सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथा:
एउटा रमाइलो गाउँ थियो। चारैतिर हरियाली भएको त्यो गाउँको नाम कुस्मा थियो। गाउँको बीचमा एउटा स्कुल र बगैंचा पनि थियो। बगैंचामा सुगा, मैना, जुरेली र अरू चरा रमाई-रमाई खेल्थे।
बगैंचा नजिकै एउटा राम्रो र चिटिक्क परेको घर थियो। घरमा एउटा केटा र उसकी बुढी आमा बस्थे। केटाको नाम चुलबुल थियो। ऊ एकछिन पनि घरमा बस्दैनथ्यो। आमाले भनेको पनि केही मान्दैनथ्यो। सधैं बगैंचामा गएर चराका अण्डा बटुल्ने गर्थ्यो। आफ्ना गुँडका अण्डा सधैं हराएपछि चराहरू धेरै दु:खी थिएँ।
एकदिन उसले चराका अन्डा चोरेर घरतिर आउँदै थियो। उसले यताउता नहेरी दगुर्दै बाटो काट्न थाल्यो। त्यही बेला एउटा बस हुइकिँएर आयो र चुलबुललाई झन्डैले हान्यो। बसले एक्कासि ब्रेक लगाएर मात्रै उसलाई केही भएन।
लकडाउनका बेला पनि थपक्क घरमा नबस्दा उसकी आमा दिक्क हुनुभएको थियो। उसका गोजीभरी अण्डा देखेर आमाले उसलाई अण्डा नल्याऊ भनी सम्झाउनु भयो। उसले आमाका कुरा सुन्दै नसुनी साथीहरू बोलाएर खोलामा पौडी खेल्न गयो। उसका गोजीमा ३ वटा अन्डा पनि थिए।
पौडी खेल्दाखेल्दै अचानक बाढी आयो। बाढीले ती केटाहरू सबैलाई बगाएर लैजान थाल्यो। एउटा बुढा मान्छेले ती केटाहरूलाई बगाएर लैजान थालेको देख्नुभयो। उहाँले खोलाको वरिपरि रहेका अरूलाई खबर गर्नुभयो। सबै मिलेर केटाहरूलाई खोलाबाहिर निकाल्नुभयो र हस्पिटल लैजानुभयो। पछि सबैजनाका आमाबुवा आत्तिँदै हस्पिटल आउनुभयो। आफ्ना छोराहरूको ज्यान बचाइदिनु भएकामा सबैलाई धन्यवाद दिनुभयो।
त्यसैले, हामीले अरूको नोक्सानी हुने केही काम पनि गर्नु हुँदैन। बुबाआमाले भनेको पनि सधैं मान्नुपर्छ। हामी ज्ञानी बन्नुपर्छ है।
मेरो कुरा सकियो र कथा पनि सकियो।
सेतोपाटीमा कथा, कविता पढ्ने साथीहरू, तपाईंहरू पनि पठाउनुस् है। म पनि पढुँला।
(सोनुश्री पौडेल सेन्ट जेभियर्स स्कुल, जावलाखेल ललितपुरमा कक्षा १ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)