सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनको एक दिन मैले चिठी र उपहार पाएँ। त्यो पनि हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव खगराज बरालज्यूबाट। उपहारमा पाएको थिएँ, उहाँले लेख्नुभएको किताब र चिठी। उहाँले मेरो बुवासित पठाइदिनु भएको थियो।
मैले लेखेका सेतोपाटीका सबै लेख उहाँले पढ्नुभएको रहेछ। अझै पढ्न पाउने अपेक्षा गरेको व्यहोरा उल्लेख गर्नुभएको थियो। उहाँको साहित्यिक नाम श्रमिक बराल रहेछ।
श्रमिक बरालज्यूले दिनुभएका किताब पढ्दा मलाई निकै रमाइलो लाग्यो। उहाँले मलाई 'आँगनीको फूल' र 'सानीको बर्थ-डे' भन्ने किताब पठाइदिनु भएको थियो। आँगनीको फूल कविता संग्रह हो भने सानीको बर्थ-डे कथा संग्रह।
यी कविता र कथा संग्रहमा भएका हरेक कथा र कविताको पछाडि एउटा छुट्टै उद्देश्य रहेको मैले पाएँ जुन हो भने हामीजस्ता स-साना बालबालिकालाई रमाइलो तरिकाबाट धेरै कुराहरू सिकाउने।
आँगनीको फूलमा मामाघरको महत्व, चराहरूको कथा, मामा आएको बेला, बाबाको महत्व, बजारको बारेमा, मेवा खाने कसरी, आँगनीमा फुल्ने फूलहरू र धान रोप्दा गर्ने कामका बारेमा रमाइला कविताका रूपमा लेखिएको छ। यस कविता संग्रहबाट मलाई 'धानको दाइ' भन्ने कविता खुब मन पर्यो किनभने यस कवितामा गाँउ घरमा कसरी धान रोप्ने चलन रहेको छ भन्ने कुरा स्पष्ट गरेको छ जुन आजको आधुनिक जमानामा शहरमा बस्ने कतिपयलाई पत्तो नै हुँदैन।
सानीको बर्थ-डे भन्ने कथा संग्रहमा पनि धेरै कुरा सिकाइएको छ। जस्तै, खाना सबै जिवले खानुपर्छ। जनावर र मानिसबीचको अटुट सम्बन्ध, प्रकृति भनेको भगवान हो, जंकफुडले गर्ने बिगार, नयाँ काम सिकेर मात्र गर्नुपर्छ, हातले विरूवाका बतिलालाई छुनु हुन्न, चोर औंलाले देखाउनु हुँदैन र जन्म तिथिको महत्व। यस संग्रहमा मलाई 'सृष्टि' र 'मकै' भन्ने कथा ज्यादै मन पर्यो।
सम्पूर्ण कथाबाट मैले के सिके भन्दा हामीलाई चाहिने सबै कुरा प्रकृतिले उपलब्ध गराएको हुन्छ। समय अनुसार नै यस्ता कुराहरूबाट लाभ लिनुपर्छ। समयअनुसार चल्न नसकेमा बेफाइदा हुन्छ। त्यसैले, समयअनुसार प्रकृतिबाट फाइदा लिन सकियो भने प्रकृति नै भगवान साबित हुन सक्छन्।
यसका साथै मैले जनक बालपत्रिका पनि पाए। यसको एउटा मात्र अंक प्रकाशित भएको छ। त्यो पनि २०७६ सालको श्रावणमा। यो पढ्दा निकै रमाइलो लाग्यो। यसमा ठूला-ठूला मानिसदेखि विद्यालयमा पढ्ने भाइ, बहिनी, दाइ, दिदीले लेखेका राम्रा-राम्रा लेख रचना छापिएको रहेछ।
तर यो पत्रिका नियमित प्रकाशित हुन नसकेको मैले सुनेँ। यस्तै, पत्र पत्रिकाहरू जस्तै मुना, कोपिला, जुनकिरी, सेतोपाटी आदिले पनि बालबालिकाका लेख र रचना छाप्ने गरेका छन्। बालबालिकालाई अझै पनि यस्तै प्लेटफर्म उपलब्ध गराएमा उनीहरूको प्रतिभा बाहिर निस्कन सक्छ।
खगराज बरालज्यूले अरू धेरै किताब पनि लेख्नुभएको रहेछ। मेरो घरमा दुइटा मात्रै छन्। तिनका नाम सिकाइ र सहयोग र सिकाउने शैली हो। अहिले अनलाइन कक्षा भइरहेकाले ती किताबहरू पढ्न त पाएकी छैन तर कुनै न कुनै दिन पढ्ने विचार छ।
मलाई आफूले लेखेका किताबहरू पठाइ केही सिक्ने मौका दिनुभएकोमा सचिवज्यूलाई धेरै धेरै धन्यवाद।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्यनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)