सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कथा
शुक्रबारको दिन थियो, म र बाबा आकाशका तारा गन्न भनेर घरको छतमा गयौं। मैले गन्ने र बाबाले गनेको लेख्ने कुरा थियो। एउटा चन्द्रमा र ३०/४० ओटा ताराहरू गन्दा गन्दै के के भयो, गन्नै सकिनँ। कति धेरै तारा हुने रहेछन्। बाबाले 'नौ लाख तारा हुन्छन्' भन्नुहुन्थ्यो।
मलाई ती ताराहरू भएको ठाउँमा जान मन थियो। मोटु, पत्लु, डाक्टर झड्का, चिङ्गम सर जस्तै उडेर।
मैले बाबालाई सोधेँ, 'आकाशमा कसरी उड्न सकिन्छ बाबा ?'
'उड्ने चिप्स निधारमा लाएर।'
'कहाँ पाइन्छ त्यो ?'
'डाक्टर झड्काले बनाउँछन् होला।'
'तर डाक्टर झड्का त कार्टुनमा मात्रै त हो। मलाई साँच्चै उड्न मन छ।'
'मान्छे एक्लै उड्ने त टिभीमा मात्रै हो, साँच्चिकैमा उड्ने भए त प्लेन, कि त हेलिकप्टर चढेर उड्न सकिन्छ।'
तै पनि मलाई उड्न मन थियो, 'भन्नुस् न बाबा कसरी आकाशमा उड्ने?'
त्यसपछि बाबाले भन्नुभयो, 'चन्द्रमामा जाने हो भने चाहिँ मसँग एउटा आइडिया छ।'
'के आइडिया, भन्नुस् न ?'
'हाम्रो कोठाको दराजमा एउटा सेतो ढुंगा छ नि, त्यो चन्द्रमाबाट मर्स्याङ्ग्दी नदीमा खसेको हो, त्यसैले त्यो चन्द्रमा जस्तै चम्किलो छ। त्यो ढुंगाले सुत्नुअघि निधारमा आधा गोलो बनायो भने, सपनामा भएपनि चन्द्रमामा घुम्न जान सकिन्छ।'
त्यो ढुंगा बाबा ममी लमजुङको घलेगाउँ घुम्न जाँदा बाटोमा पर्ने मर्स्याङ्ग्दी नदीबाट ल्याउनु भएको थियो।
मलाई सपनामा भएपनि चन्द्रमामा जान मन लागेको थियो। त्यत्तिकैमा हामी छतबाट कोठामा फर्कियौँ।
खाना खाइ सकेर सुत्ने बेला भएको थियो। म छिट्टै सुत्न र निदाउन चाहन्थेँ। सपनामा रातभर चन्द्रमामा घुम्न रहर लागेको थियो। अरु 'प्लानेट' मा नि जान पाइन्छ होला।
सुत्ने बेला बाबाले मेरो निधारमा त्यो चम्किलो ढुंगाले आधा गोलो पारि कोरिदिनुभयो। त्यसपछि एकैछिनमा म निदाएछु।
एक्कासी बिहान जागेँ। जाग्दा वित्तिकै बाबाले सोध्नुभयो, 'देख्यौ त सपना ?' मैले भनेँ, 'अहँ देखिनँ।' बाबाले भन्नुभयो, 'आज तिमीलाई भुसुक्क निद्रा परेछ, फेरि कोसिस गरौँला।' शुक्रबारको त्यो रात चन्द्रमामा जान सकिएन।
रकेट नै छैन भने म कसरी चन्द्रमामा जानसक्थेँ र, शनिबार विहानै मलाई त्यस्तो लाग्यो। र, मैले रकेट बनाउने कोशिस गरेँ। युटुबमा कागजको रकेट बनाएको हेरेँ र एउटा राम्रो खेलौना रकेट बनाएँ। मैले सोचेँ, बाबाले ल्याएको त्यो सानो चम्किलो ढुंगाले मेरो खेलौना रकेटलाई छोएमा त्यसले 'इनर्जी' दिनेछ र उसले मलाई आकाशमा घुमाउनेछ।
अर्कोदिन शनिवारको राती सुत्ने बेलामा बाबाले त्यो चम्किलो ढुंगाले निदारमा कोरिदिनुभयो र मैले त्यो ढुंगालाई खेलौना रकेटभित्र घुसारेर मेरो सिरानी नजिकै राखेँ। आकाशमा उड्ने सोच्दा सोच्दै म भुसुक्कै निदाएछु।
शनिबार दिउँसो बनाएको खेलौना रकेटलाई त्यो चम्किलो ढुंगाले राती छोएपछि त्यो एक्कासी ठूलो भयो। साँच्चीकैको जेट रकेट जत्रो।
त्यत्तिकैमा रकेटको विशाल ढोका खोलियो। रोबोटले स्वागत गरे। भित्र पस्ने बित्तिकै एउटा ठूलो माइक र नजिकै कम्प्युटर देखियो। माइकलाई 'अन' गरेर आफू कहाँ जान खोजेको हो त्यो ठाउँको नाम भन्नुपर्नेरहेछ। रोबोटले मलाई यो कुरा सिकाए। मैले माइकबाट सुरुमा चन्द्रमा र त्यसपछि 'कमान्ड प्लानेट' सम्म जाने कुरा कम्प्युटरलाई बताएँ।
