सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नोभल कोरोना भाइस चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोना भाइरस-२०१९ (अर्थात कोभिड १९) नामाकरण गरिएको छ।
‘को’ ले कोरोना ‘भि’ ले भाइरस भन्ने जनाउँछ। यो भाइरसले विश्वभर महामारीको रूप लिएको छ। यस भाइरसबाट विश्वका शक्तिशाली राष्ट्रहरू पनि प्रभावित छन्। कोभिड १९ भाइरसबाट विश्वमा मानिसले ज्यान गुमाउनु पर्यो। यस भाइरसबाट भारत लगायत नेपाल पनि संक्रमणबाट टाढा हुन सकेन।
नेपालमा यस भाइरसको बढी प्रकोप हुनुको मुख्य कारण हामीले सहजै पत्ता लगाउन सकिन्छ। हाम्राे खुला सिमाना हो। यस्ता खुला सिमानाबाट धेरै नेपालीहरू आवतजावत निरन्तर चलिरहेको कारण नेपाल कोरोना भाइरसबाट संक्रमित भएको हो।
नेपालको परिवेशमा हेर्ने हो भने सबैभन्दा बढी लकडाउनको प्रभाव कसलाई परेको होला भन्दा सहजै अनुमान लगाउन सकिन्छ। लकडाउनबाट प्रभावित समुदाय भनेको गरिब परिवार हो किनकी आफ्नो जीवन निर्वाह गर्न दैनिक ज्यालादारी गर्न त्यसबाट आएको पैसाले दुई छाक टार्थे। जब नेपालमा लकडाउन गर्ने भनेर मिति तय भयो र लागू भयो त्यसपछि धेरै गरिब परिवार कामबिहिन भए। दुई छाक टार्न निकै कठिनाई भयो।
यस लकडाउनले ती गरिब परिवारलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याइदियो। पैसावाला अर्थात् धनी मानिसलाई लकडाउनको समय आरामको समय भएको छ। गरिबलाई त घर न घाटको बनाएको छ। हुन त राज्यबाट राहत वितरण भने नभएको होइन। त्यो राहत जो गरिब हो त्यसको पहिचान नगरी पहुँचको भरमा वितरण गरियो। राहत गरिबमूखी भएन। कोही कसैले पाए पनि त्यतिले कति दिन खान पुग्छ होला? त्यो त हामीले पनि आकलन गर्न सक्छौं।
विदेशमा पनि नेपालीले रोजगारी गुमाउनु परेको पीडा छुट्टै छ। कति धेरैले सुन्दर सपना देखेका थिए होला। छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने दुई-चार महिना खान पुग्थ्यो। चुहिने छाना नचुहिने बनाउने लक्ष्य लिएका थिए हाेला। ती गरिबहरूको सपना सपनामै सीमित रहेको छ। अर्कातिर साहुको ऋणले निकै पिराेली रहेको छ। उता घरमा रहेका आमाबुवा छोराछोरी भोकै होलान् भन्ने ठूलो चिन्ता छ।
विदेश लगायत नेपालको मित्र मुलुक भारतमा धेरै नेपाली मजदुरी गरिरहेका छन्। तिनीहरूको हालत पनि खाडी मुलुकमा रहेका नेपालीको जस्तै छ। पछिल्लो समय सरकारले एउटा राम्रो काम गरेको छ। विदेशमा रहेका नेपाली स्वदेशमा फर्काउने।
विदेशबाट फर्कनेक्रममा हातहातमा कोरोना परिक्षण गरेको कागज बोकेर विमानस्थलमा आएको देख्दा मेरा आँखामा आँसु आयो। मन सारै दुख्याे।
यस्तो हालतमा आएकाहरूको पीडामा मलमपट्टी लगाउने काम भनेको नेपाल सरकारको हो। उनीहरूलाई सीप अनुुसारको लगानी गरी स्वदेशमै रोजगार दिन सक्यो भने अन्तराष्ट्रिय विमानस्थलमा सेतो कागजको पाना ल्याएर आउनुपर्ने बाध्यता हट्ने थियो होला।
(शंकर शाही बुढानिलकण्ठ स्कुल, नारायणस्थान काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)