सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनका बेला घर बस्दा मलाई पहिले पहिले विभिन्न ठाँउमा गरेको यात्राको सम्झना आइरहेको छ। यो केही अगाडिको यात्राको कुरा हो।
त्याे बिहान मलाई कहाँको जोस आइरहेको थियो। अरू दिनजस्तो ममीले मलाई बिहान उठाउनै परेन। बिहान उठ्नेबित्तिकै अरू दिनभन्दा फरक म तुरून्तै तयार भएर बसेकी थिएँ। बाबाममी सबैजना मलाई थाहै नदिई तयारी गर्दै हुनुहुन्थ्यो।
खाना खाइवरी करिब ११ बजेतिर हामी कतै जानका लागि गाडीमा बस्यौं। बाटोमा दायाँबायाँ हेर्दै र रमाउँदै जाँदै गर्दा कतै सिन्धुली यति किलोमिटर भन्ने देख्दा मेरो आँखा ठूलो भयो। मलाई कतै घुम्न जाने भन्ने त थाहा थियो तर कहाँ जाने भन्ने कुरा बल्ल थाहा भयो। गाडीमा रमाउँदै, गीत सुन्दै, गाउँदै, बीचमा कतै रोकिएर आराम गर्दै हामी सबै जना बेलुका सिन्धुलिमाडीको एक होटलमा पुग्यौं। थकाई पनि लागेका हुनाले त्यो रात हामी त्यही होटलमा खाना खाएर सुत्यौं।
यात्राको दोस्रो दिन बिहानै उठेर नुवाइधुवाइ गरी नजिकैको कमलामाई मन्दिरको दर्शन गर्यौं। सिन्धुलीमाडीदेखि बर्दिबास जाने बाटोमा कमला नदीको किनारमा रहेको कमलामाई मन्दिर जान झोलुङ्गे पुल तर्नुपर्ने रहेछ। म पुलमा नडराइकन नदी माथीको झोलुङ्ले पुल हल्लाउँदै मन्दिर गएकी थिए। मन्दिर पुगी दर्शन गरेर प्रसाद खाई हामी फेरि होटल फर्कियौं। होटलमा खाना तयार थियो। हामीले खाना खाएर आजको यात्रा फेरि सुरू गर्यौ।
केही बेरमै हामी उकालो र घुम्ती बाटाहरू हुँदै सेल्फी डाँडामा पुग्यौं। अघिल्लो दिन त्यहाँ पुग्दा रात परिसकेको थियो। त्यसैले हामीले सेल्फी खिच्न पाएका थिएनौं। आज त्यहाँ गाडी रोकि फोटो खिच्यौं। त्यसपछि हामी सिन्धुलिगढी पुग्यौं। त्यो एक ऐतिहासिक ठाँउ रहेछ। ठाडो सिँढीहरू चढेर हामी माथि गयौं। माथिबाट धेरै परसम्म देखिने रहेछ। त्यहाँ नेपालको झण्डा फर्फराइरहेको थियो। त्यो हाम्रा नेपाली वीरहरूले अंग्रेजको आक्रमणबाट देशलाई जोगाउनका लागि लडाइँ गरेको ठाँउ रहेछ।
त्यहाँबाट फर्केर हामी खुर्कोट आयौं। खुर्कोटमा तामाकोशी नदीमाथि पुल रहेछ। त्यही पुल तरेर हामी रामेछापको डरैलाग्दो बाटो हुँदै मन्थली पुग्यौं। रामेछापमा सुख्खा पहिरो पनि जाने रहेछ। पहाड भएर पनि हराभरा त्यति धेरै नभएको ठाउँ र मान्छेको बस्ती पनि पातलो र बाटो पनि डरलाग्दो देखिन्थ्यो।
तामाकोशीको किनारै किनार हुँदै हामी जिरी पुग्यौं। जिरीचाहिँ रामेछापको ठ्याक्कै उल्टो रहेछ। जतासुकै हरियाली, जंगल र पानीका मुल भएको। त्यसैले, नेपालको स्विजरल्यान्ड भनेर चिनिदो रहेछ। हामी जिरीमा एकछिन खुब रमायौ।
जिरी घुमेर राती चरिकोटमा बास बस्न पुग्यौ। चरिकोटको होटलमा बेलुकाको खाना खाई आराम गर्यौ। बल्ल मलाई थाहा भयो यो पटक त हामी कालिन्चोक जाने रहेछौ।
