सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
सुखको उल्लासमय वातावरण होस्
वा दुःखले निम्त्याएको कालो झरी
यो दुई दिने जिन्दगीको यात्रामा हात समाई सहयात्री बन्ने
तिमी हाम्रो प्यारो छिमेकी
ज्युँदाको जन्ती र मर्दाको मलामीदेखि
भारापर्म ऐंचोपैंचोमा रम्न सिकाउने तिमी
तीन वर्षे कालुदेखि ९५ वर्षीया मानबहादुरको
भलाकुसारी बिसाउन तिमी एक मात्र चौतारी
अचेल परिस्थिति र वास्तविकताले
छिमेकीको अर्कै परिचय सुन्दैछु म
तिम्रो त्यो बाह्य नकाबभित्र एउटा छिमेकीप्रति
बलिरहेको रिसको आगो महशुस गर्दैछु म
तिमीले यो देशप्रति गरेको दुस्साहस देख्दा
आज मेरी आमाको मन भासिनेगरी
पहिरो गएको छ
मन छियछिया भएको छ
स्वाभिमानी ती आखाँबाट उर्लेको
बाढी बगिरहेको छ।
इतिहासको पाना पल्टाउँदा पनि नेपालीको
सार्वभौम सत्तामा अड्डा जमाउने कोशिस
गर्न तिमी कहाँ पछि परेको थियौ र?
तर पनि हामीले हाम्रो कर्तव्य त भुलेनौं नि
आफ्नै छिमेकीलाई छल, कपट गरी
भाग खोज्न कति सिपालु भएछौ तिमी
भूकम्पले ढलेर थिचिएको यो मन
उठ्नै लागेको पनि
तिमीलाई पचेनछ क्यारे
फेरि अर्को दुःखलाई
हाम्रो थाप्लोमा बिसायौ
हाम्रा पुर्खाहरूको बलिदानको फललाई
गिद्धेनजर लगाउने
धिक्कार छ तिमीलाई
अर्काको भूमिलाई आफ्नो भन्न तिम्रा
ती ओठ लर्बराएनन् होला
अरूको परिचय खोस्न तिम्रा ती
हात कामेनन् होला
तर हामीलाई सोझासाझा सम्झिने गल्ती भने नगर
हामीलाई हाम्रै छिमेकीसँग द्वन्द्व गरी पापको भोगी बन्न बाध्य नबनाऊ
र, हाम्रो मान-शान कालापानी लिपुलेक
नेपालीकै हो भनी स्वीकार गर।
(कृपा कार्की नवोदय शिशु सदनमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)