सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मिडिया अङ्ग्रेजी शब्द हो। 'मिडिया' शब्द सूचना र सञ्चारसँग सम्बन्धित हुन्छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, आदि सञ्चारका साधन हुन्।
२१ औं शताब्दीमा इन्टरनेट मानव जातिका लागि सञ्चारको प्रमुख साधन बनेको छ। मानिस इन्टरनेट माध्यमबाट सामाजिक संजालमा सक्रिय रहन्छ। घरै बसी-बसी इन्टरनेटको सहयोगमा मानिसले विश्वका कुनाकुनामा घटेका घटनाका बारेमा जानकारी प्राप्त गर्छ। त्यसैले पनि इन्टरनेट अहिलेको समयमा मानिसका लागि वरदान नै सावित भइसकेको छ।
नेपालमा पनि दिनानुदिन इन्टरनेटको लोकप्रियता बढ्दै गइरहेको छ। सहरमा मात्र नभएर गाउँ-गाउँमा पनि मानिसले इन्टरनेटको प्रयोग गर्न थालिसकेका छन्। इन्टरनेटमा थुप्रै प्रकारका समाचारहरू सुन्न, हेर्न सहजै सकिन्छ।
इन्टरनेटमा राखिएका सबै सुचना वा समाचार सही नै हुन्छन् भन्ने पनि हुँदैन। ती राम्रा ,नराम्रा, सकारात्मक वा नकारात्मक पनि हुन्छन्। अहिलेको वर्तमान समयमा सामाजिक संजालमा सूचना, समाचार सम्प्रेषण गर्ने अनि पैसा कमाउने त झन् धेरै नेपाली मानिसको आमदानीको प्रमुख श्रोत नै बनेको छ। पैसा कमाउन मानिसले झुठो समाचार पनि सम्प्रेषण गर्छन्। त्यही एउटा कारणले गर्दा इन्टरनेटमा झुठो समाचार हल्लाको रूपमा फैलिन्छ।
मानिसले 'मिडिया साक्षरता'को माध्यमबाट समाचार सही हो वा गलत हो भनी सहजै छुट्याउन सक्छ। मिडिया साक्षरताले मानिसलाई सजक अनि सचेत बनाउन सक्छ। मिडिया साक्षरताको ज्ञान भएको मानिसले आधिकारिक समाचार पढ्न, हेर्न र सुन्न मन पराउँछ। नेपाली सामाजिक सन्जालमा त झन झुठा, गलत र हल्लाका समाचारका लहरै देख्न, सुन्न र पढन सकिन्छ।
हाम्रो समाजमा धेरै मानिसहरू हल्लाको पछाडि दौडिन्छन्। आधिकारिकतामा धेरैको ध्यान जाँदैन। कागले कान लग्यो भन्दैमा आफ्नो कान नसमाती कागको पछाडि भाग्न त भएन नि। त्यो त मूर्खता नै भयो। इन्टरनेटमा समावेश गरिएका समाचारहरूको पृष्ठभूमि बुझेर, उक्त समाचारको आधिकारिकता जाँचेर मात्र विश्वास गर्नु उचित हुन्छ। मिडिया साक्षरताले पनि मानिसलाई त्यही नै सिकाउँछ।
इन्टरनेट भ्रामक सूचना वा हल्लाको खानी पनि हो। हल्लै हल्लामा भर परेर हत्तपत्त जुनसुकै सूचनामा विश्वास गर्नु हुँदैन। मिडिया साक्षर मानिसले इन्टरनेटको प्रयोग गर्छ तर गलत समाचारको विश्वास कहिल्यै गर्दैन। इन्टरनेटको प्रयोग गरेपछि मिडिया साक्षर बन्न अति जरूरी छ। मिडिया साक्षरताले मानिसलाई सही, गलत छुट्याउन मात्र नभएर गलत कुराको खण्डन अनि विरोध गर्न पनि सिकाउछ।
भ्रामक समाचार इन्टरनेटमा समावेश गराएर जनमानसमा भ्रम पैदा गराउनु साइबर कानुनको विपरित छ। नेपालमा पनि साइबर कानुन लागू भइसकेको छ। साइबर कानुन लागू भए पनि मानिसले गलत, भ्रामक अनि झुठो समाचार इन्टरनेटमा समावेश गर्न भने छोडेका छैनन्। त्यसैले अब, मानिस मिडिया साक्षर बन्नुपर्ने हुन्छ। शिक्षित मानिसले पनि इन्टरनेटका भ्रामक सूचनालाई विश्वास गर्ने गर्छन्। त्यसैले इन्टरनेट प्रयोग गर्न मानिस शिक्षित, साक्षर भएर मात्रै हुँदैन, मिडिया साक्षर बन्नुपर्छ।
नेपालमा इन्टरनेट प्रयोगकर्ता धेरै भए पनि मिडिया साक्षर मानिसको संख्या भने न्यून नै देखिन्छ। त्यसैले मानिसलाई मिडिया साक्षर बनाउन धेरै प्रकारका जनचेतना कार्यक्रमहरू त्यही इन्टरनेटको माध्यमबाट इन्टरनेट प्रयोगकर्ता समक्ष पुर्याउन सकिन्छ। भ्रामक सुचना सम्प्रेषण गर्ने मानिसलाई पनि साइबर कानुनको दायरामा ल्याउनु नै पर्छ।
नेपाली जन मानिस कानुनमा मात्र भर परेर हुँदैन। आफैं सचेत अनि सजक बन्नुपर्छ। मिडिया साक्षर मानिसले आफ्ना परिवारका अनि समुदायका अरू इन्टरनेट प्रयोगकर्तालाई पनि मिडिया साक्षरताको बारेमा थाहा दिँदा अझै राम्रो हुन्छ।
मिडिया साक्षरताका फाइदा धेरै छन्। मिडिया साक्षरताले मानिसलाई इन्टरनेटप्रतिको मानसिकता नै फराकिलो पारिदिन्छ। कति मानिससगँ त इन्टरनेटका सबै समाचार सही नै हुन्छन् भन्ने गलत मानसिकता अझैसम्म पनि छ। मानिसले उक्त मानसिकता दिमागबाट नै निकाल्नु पर्नेहुन्छ। मिडिया साक्षरताको माध्यमबाट मानिसले गलत मानसिकतालाई हटाउन सक्छ।
समग्रमा भन्नुपर्दा, इन्टरनेट प्रयोगकर्ताका लागि मिडिया साक्षरता अत्यन्तै आवश्यक विषयवस्तु हो। नेपालमा त झन अहिलेको समयमा निकै नै आवश्यक छ। इन्टरनेट सूचना र सञ्चारको प्रमुख माध्यम भए पनि भ्रामक समाचारको खानी पनि हो। मिडिया साक्षरताले मानिसलाई भ्रामक समाचार छुट्याएर आधिकारिक अनि सही सूचना पढ्न, सुन्न उत्प्रेरित गर्छ। यही नै मिडिया साक्षरताको प्रमुख फाइदा हो। सही र ठीक सूचना र समाचारबाट बन्चित नहुन, नेपालमा पनि अब सबै इन्टरनेट प्रयोगकर्ता मिडिया साक्षर बन्न अति जरूरी छ।
(गौरभ सापकोटा सत्यवती मा.वि, तनहुँमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)