सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार, मेरो नाम पियू पौडेल हो। म कक्षा ५ मा पढ्छु। आज यहाँहरूलाई कोरोनाको समयमा मैले के महसुस गरिरहेको छु भनेर बाँड्न चाहन्छु।
कोरोना भाइरसले विश्वभरि महामारीको रूप लिएको छ। हाम्रो देश नेपालमा पनि यसले उतिकै असर पुर्याएको छ। सो भाइरसले गर्दा हाम्रो अन्तिम परीक्षा पनि केही समय अगाडि नै सरेको थियो। सम्पुर्ण कुराहरू बन्द जस्तै छन्। हाम्रो विद्यालय पनि बन्द भएको तीन माहिना भैसक्यो। लगभग तीन महिनासम्म लकडाउन भएपछि अहिले केही खुकुलो भएको छ। तर पनि पहिले जस्तै सामान्य स्थितिमा फर्कन अरू केही समय लाग्नेछ।
अरू वर्षहरूमा परीक्षा सकिएपछि म सधैँ मामाघर या पोखरा जाने गर्छु। यो वर्ष म कतै जान पाइनँ। कतै निस्किएको पनि छैन। मामाघरमा भएको भए ऐंसेलु, काफल, चुत्रो खाँदै बस्न पाइन्थ्यो। गाउँमा निकै मीठो दूध खान पाइन्छ। म सबै सम्झिरहेको छु। गाउँ नजानाले मैले अनलाइन कक्षामार्फत केही सिक्न पनि पाएको छु। यदि म गाउँ गएको भए यो सम्भव हुँदैन थियो।
अन्य विद्यालयले जस्तै हाम्रो विद्यालयले पनि अनलाइनमार्फत हामीलाई पढाउँदै आएको छ। अनलाइन कक्षामा सम्पूर्ण साथीहरू आउन पाएका छैनन्। धेरै साथीहरू गाउँ गएका छन्। मेरो कक्षामा भएका सम्पूर्ण साथीबाट आधा साथीहरू पनि अनलाइन कक्षामा आउँदैनन्। मलाई सबैले पढ्न पाउँन् भन्ने लाग्छ।
कक्षामा हामीहरू खाँदै, खेल्दै, नजानेको कुरा गुरूबा गुरूआमालाई सोधेर सिक्थ्यौँ। अनलाइन कक्षामा त्यस्तो गर्न पाइँदैन। विद्यालय जाँदा दिनमा ८ वटा विषय पढ्न पाइन्थ्यो। अहिले त दिनमा एउटा मात्रै पढिरहेका छौँ। मलाई फेरि पनि छिट्टै विद्यालय गएर सम्पूर्ण साथीहरूलाई भेट्न मन छ। अनलाइन कक्षा मलाई त्यति रमाइलो लागिरहेको छैन। कम्प्युटर ल्याब र गुरूले सिकाउने योग मैले सबैभन्दा धेरै सम्झना गरिरहेको छु। हुन त अहिले पनि मैले गुरूले सिकाउनु भएको योग गरिरहेको छु। तर पनि गुरूले सिकाउँदा जस्तो रमाइलो लाग्दैन। म चाहन्छु कोरोना छिट्टै सकियोस् अनि विद्यालय पनि छिट्टै खुलोस्।
यो समयमा पढाईबाहेक टेलिभिजन हेरेर, खेलेर, चाइल्ड म्यागजिन पढेर समय कटाइरहेको छु। म मेरो आमासँग चिनियाँ भाषा पनि सिक्दैछु। कोरोनाले धेरै मानिस मरे। धेरै मानिसहरू बिरामी छन्। यो भाइरसले गर्दा काम गर्न नपाएर कति धेरै मानिसले आत्महत्या गरे, धेरै मानिससँग खानेकुरा छैन भन्ने समाचार टेलिभिजनमा देख्दा नरमाइलो लाग्छ।
अन्त्यमा, आशा छ यो समय छिट्टै कटेर जानेछ। हामी फेरि पनि उसै गरि रमाउँदै विद्यालय जान पाउँनेछौँ। सबै साथीहरूलाई सुरक्षित रहनको लागि अनुरोध गर्छु।
(पियू, नेपालय शिक्षा सदन कलंकी, काठमाडौँमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)