सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी नेपालमा पनि फैलिएसँगै २०७६ चैत्र ११ गतेदेखि नेपालभरी लकडाउन भएको थियो। वैशाखदेखि विद्यालयको नयाँ कक्षा सुरू हुनु पर्थ्यो तर लकडाउनका कारण हुन सकेन।
कोरोना संक्रमित बढ्दै जाँदा र संक्रमित झनै बढ्न सक्ने हुँदा लकडाउनका बीच नै विद्यालय खोल्ने कुरा पनि भएन। त्यसैले धेरैजसो विद्यालयले सामाजिक संजालको माध्यमबाट शैक्षिक वर्ष सुरू गरे। कतिले रेडियो तथा टेलिभिजनको सहयोग लिए त कतिले जुम, गुगल मिट तथा माईक्रोसफ्ट टिम्सको सहयोगमा कक्षा संचालन गरे।
तर यो कतिको प्रभावकारी बन्यो? कति विद्यार्थीले शिक्षा पाए? के यसले सबै विद्यार्थीलाई समेट्न सक्यो त? यसको बारेमा पनि सोच्नुपर्ने देखिन्छ।
कोरोना महामारीका कारण शिक्षा दिने र लिने तरिकाले ठूलो फड्को मार्यो। कक्षाकोठामा पढ्न बस्नेबाट ल्यापटप मोबाईल अगाडि पढ्न बसायो। यस महामारीले जुम, गुगल मिट तथा माईक्रोसफ्ट टिम्स् जस्ता नयाँ-नयाँ प्रविधिबाट पठनपाठनको सुरूवात गरायो। धेरै विद्यालयले जुम, गुगल मिट तथा माईक्रोसफ्ट टिम्स प्रयोग गरे भने कतिपय विद्यालयले रेडियो टेलिभिजन आदिको माध्यमबाट पढाए।
इन्टरनेट रेडियो र टिभी जस्ता प्रविधिबाट विद्यार्थीले पढ्न त पाए तर यसले विद्यार्थीलाई धेरै असर पार्न सक्छ। स्क्रिनको अगाडि बस्दाबस्दा आँखा बिग्रन सक्छ। रेडियोको नजिक बस्दा-बस्दा कानको समस्या हुने डर झनै बढेर गयो। अझै एउटै ठाँउमा टक्क एक-दुई घण्टा बस्दा ढाड दुख्ने पनि हुन सक्छ। बत्ति गयो भने पढाई छुट्ने मानसिक तनाब हुन्छ। आफूले गरेका काम भाइबर, मेसेन्जर तथा इमेलबाट गए कि गएनन् भन्ने चिन्ता हुन्छ।
अझ गाँउघर जहाँ रेडियो, टेलिभिजन इन्टरनेटको पहुँच छैन त्यहाँका विद्यालयमा पढ्ने तथा लकडाउनको समयमा बिदा मनाउन गएका बालबालिकाले के गर्ने? कति ठाउँमा त बत्ति पनि छैन होला। कसरी पढ्छन्? उनिहरूलाई पनि आफ्नो पढाईको चिन्ता होला नि। यसको बारेमा सोच्नुपर्ने होइन?
मेरो विद्यालयले पनि जुमबाट बैशाखको ८ गतेदेखि पढाउन सुरू गरेको थियो। केही दिन अगाडि हाम्रो जाँच पनि भएको थियो। यो पनि एउटा नौलो अनुभव भयो। पहिला-पहिला कक्षाकोठामा बसेर जाँच दिइन्थ्यौ भने अहिले ल्यापटपको अगाडि बसेर तोकिएको समयमा जाँच सकाएर पठाइसक्नु पर्थ्यो। जाँच सजिलो पनि थियो। यसपालि त हाम्रो मौखिक परीक्षण पनि भयो। मजा आएको थियो।
लकडाउनले गर्दा विद्यार्थीको जीवन अस्तव्यस्त बनेको छ। केही पढिरहेका छन् भने कोही छैनन्। साथीहरूसँग बसेर कक्षाकोठामा पढ्ने र विभिन्न क्रियाकलापमा संलग्न हुनेबाट मोवाइल र ल्यापटमा सीमित हुनुपरेको छ। यो महामारी नियन्त्रण नहुन्जेल हाम्रो सरकारले सबै विद्यालयमा बत्ति, इन्टरनेटको सुविधा बिस्तार गरेर सबै विद्यार्थीले पढ्न पाउने गरी शिक्षा प्रणालीलाई फेरेर अहिलेको महामारीको समयमा पनि पढाइलाई संचालन गरिरहनु पर्छ।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
[email protected]