सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनमा घरैमा बस्दाबस्दा दिक्क लाग्न थालेको थियो। आफ्ना विद्यार्थीलाई घरैमा बसीबसी पढाउनको लागि मेरो स्कुलले अनलाइन कक्षा सुरू गर्यो।
तीन कक्षाको अन्तिम परीक्षाको नतिजा थाहा नपाइकन कक्षा ४ को अनलाइन पढाइ सुरू भएको थियो। पछि, तीन कक्षाको नतिजा अनलाइनबाटै मलाई र मेरो अभिभावकलाई जानकारी गराइयो। सुरूसुरूमा अनलाइन कक्षामा विद्यार्थीहरू थोरै थियौँ। विस्तारै अरू साथीहरू जोडिन् थाले।
अनलाइन पढाइ सुरू हुँदा म उत्साहित भएँ। कक्षामा मेरा प्रायः मिल्ने साथीहरूसँग भेट्न पाएँ। गुरूआमाहरूसँग भेट्न पाए। सबैसँग कुराकानी गर्न पाएँ। लकडाउनमा घर बसीबसी गरेका मेरा केही सृजनात्मक कामहरू गुरूआमा र साथीहरूलाई सुनाउन र देखाउन पाएँ। गुरूआमाहरूको स्याबासी पाउँदा दंग भएँ। अरू साथीहरूको पनि त्यस्ता कामहरू देख्न पाउदा खुशी भएँ।
अनलाइन कक्षामा विभिन्न खालका रमाइला चित्र र भिडियोहरू हेरी त्यसबारेमा कुराकानी गर्ने गरेका छौँ। स्क्रिनमा देखाइएका कुराहरू पढ्दा मलाई रमाइलो लाग्छ। बत्ती र इन्टरनेट नभएको बेला, आमाको मोबाइल र ल्यापटपमा काम पर्दा भने मैले अनलाइन कक्षा लिन सक्दिनँ। कक्षा लिइरहँदा महत्वपूर्ण फोन कल आएमा पनि आमाले कुरा गर्न पाउनुहुन्न।
कहिलेकाहीँ कक्षाको बीचमै मोबाइल ह्याङ हुन्छ। लगातार कक्षा हुँदा कहिलेकाहीँ मोबाइलको ब्याट्रीले धान्दैन। मोबाइल झ्याप्पै बन्द हुन्छ। कहिले आफ्नै वा गुरूआमाकोमा फ्याट्ट बत्ती वा इन्टरनेट काटिन्छ। अनलाइन कक्षा लिइरहँदा यस्तै के-के भइरहन्छ। बीचैमा कक्षा रोकिँदा नमज्जा हुन्छ।
अनलाइन कक्षा पढ्न धेरै प्राविधिक कुरा पनि जान्नु पर्ने रहेछ। केही कुराहरू मैले सिकेँ। केही सिक्दैछु। स्कुलको कक्षाकोठामा भन्दा अनलाइन कक्षा पढ्नु मलाई सजिलो र छिटो लागेको छ। तर यो सबै विद्यार्थीको लागि सजिलो र छिटो नहुने रहेछ। अझै कोरोना भाइरस फैलिन रोकिएको छैन। त्यसैले, असार १ गतेबाट अनलाइन कक्षामा पढाइ हुने विषय र समय थपिएको छ।
अनलाइन कक्षाको लागि बिजुली बत्ती, इन्टरनेट, मोबाइल वा ल्यापटप नभइ हुँदैन। यी सबै कुरा सबैसँग सधैं हुँदैन। त्यसैले मेरा कक्षाका कति विद्यार्थी साथीहरू अनलाइन कक्षामा पढ्न आएका छैनन्। केही समयअघि सेतोपाटीमै आएको एउटा समाचार आमाले मलाई देखाउनुभएको थियो। पाल्पाका विद्यार्थीहरू जंगलको खुला ठाउँमा स्याउला ओछ्याएर सामाजिक दुरी कायम गरेर पढ्दै थिए। स्याउला ओछ्याएर केही दुरीमा लस्करै बसेका विद्यार्थीहरूको फोटो पनि देखेको थिएँ। त्यो देखेपछि मलाई आ-आफ्ना गाउँ गएका मेरा साथीहरूको सम्झना आयो। उनीहरू किन कहिलेकाहीँ मात्रै अनलाइन कक्षामा जोडिन्छन्? धेरैजसो गयल रहन्छन्? भनेर आमासँग कुरा पनि गरे।
हाम्रो लागि पाठ्यपुस्तक छापिएर आइसकेको जानकारी स्कुलले गराइसकेको छ। आमाबाबासँग पुस्तक किन्ने पैसा हुनुपर्छ। पुस्तक पाउने ठाउँसम्म जानुपर्छ। त्यसो नहुँदा हामीमध्ये धेरैसँग पाठ्यपुस्तक साथमा छैन। गुरूआमाहरूले हामीलाई अनलाइन पढाउदा पहिलेभन्दा मिहेनत गरिरहनु भएको छ। हाम्रा अभिभावकले पनि हाम्रो पढाइको लागि धेरै कुरा मिलाउनु परिरहेको छ। कतिले आफ्ना बच्चाको अनलाइन कक्षाकै लागि इन्टरनेट सुविधा लिनुभएको छ।
