सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम हार्दिक खतिवडा हो। म उदयपुर जिल्लाको च्यांगा आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्छु। अहिले चाहिँ सधैँ विद्यालय जान पाएको छैन। म कटारी बजारमा बस्छु। कटारीबाट तावा खोला हुँदै एउटा जंगलको बाटो पार गरेपछि मेरो विद्यालय पुगिन्छ। आज लकडाउनको बेला विद्यालय जान नपाए पनि मैले सिकेको केही कुरा भन्न चाहन्छु।
लकडाउन अगाडिसम्म एउटा रूटिन थियो मेरो तर अहिले परिवर्तन भएको छ। हजुरबा, हजुरआमा, बाबामामु र बहिनीसँग बसेर रमाउने मौका मिलेको छ। मेरी बहिनी तीन वर्षकी भइन्। म उनीसँग बसेर लुडो, क्यारेम बोर्ड, लुडो र गट्टा खेल्छु। कहिलेकाहीँ बहिनीसँग झगडा पर्छ। उनी मसँग चल्न खोज्छिन्। मेरो कपाल तान्न आउँछिन्। त्यति बेला रिस उठ्छ तर रमाइलो पनि लाग्छ। म पनि बहिनीलाई बेलाबेला जिस्क्याउँछु। नयाँ शब्द सिकाउँछु। आफूले जानेको खेल खेल्न सिकाउँछु।
बाबा र मामुको फोनमा घन्टी बज्दा उनी कुद्देर फोन उठाउन खोज्छिन्। त्यो देख्दा क्या रमाइलो लाग्छ। मेसेन्जरमा पहिलोपल्ट मामाको अनुहार देख्दा बहिनी छक्क परेकी थिइन्। मामा-मामा भन्दै चिच्याएकी थिइन्। अचेल त उनलाई बानी परिसकेछ।
अचेल मैले घरमा कथा सुन्न पाएको छु। हजुरआमा, बाबा र मामुले कथाहरू सुनाउनु हुन्छ। हजुरआमाले भगवान कृष्ण सानो हुँदाको कथाहरू सुनाउनु हुन्छ। उहाँले सानोमा दही चोरेको, साथीभाइसँग गोठालो गएको, बाँसुरी बजाएको। पुराणको कथाहरू पनि सुनाउनु हुन्छ। त्यो सुनेर अचम्म लाग्छ। भगवानसँग कसरी त्यति धेरै शक्ति थियो, कसरी भगवानहरू एक ठाउँबाट नदेखिने गरी अरू ठाउँमा पुग्न सक्छन् कसरी ब्रम्हाले संसार रचना गरे?
मेरो बाबा राष्ट्रिय वाणिज्य बैंकमा काम गर्नु हुन्छ। उहाँले पनि बैंकबारे, पैसाबारे कुराहरू सुनाउनु हुन्छ। मेरो मामु म पढ्ने सरकारी विद्यालयको शिक्षक हो। उहाँले पनि विभिन्न अनुभवहरू सुनाउनु हुन्छ। यो सबै सुन्दा रमाइलो लाग्छ। विद्यालय खुलेपछि पनि यसैगरी कथाहरू सुन्न मन छ। कथा सुन्दा आफैँ त्यो कथाको संसारमा पुगे जस्तो लाग्ने रहेछ।
अहिले असार लागेको छ। आँप पाकेको छ। अस्ति भर्खर नजिकैको मामाघरमा गएर आँप खायौँ। बोटमै गएर पाकेको आँप खान क्या मज्जा आउँछ। आँप खाँदा अचेल कुनचाहीँ माल्दह, कलकत्ते, दशहरी हो भनेर आपको प्रकार छुट्याउन सक्ने भएको छु। मलाई माल्दहको स्वाद सारै मन पर्छ। आँप काटेर भन्दा सिङ्गै चुसेर खान मिठो लाग्छ।
अचेल झरी परेकाले गाउँघरमा रोपाईं सुरू भएको छ। म रोपाईंमाचाहिँ गएको छैन। तिहारको बेला मामाले धान खेतमा लानु भएको थियो। त्यहाँ म हिलोमा गएर बुरूक्क बुरूक्क उफ्रिएँ। एउटा गंगटाले मेरो खुट्टामा झन्डै नटोकेको।
धान रोपे पनि यहाँ मानिसहरू डराएका छन्। अस्ति भर्खर सलह यहाँको आकाशमा देखिएको रहेछ। बीउ खाइदियो भने त बिजोग नै हुन्छ नि। फेरि मकै पनि फल्ने बेला भएको छ। म प्रार्थना गर्छु कि सलहले केही बिगार नगरोस्।
वैशाख महिनामा चाहिँ साह्रै डर लागेको थियो। उदयपुरको त्रियुगामा धेरै मानिसलाई कोरोना देखिएकाले यता पनि आउँछ कि भन्ने डर लागेको थियो। अब डर हराउन थालेको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)