सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कथा
एकादेशमा पारस भन्ने एउटा हँसिलो केटा थियो। पारसका बुबा र आमा आर्थिक रुपले असाध्यै विपन्न थिए। तर पारसलाई भने म गरिब छु भन्ने कहिल्यै पनि महशुस भएन।
'खान र लाउन पाइरहेको छु, गरिब त छुइन नि' ऊ यस्तै सोच्थ्यो। पारसको बुबाआमाको एउटा टिनको छाना भएको सानो घर थियो। गाउँघरका केटाकेटीहरू उसको घर देखाएर गरिब भनेर जिस्क्याउँथे।
तर पारस यस्ता कुराहरुलाई हाँसेर उडाइदिन्थ्यो किनकी ऊ जीवनमा सफल हुनुपर्छ भन्नेमा दृढ थियो।
एकदिन पारस आफ्नो घर छेउछाउमा डुल्दै थियो। उसले एउटा ठूलो मैदानमा धेरै केटाकेटीहरु भेला भएर खेलिरहेको देख्यो। ऊ पनि ती केटाकेटीनजिकै गयो र आफू पनि उनीहरूसँगै मिलेर खेल्ने इच्छा देखायो।
तर उनीहरूले 'तिमी गरिब केटा यस्तो क्रिकेट खेल्न सक्दैनौं, यहाँबाट गइहाल' भने।
पारस भने मैदानको छेउतिर बसेर उनीहरूले क्रिकेट खेलेको हेरेर बस्यो। पारसले मनमनै सोच्यो 'यो खेल त म राम्रोसँग खेल्न सक्छु।'
यत्तिकैमा एकजना मानिस पारसको छेउमा आइपुग्यो र पारसको मलिन अनुहार देखेर के भएको भनेर सोध्यो। पारसले आफू क्रिकेट खेल्न इच्छुक भएको र त्यहाका केटाकेटीले उसलाई दुर्व्यवहार गरेको सबै कुरा बतायो।
'यस्तो कुरामा चित्त देखाउनु हुँदैन। आफूमाथि विश्वास गर। बरु तिमी र म खेलौं न त' भनेर भन्यो। पारस असाध्यै खुसी भयो र उसँग त्यही मैदानको एउटा कुनामा क्रिकेट खेल्न थाल्यो।
नभन्दै पारसले राम्रो क्रिकेट खेल्यो।
'दाइ हजुरको नाम के हो' भनेर पारसले त्यो मानिसलाई सोध्यो।
'मेरो नाम अब्राहम हो। तिम्रो चाहिँ?' उसले सोध्यो।
'मेरो नाम पारस हो। मलाई क्रिकेट असाध्यै मन पर्छ। तर यो खेल खेल्न मसँग पैसा छैन' पारसले भन्यो।
अब्राहमले पारसलाई 'तिमी एकदम राम्रो क्रिकेट खेल्न सक्छौ। तिमी मेरो घर आउने गर अनि तिमी र म सधैं खेल्नुपर्छ' भन्यो।
पारस दिनहुँ एक घन्टा हिँडेर अब्राहमको घर जान थाल्यो र अब्राहमसँग क्रिकेट खेल्न थाल्यो। ऊ उसको बाबाआमालाई आफू एकदिन ठूलो मान्छे बन्छु भनेर भन्थ्यो।
अब्राहमको बाबा नेपाली क्रिकेट टोलीको राष्ट्रिय कोच हुनुहँदो रहेछ। पारसको खेल देखेर एकदिन अब्राहमको बाबाले पारसलाई जुनियर क्रिकेट टिममा राखिदिनुभयो। पारस जुनियर क्रिकेट म्याचमा म्यान अफ द म्याच भयो। यसरी हरेक क्रिकेट खेलमा पारस सधैं प्रथम बन्यो। एकदिन पारस राष्ट्रिय क्रिकेट टोलीमा छनौट भयो। राष्ट्रिय क्रकेट म्याचमा पनि ऊ प्रथम भयो। यसरी ऊ एक सफल क्रिकेटर बन्न सक्यो।
आफ्नो उद्देश्यमा कुनै कुराको पर्वाह नगरी लगातार परिश्रम गरेकोले यसरी पारस सफल हुन सक्यो। त्यसैले, सफल हुनका लागि आफ्नो उद्देश्यमा दत्तचित्त भएर सधैं परिश्रम गर्नुपर्छ र आफू गरिब हुँदैमा आफ्नो सफलता रोकिँदैन।
(रिजुल ओझा अक्षरा स्कुल, काँडाघारीमा कक्षा ७मा अध्ययनरत छन्)