यात्राको तेस्रो दिन हामी बिहान उठी फ्रेस भएर कालिन्चोक मन्दिरको दर्शनको लागि तयार भयौं। बाटोमा गुराँसका रूखहरू थिए। त्यहाँ विभिन्न रङका गुराँस फुलेका थिए। त्यो हेर्दै र रमाउँदै हामी गाडीमा कुरी बजारसम्म पुग्यौ। त्योभन्दा माथि गाडी जाने बाटो थिएन। त्यसैले हामी माथि जान हिड्नु पर्यो। ममी रेष्ट गर्दै बिस्तारै उकालो चढ्नुभयो। हामी भने छिट्छिटो हिडेर माथि पुग्यौं।
कुरी बजारबाट कालिन्चोक मन्दिर जान केबुलकार निर्माण हुँदै थियो। अहिले त केबुलकारबाटै जान पाइन्छ होला। बाटोमा अरू धेरै यात्रीहरूलाई हेर्दै अघि बढ्यौ। कोही लसुन चपाइरहेका थिए त कोही लठ्ठी टेक्दै। म भने चुइङगम चपाउदै हिडिरहे।
उकालो चढ्दै गर्दा बाटोमा मलाई एकजना आन्टिले लसुन दिनुभयो। मेरो हालत पनि खराब भइरहेको थियो। लसुन खान मन नलागे पनि मैले खाइदिए। उकालो पनि कति लामो जस्तो लाग्यो। उचाइमा उकालो हिड्दा चकलेटहरू, अदुवा, लसुन, सातु, पानी आदि खानेकुरा लिएर जानुपर्ने रहेछ भन्ने मैले त्यही सिकेँ।
म कुद्दै उकालो चढ्दा बाबाममी बिस्तारै तलै देखिनुहुन्थ्यो। एकैछिनमा माथि पुगियो। मन्दिरको नजिकै एउटा भर्याङ लगाइएको जस्तो पुल थियो। त्यसबाट तल हेर्दा त डरै लाग्दो देखिने। त्यो पार गरेपछि मात्र कालिन्चोक मन्दिर पुगियो। मन्दिरको दर्शन गरेर साइडमा रहेको हेलिप्याड पनि घुमियो।
त्यहाँ हिउँ पनि परेको थियो। चारैतिर परसम्म देखिन्थ्यो। हामी उचाइमा रहेकाले कुहिरो हामीभन्दा तल थियो। त्यहाँबाट तल कुरीबजार लगायतका धेरै राम्रा दृश्यहरू देखिन्थ्यो। हामीले हिउँसँग खेलेर धेरै फोटोहरू पनि खिच्दै तल झर्यौं।
निकै भोक लागेको हुनाले मैले कुरी बजारमा चाउमिन खाए। अब हामी चरिकोट फर्कियौं। बिहानको खाना चरिकोटमा खाई हामीले नजिकैको भिमेश्वर मन्दिरको दर्शन पनि गर्यौ। मलाई बेस्सरी थकाइ लागिसकेको थियो।
हामी रमाइलो यात्रा सकेर काठ्माडौ फर्किन अघि बढ्यौं। गाडीमा विभिन्न किसिमका मिठामिठा गीत सुन्दै यात्रा गरिरहेका थियौं। ममीले 'यो यात्रा सुनौलो अनि साथ तिम्रो' भन्ने गीत गुनगुनाइरहुनु भएको थियो। मलाई त्यो अहिले पनि कानमा बजिरहेजस्तो लागिरहेको छ। म फर्कदा बाटोमा गाडीमै निदाएछु। पत्तो नपाइ घर आइपुगियो। त्यो एक सम्झनलायक यात्रा थियो हाम्रा लागि।
अहिले कोभिडको कारण हामी लकडाउनमा छौ। घरभित्र बसिरहेको बेलामा हामीले गरेका तिनै पहिलेका यात्राको सम्झना आइरहेको छ। आशा गरौं कोभिड समस्याबाट हामी छिट्टै छुटकारा पाउनेछौ। यस्तै नयाँ नयाँ यात्राहरू गर्नेछौ। हामी पहिलाको जस्तै सजिलो समयको पर्खाइमा छौं।
आजलाई मेरो यात्रा सम्झना यति नै। साथमा मैले फुर्सदमा बनाएका केही चित्रहरू पनि यसै साथ पठाएको छु। धन्यवाद।
(एन्जल ज्ञवाली पाठशाला नेपाल फाउन्डेशनमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)