सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सञ्चार विकासको परिपूरक तत्व हो। आजको युगमा सञ्चारको उपयोगिता ज्यादै बढेको छ। सञ्चारसेवाको विभिन्न तहमध्ये मिडिया एक उल्लेखनीय प्रकार हो।
कुनै कुराको पहुँच गर्न, विश्लेषण गरि सिर्जना गर्न र सञ्चारका सबै प्रकारको उपयोग गरेर मूल्यांकन गर्ने क्षमाता नै मिडिया साक्षरता हो। मिडिया साक्षरता अहिले संसारभर चर्चाको विषय बनेको छ।
मिडिया साक्षरता एक अत्यन्त गहन र अप्रिय विषय हो। सामाजिक मिडियाका गलत समाचार वा षड्यन्त्रका गफहरू पत्ता लगाउनकाे लागि मिडिया साक्षरता महत्वपूर्ण हुन्छ। यसले हामीलाई सही जानकारी कसरी प्राप्त गर्ने सिकाउँछ।
मिडिया साक्षरताले हामीलाई आलोचनात्मक चेत विकास गर्न मद्दत पुर्याउँछ। यसले पाठकहरूलाई कसरी मिडियाले हाम्रो संस्कृतिमा असर गर्छ भन्ने कुरा सूचित गराउँछ। हामीलाई मिडियाका अन्य स्रोतहरू जिम्मेवार भई साझा गर्न प्रोत्साहित गर्छ।
हामीलाई सञ्चार र मार्केटिङका चालहरू निर्धारण र पहिचान गर्न मद्दत गर्छ। यसले हामीलाई नागरिकको रूपमा सार्वजनिक मामलामा सक्रियतासाथ भाग लिन समेत प्रोत्साहित गर्छ। समयअनुसार यसले हामीलाई आफ्नै ज्ञानलाई कसरी अरू माझ पुर्याउन सकिन्छ भनेर पनि सिकाउँछ।
प्रविधिको विकासले गर्दा अनेक खालका मिडियाको उदय भएको छ। नेपालमा पनि यसको प्रयोग बढ्दो छ। इन्टरनेट धेरै नयाँ मिडियाको लागि मञ्च बनेको छ। सरकारी अनुमानअनुसार हाल झन्डै एक करोड नेपाली इन्टरनेट प्रविधिको पहुँचमा पुगिसकेका छन् र सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छन्। त्यति धेरै संख्यामा हामी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छौं। तर के यी नयाँ मिडियाको प्रयोग सही ढंगले भएको छ त?
प्रविधिको विस्तारसँगै त्यसको दुरूपयोग पनि बढ्दै गएको छ। हुन त यी नयाँ र आधुनिक मिडियाले सुचना दिनु लोकतन्त्रमा राम्रो कुरा मानिएको छ। समाजमा ठूला मिडियाहरू त जहिले पनि सत्तावाला र शक्तिशालीहरूको हो भन्ने एक किसिमको बुझाइ छ। नयाँ मिडियाले सिमान्तकृत तथा अल्पसंख्यकका विचार प्रस्तुत गर्ने मौका दिन्छ। यसले विकृति नल्याएको भने होइन। ती मिडियामा भएका कुरा कसैको प्रचार अथवा कसै विरूद्ध षड्यन्त्र गर्न पनि त लेखिएका हुन्छन्।
फेसबुक दुरूपयोग गरेर मुलुकमा कत्तिले चुनाव जितेको र सत्ता परिवर्तन गरेका घटना पनि नभएका होइनन्। अहिले यति धेरै मिडिया आउँदा जो पाए त्यहीलाई विश्वास गर्न मिल्दैन। कुनै कुराको तहसम्म पुग्नका लागि अलिकति जिज्ञासासहित अध्ययन र खोज गर्नु आवश्यक छ।
के सामाजिक सञ्जाल, सूचना प्रविधिका उपकरण प्रयोगमा नेपालीहरू पर्याप्त रूपमा सचेत छन्?
मेरो विचारमा छैनन्। तर नेपालमा मिडिया साक्षरता झट्टै ल्याउन वास्तवमै सजिलो छैन। किनकि जब खबरहरू इन्टरनेटमा साझा हुन्छन्, तिनीहरूको सत्यताको आधार हामीलाई देखाइँदैन।
उदाहरण रूपमा, यदि बिबिसीले कुनै समाचार साझा गरेको छ र अन्य कुनै अनौपचारिक साइटले समाचार साझा गरेको छ भने सामाजिक सञ्जालमा प्रयोग गर्ने व्यक्तिले दुवै समाचार देख्ने उतिकै सम्भावना हुन्छ।
यदि नक्कली समाचार पोर्टल संवेदनात्मक शीर्षक अन्तर्गत समाचार हाल्न राम्रो छ भने नक्कली समाचारको प्रामाणिकभन्दा उच्च दृश्यता हुन सक्छ। त्यसो भए एक साधारण स्रोताले कसरी यस समस्याबाट छुट्कारा पाउने त?
झुटा समाचारबाट मुक्ति पाउने एउटा राम्रो उपाय मिडिया साक्षरता हो। मिडिया साक्षरता विकास गर्न गाह्रो काम हो र लामो समय लाग्न सक्छ। किनभने सामाजिक सञ्जालको अचानक विस्फोटले नेपालमा ठूलो प्रभाव पारेको छ र सबै समाचार स्रोतहरू बराबर हुँदैनन्। यसमा भिन्नता महशुस गर्न केही समय लाग्नेछ।
सरकारी संयन्त्रहरूले मिडिया साक्षरताको आवश्यकता र उपादेयताबारे कति गम्भीरता साथ बुझेका छन् त?
हेर्दै जाने हो भने मुलुकमा यस विषयले पाउनुपर्ने ध्यान पाएको छैन। अहिले विश्वभरका देशले यस विषयलाई ध्यान दिएर मिडिया साक्षरता विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेका छन्।
एसिया कै कुरा गर्ने हो भने सन् २०१७ मा फिलिपिन्स मिडिया र सूचना साक्षरता (एमआईएल) लाई आफ्नो हाई स्कुलको पाठ्यक्रमको हिस्सा बनाउने पहिलो एसियाली देश बन्यो।
अहिले भारत, सिंगापुर, भियतनाम लगायत थुप्रै एसियाली देशहरूले मिडिया र सूचना साक्षरता (एमआईएल) लाई अपनाएका छन्।
मिडिया साक्षरता एक अत्यन्त महत्वपूर्ण विषय हो भन्ने तथ्यलाई समय समयमा शिक्षकहरूलाई प्रशिक्षण दिँदै मिडिया र सूचना साक्षरता ल्याउनु आजको आवश्यकता हो।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)