सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म पहिले बिहान उठ्ने बित्तिकै नित्यकर्म सकेर बाँकी रहेको गृहकार्य पूरा गरी खाना खाने, किताब कापी मिलाई, ड्रेस लगाएर झोला बोकी भाइसँग बसमा चढेर स्कुल जान्थेँ। दिनभर स्कुलमा पढेर बेलुका घरमा फर्कन्थेँ अनि हात मुख धोएर खाजा खाएर पढ्न बस्थेँ। गृहकार्य सकेर भाइसँग खेल्थेँ। टिभी हेर्थेँ अनि खाना खाएर एक घण्टा जति पढेर सुत्थेँ।
शनिबारको दिन नुहाउने, अरू दिनको भन्दा फरक खाजा खाने, कहिले मन्दिर जाने, कहिले बजार जाने, कहिले मामाघर जाने गर्थ्यौं। आजभोलि कोरोनाले गर्दा लकडाउन भएको छ अनि मेरो दैनिकी फेरिएको छ। आफूले चाहेजति सुत्न पाएको छु।
दिनदिनै रोजेको खाना खान पाएको छु। टिभी हेर्न पाएको छु। अनलाइनमा पढेको पनि छु। बेलाबेला साबुनपानीले मिचिमिचि हात धोएको छु। घरिघरि भाइसँग मिलेर बाबाममिलाई छलेर स्यानिटाइजर पनि फिस्स—फिस्स पारेकै छु। आँगनमा खेल्दा मास्क पनि लगाएकै छु। पटक—पटक उमालेको पानी पिएको छु।
आजकल शनिबार आए पनि बजार जान पाएको छैन। मन्दिर जान पाएको छैन। मामाघर जान पाएको छैन। नौलो खाजा खान अनि नुहाउन शनिबार कुर्नु परेको छैन। इच्छाअनुसार नाच्न, गाउन, चित्र बनाएर रङ भर्न फेरि फेरि लुगा लगाउन पाएको छु।
हिजोआज धेरै गृहकार्य गर्नु पनि परेको छैन। परीक्षाको तयारी पनि गर्नु परेको छैन। तै पनि किन किन मलाई फेरि मेरो पुरानै दैनिकीमा फर्कन मन लागेको छ।
साथीहरू र गुरूहरूलाई भेट्न मन लागेको छ। अब कोरोना हट्यो यसको औषधि पाइयो भन्ने सुन्न मन लागेको छ।
(शाम्भवी सापकोटा उषा इङ्गलिस बोडिङ्ग स्कुल भरतपुर, चितवनमा कक्षा तीनमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)