सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'अनु' र 'शासन' मिलेर बनेको अुनशासन हामीले बाल्यकालदेखि सुन्दै आएको शब्द हो। यसको शाब्दिक अर्थ अनुसारको शासन हो। हामी हाम्रो बाल्यकालदेखि नै बुझेर वा नबुझेर हाम्रा अभिभावक र शिक्षकशिक्षिकामार्फत अनुशासित हुनुपर्ने बारेमा प्रशिक्षित भइरहेका छौंं।
अनुशासन भन्नाले आफू रहे बसेको घर, परिवार, समाज, संस्थामा प्रचलित मूल्य मान्यता अनुसारको बानी, व्यवहार आचरण र कार्य शैलीलाई बुझिन्छ। यो मानसिक, शारीरिक र मनोवैज्ञानिक अवस्था, मनोवृत्ति र प्रवृत्तिमा भर पर्छ। अनुशासन वातावरणबाट समेत प्रभावित हुन्छ। यो सम्पूर्ण जिवविज्ञान, भौतिक विज्ञान र प्रकृतिसँग समेत अन्तरसम्बन्धित छ। यी सबै पक्षलाई आफ्नो परिस्थिति अनुसार उपयोग गर्ने मानव समुदायका लागि त झन् अत्यावश्यक छ।
मानिसको जीवनमा आइपर्ने सम्पूर्ण आवश्यकता पूरा गर्ने एक सशक्त माध्यम अनुशासन हो। अनुशासनले हामीले गर्न लागको कार्यलाई सम्पन्न गर्न सहयोग पुर्याउँछ। कामको नतिजा राम्रो हुन्छ। थप काम गर्नको लागि हौसला र प्रशंसा प्राप्त गर्छौ। अनुशासनमा रही काम गर्ने मानिस अरूको लागि प्रिय र अनुकरणीय हुन्छ। अनुशासनले कुनै पनि पेशा, व्यवसायमा सफल बनाउँछ।
यदि हामीमा अनशासन भएन भने हामी आलोचनाको पात्र बन्छौं। फलतः हाम्रो जोश, जाँगर, सीप, हौसला क्षय हुन पुग्छ र हाम्रो प्रतिभा, कार्यक्षमता, उत्साह नष्ट हुन्छ। हामी घर, परिवार, समाज, संस्थाको अंगबाट अलग्गिन पुग्छौं। तसर्थ, मानव जीवनको सफलतामा अनुशासन एक महत्वपूर्ण पक्ष हो।
अनुशासनकाे मानव जीवनको हरेक पक्षमा महत्वपूर्ण भूमिका रहन्छ। साथै, विद्यार्थी जीवनमा धेरै आवश्यक छ। विषयगत, प्राविधिक, व्यावसायिक सैद्धान्तिक र व्यावहारिक ज्ञान आर्जन गर्ने जीवनको एक महत्वपूर्ण क्षणमा यसले हामीलाई सहयोग गर्छ। आज आर्जन गरेको ज्ञान नै भोलिको पेशागत जीवनमा उपयोग गर्नुपर्छ। तसर्थ, आज हामी बढी नै अनुशासित भई अध्ययन गर्नुपर्छ।
अनुशासित विद्यार्थी जीवनमा सहपाठी, साथी भाइहरू, गुरू, गुरूआमा र अभिभावकको साथ, भरोसा र हौसला प्राप्त हुन्छ। जसले जीवनको खुड्किला चढ्न थप प्रोत्साहन मिल्छ। अनुशासन भएको विद्यार्थीले नै अरूलाई प्रभाव पार्ने र नेतृत्व गर्ने गुण आर्जन गर्न सक्छ। विश्वासिलो, भरोसा गर्न लायक र ज्ञान आर्जन गर्न सक्ने हुन्छ।
आफ्नो जीवनको सपनालाई पूरा गर्न हामी अनुशासित हुनुपर्छ। अनुशासनका धेरै उदाहरण दिन सकिन्छ। हाम्रो स्नायु प्रणाली, पाचन प्रणाली, श्वास प्रश्वास प्रणालीले कार्य गर्नु, मनसुनी चक्रअनुसार हावापानी र मौसममा परिवर्तन हुनु, प्राकृतिक नियमअनुसार 'इकोसिस्टम' संचालन हुनु, प्रथा परम्पराअनुसार घर, परिवार र समाज संचालन हुनु, संविधानअनुसार सरकार संचालन हुनु, कार्य तालिकाअनुसार हाम्रो पढाइका क्रियाकलाप संचालन हुनु, तोकिएको विषय शिक्षकले तोकिएको विषय अध्यापन गराउनु, विद्यार्थीले तोकिएको पोशाक लगाउनु, तोकिएअनुसार कक्षा कार्य, गृहकार्य गर्नु आदि।
अनुशासित विद्यार्थी जिवनले हाम्रो पढाई, ज्ञान आर्जनलाई सरल र सरस बनाई दिन्छ। अध्ययनका सिलसिलामा उत्पन्न हुने तनाब हटाई मनोरञ्जनमा रूपान्तरण गर्छ। हामीलाई हाम्रो लक्ष्य पूरा गर्न सहयोग गर्छ। हाम्रो मान सम्मान बढाउँछ। त्यसैले, विद्यार्थी जीवनमा अति आवश्यक छ।
(सुयोग सुवेदी बुढानिलकण्ठ स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)