सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोनाको कारण तीन महिनादेखि स्कुल जान पाएको छैन। स्कुल जान नपाएपछि घरबाटै अनलाइनमा पढ्न भने थालिएको छ। लकडाउनको बेला सेतोपाटी अनलाइनमा साथीहरूको कथा, कविताहरू देखेर मैले पनि लेखेर पठाएको थिएँ।
मैले लेखेको लेख पनि सेतोपाटीमा आएपछि म धेरै खुसी भएँ। स्कुलबाट म्याडम र साथीहरूले पनि मलाई राम्रो लेख्याै भन्नुभयो। बाबाममी र म्याडमले फेरि पनि लेख है भन्नुभयो। त्यसैले, मलाई फेरि पनि लेख्न मन लाग्यो।
लकडाउनको समयमा मैले कृषिका विषयमा धेरै बुझेँ। नेपाल कृषिप्रधान देश हो। नेपालका धेरै मानिस खेतीपाती गर्छन्। खेतीपाती धेरै गरेमा अरू देशमा पनि बेच्न पाइन्छ। यसरी हाम्रो देशमा फलेका अन्न, तरकारी र फलफूल बेच्यो भने आम्दानी बढ्छ।
मलाई सानैमा खेतीपाती गर्न मन लागेको छ। लकडाउनको फुर्सदमा मैले बोतल काटेर धनियाँ, स्ट्रबेरी, खुर्सानी रोपेको छु। बारीमा भने मकै, फर्सी, लसुन, गाँजर, मुला लगाउन ममीलाई सघाउँछु। म ठूलो भएपछि कृषि पढ्छु भन्दा बुबाममी हाँस्नुहुन्छ। मैले तरकारीमा किरा लाग्यो भने औषधि होइन, खरानी राख्नुपर्छ भन्ने ममीबाट सिकेको छु।
मैले बोतल काटेर रोपेको तरकारीहरूमा पनि खरानी हाल्छु। हाम्रो देशमा विषादी नहालेको तरकारी पाउन गाह्रो छ। विषादी हालेको तरकारी खायो भने बिरामी हुन्छौं। तरकारीमा विषादी नहालेर रोप्यौं भने हामी बिरामी हुदैनौं, स्वस्थ्य हुन्छौं। हामी सबै जनाले यो कुरामा विचार पुर्याउन जरूरी छ।
(प्रबन्ध पौडेल मेरिडियन इन्टरनेशनल स्कुल, बालुवाटार काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)