सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्व नै कोरोनाको महामारीमा भएको बेला हामी केही लाख नेपाली युवा भने भविष्य निर्माणको फलामे ढोका मानिने एसइईको पर्खाइमा दिनरात प्रतिक्षारत थियौं। कहिले जाँच हुन्छ, पढाइ कस्तो चलेको छ, स्कुलको इज्जतको सवाल छ है, तयारी राम्रै होला नि, अरू कुरामा हैन पढाइमै ध्यान दिने नि भन्ने जस्ता हमेसा सुनिने कुरामा अभ्यस्त हामी कुन दिन समाचारमा हाम्रो रूटिन आउने हो भनेर प्रतिक्षारत थियौं।
केही साथीहरू त भन्थे खै के जाँच होला र? मानिसमा संक्रमण र मृत्यु हुने दर बढ्दो छ। हामी भन्थ्यौं यी सबै पढ्न मन नलागेर बनाइएका बाहाना हुन्। साँच्चै भन्ने हो भने मेरो मिहेनत राम्रो थियो। हामी विद्यालयको विशेष पहलमा भएको बन्द तयारीमा थियौं। स्कुललाई हामीमाथिको भरोसा पनि धेरै नै थियो। कोरोनाको बिस्तारले लकडाउन पनि कडा हुन थालेपछि भने हामी आफ्नै घरमा फर्केर तयारीमा लाग्यौं।
लामो लकडाउनले हामीमा एकोहोरो पढ्ने बानी र मेहनत गर्ने जाँगर हराउन थाल्यो। भविष्यमा यसको महत्व धेरै भएकाले सामान्य समय भने पढाइमा दिने गरिन्थ्यो। अति भएपछि अब जे होला रूटिन निस्केपछि तयारी गर्ने हो भनेर लगभग पढाइलाई विश्राम दिन थालिएको थियो।
यसैबिच रिजल्ट राम्रो आएमा मामुको तर्फबाट उपहार स्वरूप पाउने भनिएको गेमिङ ल्यापटप हात पर्ने वातावरण मिल्ला जस्तो भयो। ल्यापटप पाएपछि मैले गमिङतिर अलि बढी ध्यान दिन थाले। साथीहरूसँग रमाउँदै गेम खेल्दै गए। यसैगरी कहिले गेम खेल्दै त कहिले पढ्दै गर्दा मेरो समय बित्दै थियो।
एक्कासि समाचारमा आयो सरकारले एसइई परीक्षा स्थगित गर्यो र स्कुलले आन्तरिक मूल्यांकन गरेको आधारमा प्रमाण पत्र दिने निर्णय गरेको कुरा पनि स्पष्ट भयो।
'के खोज्छस् आँखो' भने झैं हामी ढुक्कै भयाैं। हामीभन्दा अगाडिका सबैले एसइई दिएर माथिल्लो अध्ययन थालेका तर हाम्रो भने केही भिन्न अवस्थाले मनमा के होला भन्ने डर तथा अन्यौलता देखा परेको छ। तथापी यो बाध्यता हो।
विश्वका अन्य देशमा भने यस्तो प्रचलन धेरै पहिलेबाट भएको थाहा पाएर हामीमा केही सन्तुष्टि भने मिलेको छ।
वास्तवमा हाम्रो पुस्ताकै लागि यो नौलो घटना र एक प्रकारको अविस्मरणीय अनुभव हो। अब भने एसइईको चिन्ता र अन्यौलताबाट निस्केर माथिल्लो तहको पढाइमा ध्यान केन्द्रित गर्न र भविष्यमा कुन क्षेत्र तथा विधामा आफूलाई कन्द्रित गर्ने भन्ने सोच्नु पर्ने समय आएको महशुस भएको छ।
कोरोनाको महामारीले धेरै मानिसको सपना चकनाचुर बनाएको छ। धेरैलाई हात मुख जोर्नसम्म समस्यामा पारेको छ। धेरैको पेशा खोसिएको छ र हामी जस्ता थुप्रै युवा बिचल्लिमा परेका छन्।
यस्तो भयावह अवस्था सम्भवत मानव सभ्यताको इतिहासमा कमै आउँछ। नआओस् पनि भन्ने हाम्रो कामना रहेको छ। यस्तो अवस्थामा हामी नेपाली युवाले देश र समाजकै लागि पनि सकारात्मक योगदान गर्नुपर्छ।
कोरोनाको कहर हटोस्। जनजीवन सामान्य बनोस् र हामी जस्ता लाखौं युवाको भविष्य सही बाटोमा लागोस्। यही कामना गर्न चाहन्छु, धन्यवाद।
(प्रसंग फुयाल काठमाडौं मेरिडियन स्कुलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)