सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बारा जिल्लाको सिमरामाा मेरो घर छ। मेरो नाम राजश्री बराल। म सिमरामै रहेको सेन्ट अल्फोन्सास स्कुलको कक्षा ४ मा पढ्छु। कोरोना भाइरसले मेरो देश नेपाल र गाउँ पनि डर, त्रासमा बाँचेको छ।
कोरोनाले गर्दा नै मेरा साथी, सर, म्याम र प्रिन्सिपल सिस्टरसँग पनि भेट भएको छैन। विद्यालयले कक्षा ५ भन्दा माथिका दाइदिदीहरूलाई अनलाइन कक्षा सञ्चालन गरी पढाइरहेको छ। नर्सरीदेखि चार कक्षासम्मलाई घरमै पढ्नु भन्नुभएको छ। म र मेरो भाइ ऋषभणि बाबा ममीले दिनु भएको होमवर्क लेख्ने र पढ्ने गरेर बसेका छौं।
अहिले त एनटिभी प्लसबाट प्रसारित र टिभी टुडेबाट प्रसारित कक्षा पनि हेर्ने र पढ्ने गरेकी छु। तै पनि घरभित्रै बसिरहँदा झ्याउ लाग्दो रहेछ। दिनको एकचोटी म र भाइ घर अगाडिको आँगनमा ममीसँग ब्याडमिन्टन पनि खेल्छौं। चैतको परीक्षा सकिएपछि धादिङ मामाघर जाने भनेर म र भाइ फुरूक्क परेका थियौँ। मामा, माइजू, दिदी र दादाले पनि बोलाउनुभएको थियो। जान पाइएन। तराइको गर्मी खाएर हुर्किँदै गरेको मलाई बेलाबेलामा पहाडको चिसो हावा मन पर्छ।
कोरोना महामारी र लकडाउनबाट राम्रा लागेका कुराः
१. ममी, बाबा र भाइसँग खेलेर बस्न पाएँ।
२. पटकपटक साबुन पानीले मिचिमिची हात धुनुपर्छ।
३ं सफासुघ्घर बस्नुपर्छ।
४. कालो चिया बनाउन, अण्डा फ्राई गर्न सिकेँ। चामल पखालेर राइस-कुकरमा भात पकाउन पनि जानेँ।
५. हार्मोनियममा सारेगमपधनीस को धुन बजाउन सिकेँ।
६. कविता लेख्ने कोशिस गरेँ। यस अवधिमा ५ वटा कविता लेखेँ।
७. कम्प्युटरमा टाइप गर्न सिक्दैछ।
८. चित्र बनाउन सिक्दैछु। ४/५ वटा चित्र बाबाले आफ्नो फेसबुक वालबाट पोष्ट गरिदिनुभयाे।
कोरोना महामारी र लकडाउनबाट नराम्रो लागेको कुराः
१. कोरोना भाइरस लागेपछि मान्छे मर्छ भन्ने डर,
२. बिदाका बेला कतै घुम्न जान नपाउनु,
३. आफ्नो मान्छेसँग पनि भेटघाट गर्न डर लाग्नु,
४. धेरै मानिस भोकभोकै सडकमा हिँडेको समाचार टिभीमा देखेर मलाई नराम्रो लाग्यो।
(राजश्री बराल सेन्ट अल्फोन्सास स्कुल, जितपुर सिमरा उपमहानगरपालिका —४, बारामा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)