सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
असार ६ गते, हजुरआमाको सम्झनामा मैले यो लेख लेखेँ। हजुरआमासँग नखेली कुनै दिन बित्दैन थियो। अहिले पनि एक दिन उहाँलाई नसम्झी कहाँ बित्छ र? जहिले हामी दुई दाजुभाइलाई हेरचाह गर्ने उहाँ नै त हुनुहुन्थ्यो।
जहिल्यै सम्झना आउँछन् ती पल जब हजुरआमाले ममताका साथ हामीलाई खेलाउने र अन्य कुराहरू गराउनुहुन्थ्यो। उठ्ने बित्तिकै हामीलाई हेर्न आउनुहुन्थ्यो।
हामी तीन पुस्ताका चार जना असार ६ गते एकै दिन जन्मोत्सव मनाउँँथ्यौँ। हजुरआमाको लागि अन्य उपहारहरू बनाउँथ्यौं। बुबाले ल्याइदिनुभएको लुगा पनि हामी उहाँलाई दिन्थ्यौं। रोएका बेला हामीसामु पुग्ने पहिलो मान्छे उहाँ नै हुनुहुन्थ्यो। हामीलाई गाली गरेको सुन्दा उल्टै आमाबुबालाई गाली गर्नुहुन्थ्यो। हामीलाई धेरै माया र ममता दिनुहुन्थ्यो। हामीलाई सधैं ज्ञानी हुन अर्ति दिनुहुन्थ्यो। धेरै पढेर ठूलो मान्छे हुन र असल बन्न प्रेरणा दिनुहुन्थ्यो।
आज सम्झँदै गर्दा म जब-जब मेहनत साथ पढिरहेको हुन्छु, हजुरआमाको प्रेरणाले सधैं साथ दिइरहेको हुन्छ। भविष्यमा हाम्रा सबै सफलताहरूमा हजुरआमाको माया र प्रेरणा हाम्रा साथै रहनेछन्।
अलिक पछि उहाँलाई अल्जाइमरको रोगले समात्यो। यो रोगले उहाँलाई सबैकुरा बिर्सन लगायो। सबैलाई नचिने पनि हामीलाई छोरा भनेर बोलाउनु हुन्थ्यो। केही सालपछि उहाँलाई जन्डिस रोग देखा पर्यो। जचाउँदा थाहा भयो की गल ब्लाडरमा भएको क्यान्सरका कारणले उहाँलाई जन्डिस भएको रहेछ।
८९ बर्षको उमेरमा उहाँले असार ६ गते नै पारेर हामीलाई छोडेर जानुभयो। हामी असार ६ गते पहिला हजुरआमाको स्मृति दिवस र जन्म जयन्ति एकैपटक मनाउछौं। अनि मात्र आफ्नो जन्मोत्सव मनाउछौं। प्यारी हज्जीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन।
(काव्य अन्वेश ढकाल न्यू मिलेनियम स्कुल, इमाडोल, ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)