सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
नारी,
त्यो प्रजाति जसलाई जन्मँदै मर्न सिकाइन्छ
सहनशीलता गुण हो बताई
पलपल चुप गराइन्छ
मनमा सहनु नामक पिटारा स्थापना गरिन्छ
जो एक एक पीडाले भरिन्छ।
हर युगमा अग्नि परीक्षाको नियम लगाइन्छ
जिउँदै निर्जीव बनी बाँच्न बाध्य बनाइन्छ
चञ्चल र चुलबुले स्वभावको रमितालाई
बलात्कार गरी मौनताको लामो दलदलमा धकेलिन्छ
जहाँ उसको निश्छलता निचोरिन्छ।
गर्भको त्यो कोपिला फक्रन नपाई निचोरिन्छ
संसार देख्नबाट बञ्चित गरिन्छ
सुन्दर मुस्कान भएको शान्तिको
अनुहारमा एसिड फाली
असहनीय पीडा खप्न बाध्य गरिन्छ
र उसको आत्मविश्वासलाई छल्ली छल्ली गरिन्छ।
युगौंयुगको कथा चीरहरणमा कति
द्रौपदी मानी बाँडिन्छ र फेरि दाउपेचमा हारिन्छ
जुन युगमा पनि पतिव्रताको अन्धविश्वासी रित बनाइन्छ
सती प्रथाको नाम दिएर जिउँदै पतिसँग जलाइन्छ
र म नारीको अस्तित्वलाई मेटाइन्छ।
तर मलाई दुर्गा, लक्ष्मी भनी घरघरमा सम्बोधन गरेर पूजा गरिन्छ।
यता मेरो मूर्तिलाई शिरमा सजाइन्छ र मेरो सामु झुक्छन्
तर उता आफ्नो अगाडिको जीवित देवीको अस्तित्वलाई हेला गरिन्छ।
किन यो समाजले यस्तो दोधार नियम बनाएको
मूर्तिलाई शिरमा सजाई जीवितलाई पाउमा कुल्चेको
धर्तीको सम्बोधन गरि आमाको उदाहरण दिँदै हिड्छन्
र आफ्नै आमा, पत्नी र छोरीको सम्मान गर्न भुसुक्कै भुल्छन्।
ए समाज! सिक नारीको सम्मान गर्न
नारी गौरी हो भने काली नि बन्न सक्छन्
तसर्थ, सिक नारीको सम्मान गर्न।
(राधा कुमारी महतो नवोदय शिशु सदन, हेटौँडामा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)