सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नोभेल कोरोना भाइरस रोग (कोभिड–१९) का कारण आज नेपाल लगायत संसारका प्रायःजसो सबै देशमा महामारीको स्थिति छ। कोभिड–१९ विरूद्धको अभियानमा सरकारले घोषणा गरेको बन्दाबन्दी नेपालमा अहिले पनि कायमै छ। यी सबै कुराले गर्दा विद्यालयमा गएर आफ्नो शैक्षिक कृयाकलापमा निरन्तरता गर्ने वातावरण बन्न नसकिरहेको अवस्थामा मलाई पहिले इच्छा भएर पनि गर्न नसकिरहेका कुराहरूमा अलि बढी संलग्न भएर रमाउने अवसर यही बन्दाबन्दीले जुराइरहेको महशुस भएको छ।
मेरो साढे दुई वर्षकी सानी बहिनी छिन्। घरमा बाबाममीसँग भन्दा पनि उनी मसँग रमाउँछिन्। तर पनि विद्यालय लागेको बेलामा बहिनीसँग राम्रोसँग खेल्ने–रमाउने वातावरण मिलिरहेको थिएन। विद्यालय जाने क्रममा उनले हरेक दिन मलाई पछ्याउँछिन्। विद्यालयबाट फर्किने समयमा पनि सधैं मेरो प्रतिक्षा गरी राखेकी हुन्छिन्। गृहकार्य गर्नुपर्ने अवस्थाले उनीसँग मैले पहिले राम्रोसँग समय बिताउन पाएकी थिइन।
यसपालिको लामो बन्दाबन्दीको समयमा सानी बहिनीसँग खेलेर दिन बिताउने समय मिल्यो। मसँग खेल्न पाउँदा बहिनी पनि मख्ख। मलाई पनि बहिनीको व्यवहारबाट केही कुरा सिकेर व्यवहारिक बन्ने अवसर, दुवै जुराइदियो बन्दाबन्दीले। बहिनीसँगै खेल्ने, नाच्ने, गीत गाउने, टिभी हेर्ने र छतमा बस्दै कुरा गर्ने रमाइलो नै फरक छ। खेल्ने र बाहिरको दृष्यावलोकन गर्न त साह्रै रमाइलो हुँदो रहेछ।
बन्दाबन्दीमा मैले घरायसी काम गर्न पनि सिकेँ। विरूवा रोप्न र विरूवामा पानी हाल्न पनि सिकेँ। घरमा बसेर मामुलाई सहयोग गरेँ। बाबामामुसँग गफ गरेँ। चुटकिला सुनेँ र सुनाए पनि। त्यस्तो गर्दा धेरै रमाइलो हुँदो रहेछ। विगतमा मलाई गीतार बजाउन निकै रहर थियो। समय थिएन। यसपालि मेरो इच्छा पूरा भयो। मैले योग गर्न पनि सिकेँ।
हाम्रो विद्यालयले अनलाइन कक्षा पनि संचालन गरिरहेको छ। यो कक्षामा पनि केही मात्रामा सहभागी भइराखेकी छु। कक्षामा सहभागी हुन बहिनीको आँखा छल्नुपर्ने हुन्छ। यदि मैले मोबाइल वा ल्यापटपमा अनलाइन कक्षा लिएको देखेमा मेरी सानी बहिनीले कानबाट इयरफोन निकालेर फालिदिन्छिन् र मसँग खेल्न आउ भन्छिन्। यस्तो गर्दा हाम्रो शरीर स्वस्थ हुन्छ।
मेरो लकडाउनको समय त रमाइलो तरिकाले बित्यो। तपाईंहरूको चाहिँ कसरी बित्यो?
(स्मृति भट्टराई सुदेशा स्कुल, नख्खुमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)