सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसको कारण विश्वमा अहिले महामारी फैलिरहेको छ। जसले गर्दा धेरै देशहरूमा लकडाउन भएको छ। हाम्रो देशमा पनि लकडाउन भएको लगभग तीन महिना हुन थालिसक्यो।
हामी घरभित्र बस्न थालेको धेरै भइसक्यो। यस्तो अवस्थामा हामी सबैलाई नराम्रो असर परेको छ तर घरभित्रै बसेर पनि धेरै कुरा सिक्न सक्छौं। हामीले अहिलेको अवस्थामा अक्षर राम्रा बनाउने प्रयास गर्न सक्छौं। त्यसैगरी खाना पकाउन अनि लुगा धुन सिक्न सक्छौं। त्यस्तै विभिन्न व्यवहारिक कुरा सिक्ने अवसर पनि बनेको छ हाम्रो लागि लकडाउन।
अहिले लकडाउनमा मैले धेरै कुरा सिक्ने अवसर पनि पाएको छु। पहिले पहिले त मलाई कहिले स्कुल लाग्छ होला जस्तो लाग्थ्यो तर अहिले भने रमाइलो नै लाग्न थालिसक्यो। किनकी मेरो एउटा समय तालिका छ जसअनुसार म आफ्नो दैनिकी चलाइरहेको छु। मेरो दैनिकी यस प्रकार छः
म बिहान ६ बजे उठ्छु। नित्यकर्म गर्छु अनि एकछिन किताब पढ्छु। ९ बजेतिर खाना खान्छु। १० बजेदेखि अनलाइन कक्षा सुरू हुन्छ। त्यो एउटा कक्षा सकिएपछि केही समय आमाबाबासँग बसेर रमाइलो गर्छु। त्यसपछि १ बजेदेखि फेरी अनलाइन कक्षामा जोडिन्छु। अनलाइनबाटै भए पनि गुरूबा, गुरूआमा र साथीहरूसँग रमाइरमाई पढ्छौं। ४ बजे हाम्रो कक्षा सकिन्छ। त्यसपछि म खाजा खान्छु र गृहकार्य गर्छु। त्यसपछि केही समय टेलिभिजन हेर्छु। बेलुका करिब ७ बजे टेलिभिजन बन्द गर्छु। दिनभरी आफूले गरेको काम कापीमा टिपोट गर्छु। अनि हामी खाना खान्छौँ। एकछिन रमाइला कुराकानी गर्छाै। १० बजे हामी सुत्छौँ। यसरी मेरो दैनिकी चलिरहेको छ।
हामी लकडाउनका बेला पनि एउटा समय तालिकाअनुसार चल्यौं भने हाम्रो बानी पर्छ। पछी हामीलाई नै फाइदा हुन्छ। स्कुल छैन भन्दै त्यतिकै समय बितायौँ भने पछि हामीलाई नै गार्हाे हुन सक्छ। त्यसैले यति मात्र नभएर हामीले धेरै काम सिक्ने मौका समेत पाएका छौँ। अहिले हामी खाना पकाउन, घर सफा गर्न, भाँडाकुडा माझ्न, गमलामा पानी हाल्न लगायत थुप्रै काममा सघाउन सक्छौं।
यो बेलामा मनोरञ्जनका साथसाथै अन्य काम पनि गर्नुपर्छ। यदि घरमा इन्टरनेट छैन भने पनि रेडियो वा टेलिभिजनबाट पनि धेरै कुरा सिक्न सक्छौं। त्यसैले लकडाउनको बेला अनावश्यक रूपमा समय खेर नफालौं। बिनाकाम बाहिर डुल्ने बानी नपारौं। बाहिरबाट आएपछि साबुनपानीले राम्रोसँग हात धोऔं। बाहिर जाँदा पनि दुरी कायम गरौँ। यस्तो महामारीको बेला आफू पनि सुरक्षित बनौं र अरूलाई पनि सुरक्षित रहन सल्लाह दिऊँ।
अब छिट्टै कोराना भाइरसको औषधि पत्ता लागोस् र सामान्य स्थितिमा फर्केर विद्यालय जान पाइयोस् र साथीभाइ भेट्न पाइयोस्।
(प्रतिक जोशी नेपाल पुलिस स्कुल, सामाखुशी काठ्माडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)