सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
काठमाडौं र ललितपुर जिल्लालाई छुट्याउने गरी बगेको बागमती नदीको किनारामा युएन पार्क छ। ललितपुर जिल्लातर्फ पर्ने यो पार्क करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ। यस पार्कभित्र हिमाल, पहाड र तराई क्षेत्रमा पाइने बोटविरूवा पाइन्छन्।
पार्कभित्र अम्बा, अनार, आरू, किम्बु जस्ता प्रशस्त फलफूलका बोटविरूवाहरू छन्। पार्कमा पहेलो रङको बाँसको रूख समेत छ। विभिन्न थरिका रंगीचंगी फूलका विरूवाहरू समेत छन्। पार्कमा विदेशी दुवोसमेत रोपिएको छ। खरायो, कछुवा, डाँफे, मृगका मूर्तिहरूले पार्कको सौन्दर्य अझ बढाएको छ।
पार्कको छेउबाट मानिसहरू हिँड्ने गोलाकार बाटो बनाइएको छ भने पार्कको बीच भागमा क्रिकेट खेल्न, ब्याडमिण्टन खेल्नको लागि कोर्ट बनाइएको छ। योग गर्न छुट्टै स्थान समेत बनाइएको छ। बिहानको समयमा करिब दुई सय जति अंकल/अन्टी योग गर्न पार्कमा आउने गर्नुहुन्छ भने धेरै अंकल/आन्टी व्यायाम गर्न पार्कमा आउनुहुन्छ। पार्कमा बालबालिकाको मनोरञ्जनका लागि फुटसल पनि बनाइएको छ। म त्यो फुटसलको सदस्य समेत बनेको छु।
दिउँसोको समय बिताउन पार्कमा हजुरबुबा हजुरआमाहरू पनि आउने गर्नुहुन्छ। पार्कको सुरक्षाका लागि पुलिस अंकलहरू पनि घुम्ने गरेको देख्न पाइन्छ। शनिबारका दिन र स्कुल छुट्टी हुँदाको दिनमा म पनि पार्कमा मनोरञ्जनका लागि जाने गरेको छु। मेरो समय त्यहाँ फूटबल, क्रिकेट, ब्याडमिन्टन, साइकल खेलेर सजिलैसँग बित्छ।
पार्कमा सिस्नोको बोट छ। सिस्नोले अन्य बच्चालाई मात्र नभई मलाई पनि धेरै पटक पोलेको छ। म रोएको पनि छु। आखिर सिस्नोले पोलेपछि कुन बच्चा रूँदैनन् होला? पार्कमा धेरै गीत तथा फिल्महरूको सुटिङसमेत हुने गरेको छ। मैले पनि धेरै कलाकारलाई सुटिङका क्रममा देखेको छु।
चीन वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हाल पार्कका सबै ढोका बन्द गरिएको छ। कसैलाई पनि पार्कमा जान दिइएको छैन। पुलमा रहेको जाली भाँचेर पार्कमा प्रवेश गर्ने दाइहरूलाई पनि पुलिस अंकलहरूले धपाउने गर्नु भएको छ। लकडाउनको समयमा पार्कको मर्मत गर्न अंकल/आन्टीहरू पहेलो टोपी लगाएर यताउता हिँडेको बाहिरबाट देख्न सकिन्छ।
अहिलेको समयमा पार्कको भित्र कस्तो भएको छ मैले देख्न पाएको छैन। म मात्र होइन मेरा धेरै साथीहरूले पनि देख्न पाएका छैनन्। लकडाउनको कारण पार्कमा गएर रमाइरमाई खेल्ने हाम्रो सपना अधुरो भएको छ।
लकडाउनको समयमा बजारतिर जान बाबामम्माले दिनु हुन्न। यता पार्क बन्द छ भने उता स्कुल पनि बन्द भएको छ। कोभिड १९ का कारण मैले मेरा स्कुलका सरमिस र साथीहरूलाई पनि धेरै मिस गरेको छु। कोरोना भाइरसका कारण घरमा बसेर पार्कतर्फ हेर्दै पार्कको सम्झना गरिरहेको छु।
आइ मिस यु युएन पार्क, आइ मिस माइ फ्रेन्डस्।
(संयोग घिमिरे सेन्ट जेभियर्स स्कुल, जाउलाखेलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)