गाउँमा भएका मेरा साथीहरूले अनलाइन कक्षा लिनको लागि डाटाबाट इन्टरनेट चलाउनु परिरहेको छ। मेरो आमाले पनि पहिला-पहिला डाटाबाट इन्टरनेट चलाउनु हुँदा धेरै खर्च भएको थाहा पाएको थिएँ। डाटाबाटै इन्टरनेट चलाएर कक्षा लिँदा मेरा साथीहरूको आमाबाबाहरूका लागि पनि अति खर्चिलो छ।
मेरो कक्षाका मिल्ने तीनजना साथीहरूको दाइदिदीहरू पनि हाम्रै स्कुलमा पढ्नुहुन्छ। मेरा साथीहरूले आफ्ना दाइदिदी र आमा वा बाबासँग एउटै मोबाइल आलोपालो गरेर चलाउनुपर्छ। त्यसरी आलोपालो गर्दा कसै न कसैको कक्षा छुटीरहेको छ। त्यहीमाथि आमाबाबा काममा बाहिर जानु पनि पर्छ। त्यसबेला मोबाइल आमाबाबाको साथमै हुन्छ। अनि न आलोपालो, न त अनलाइन कक्षा।
हाम्रो अनलाइन कक्षामा हल्लाखल्ला पनि हुने गर्छ। हामी आफैं पनि सुरूसुरूमा धेरै जोसिएर हल्ला गर्ने गर्थ्यौ। विद्यार्थीबाहेक अरूको पनि हल्ला मिसिदा म्यूट, अनम्यूट गर्न नजानेर त्यसो भएको होला भन्ने लाग्थ्यो। अझै पनि त्यस्तो हल्ला भइरहन्छ। स-साना भाइबहिनीहरूको रूवाई, ठूलै मानिसहरूको कुराकानीहरू सुनिन्छ। हल्ला हुँदा गुरूआमाहरूलाई पढाउन गाह्रो पर्छ। हामी विद्यार्थीलाई पनि सुन्न र बुझ्न गाह्रो हुन्छ। सुरूसुरूमा म सोच्थे, कक्षा चलिरहेको बेलामा पनि छेवैमा बसेर बोलिरहनेहरू कस्ता होलान्?
अनलाइन कक्षा नियमित हुँदै गयो। आमाको अनलाइन छलफल र कार्यक्रमहरू पनि नियमित हुँदै गए। हामी दुवैजना एउटै कोठामा बसेर अनलाइनमा कुरा सुन्दा र आफूले बोल्दा एकअर्कालाई डिस्टर्व हुन थाल्यो। छिमेकीहरूको पनि त्यस्तै अनलाइनकै कामकाज बढ्दै गयो। झ्याल, ढोका खुल्लै राख्दा उनीहरूको आवाज हाम्रो कोठासम्म आउन थाल्यो। त्यसैगरी, हाम्रो आवाज पनि उनीहरूकोमा पुग्ने रहेछ।
म र मेरा धेरै साथीहरू एउटै कोठा मात्र डेरामा लिएर बसेकाहरू छौँ। अब, लकडाउनको समयमा बच्चाको कक्षा चलिरहँदा डिस्टर्ब नहोस् भनेर परिवारका अरू सदस्यहरू कहाँ जानु? गर्नुपर्ने काम नगरिकन चुपचाप बस्नु? स-साना भाइबहिनीहरूले खेल्न, बोल्न र रून पनि नपाउनु? हल्लाखल्ला बिनाको अनलाइन कक्षा हाम्रो लागि सम्भव छैन रहेछ।
जसोतसो अनलाइन कक्षामा रमाइरहेको छु। तर स्कुलमा हुने केही क्रियाकलापहरू पनि सम्झिरहेको छु। कक्षा कोठामा पस्नुअघि एसेम्बलीमा हुने प्रश्न-उत्तर, वर्थ डे विस गर्ने चलन, कसैले राम्रो काम गरेकोमा सबैको अगाडि गुरूआमाहरूले स्याबासी दिने गरेको कुरा मैले ‘मिस’ गरिरहेको छु। स्कुलमा हुने खेलकुद, गीत-संगीत जस्ता अतिरिक्त क्रियाकलापहरू याद आइरहन्छ। स्कुलको चउरमा साथीहरूसँग खेल्दै, कुद्दै रमाउन पाए हुन्थ्यो भन्ने सोचिरहेको छु। त्यस्तै, साथीहरू सँगै बसेर आफूलाई मन परेको कुराकानी र जोक्स सुन्दै सुनाउदै खाजा खान पाए हुन्थ्यो भन्ने लागिरहेको छ।
अनलाइन कक्षामा आउन नसकिरहेका मेरा साथीहरुलाई पनि धेरै सम्झिरहेको छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)