर देखाउने जोस जाँगर पैदा गराउनका लागि हो। लकडाउन यस्तै नयाँ कुराहरूको अनुभव गर्ने अवसरको रूपमा लिएको छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)