मलाई चन्द्रमामा मात्र जान मन थिएन। किनकी चन्द्रमामा मात्रै बस्ने हो भने धेरै सिक्का लिएर जानुपर्थ्यो। खानेकुरा किन्नुपर्थ्यो। धेरै महिना बस्नुपर्ने भएकाले सिक्का सकिए के गर्ने ? यो डर थियो, त्यसैले चन्द्रमाको बाटो हुँदै म 'कमान्ड प्लानेट' तिर जाने मन गरेको हुँ।
मैले एक कार्टुनमा 'कमान्ड प्लानेट' मा चाहिँ सिक्का नचाहिने देखेको थिएँ। 'कमान्ड प्लानेट' चन्द्रमाभन्दा धेरै टाढा भएपनि केही दिन चन्द्रमामा बसेरै जानुपर्ला भनेर सोचेको थिएँ।
रकेट उड्नु अघि कम्प्युटरले पासवर्ड माग्दै भन्यो, 'योर डेट अफ वर्थ, प्लीज।' मैले आफ्नो जन्ममिति २०६९ भनेर दबाएँ, त्यसपछि रकेट एकैछिनमा उड्यो। रकेट यति बेस्सरी उड्यो कि सुरुमा मलाई धेरै रिङ्गटा लाग्यो, बादलमाथि पुगेपछि भने हल्का भयो, रिङ्गटा पनि लागेन।
आकाशको बाटो खुब रमाइलो थियो। ताराहरूले आकाश उज्ज्यालो पारेका थिए। जति माथि गयो उती उज्ज्यालो हुन्थ्यो। रकेटलाई आफ्नो बाटो हिँड्न कुनै समस्या थिएन। पृथ्वीबाट उडेको २ महिनामा हामी चन्द्रमामा पुग्यौँ। त्यहाँ खूब शितल थियो। चन्द्रमाको हिउँबाट बनेको एउटा मान्छेको मूर्ति थियो। नजिकै एउटा कुकुरको मूर्ति पनि थियो।
दुबै मूर्ति नजिकै हाम्रो रकेट बसेको थियो। हामी बसेको ठाउ वरिपरी केही ससाना पहाड र खाडल थिए। चन्द्रमाको जमिनमा उफ्रिँदै हिँड्दा विस्तारै जमिनमा टेकिन्थ्यो। लड्ने डर थिएन। एक हप्ता खूब रमाइलो गरी बसेपछि मेरो रकेट 'कमान्ड प्लानेट' तिर लाग्यो।
चन्द्रमा भन्दा माथि जाँदा धेरै टाढा निकै अँध्यारो ठाउँ देखियो। त्यहाँ कुनै ताराहरू चम्किएका थिएनन्। त्यो अँध्यारो ठाउँ भयंकर ठुलो खाडल जस्तो थियो। वरिपरि केही थिएनन्। दुईओटा ताराहरू त्यो अँध्यारो खाडल वरिपरी घुमिरहेको त देखिन्थ्यो। तर तिनीहरू खासै चम्किला थिएनन्।
त्यो अँध्यारो खाडल रकेटको बाटोभन्दा धेरै टाढा देखिन्थ्यो। मैले रोबोटलाई सोधेर थाहा पाएँ, त्यो ठाउँलाई 'व्ल्याक होल' भनिने रहेछ। त्यसले त नजिक गए सूर्यलाई पनि निल्न सक्छ रे। यदि झुक्किएर 'व्ल्याक होल' तिर रकेट गएमा पृथ्वीमा फर्कने कुनै मौका थिएन।
जब हाम्रो रकेटले धेरै टाढाबाट 'व्ल्याक होल' देख्यो, तब तेज लाइट बाल्दै एकदमै तेज गतिमा उडिरह्यो। टाढैबाट हिँडेको हुनाले 'ब्ल्याक होल' ले रकेटलाई तान्न सकेन।
चन्द्रमाबाट उडेको २ महिनापछि बल्ल 'कमान्ड प्लानेट' मा पुगियो। पृथ्वीबाट उडेको ४ महिना भएको थियो। अब त केही पनि खतरा थिएन। आनन्द थियो। 'कमान्ड प्लानेट' मा जे माग्यो उही पाइन्थ्यो।
मैले सबैभन्दा पहिला एउटा घर मागेँ। एउटा राम्रो र ठूलो घर आयो। सँगसँगै मलाई सहयोग गर्ने ५ जना रोबोटहरू पनि आए। त्यसपछि मैले ज्यादै भोक लागेकाले भान्सा मागेँ।
तीमध्ये एउटा रोबोटले मलाई भान्सा देखायो। भोक लागे आफै पकाएर खाना खान मिल्थ्यो। खानेकुरा मागे पनि रोबोर्टहरूले ल्याइदिन्थे। विभिन्न देशमा बनेका खानेकुरा पनि मगाउन पाइन्थ्यो। ज्यादै थकाइ लागेकाले सुत्ने कोठा पनि मागेँ। रोबोटले सुत्ने कोठामा लगे।
केही दिनपछि त्यहाँ मैले एउटा लाइब्रेरी पनि मागेँ। लाइब्रेरीमा अन्तरिक्ष सम्बन्धी कथाका किताब मगाएर पढेँ। लाइब्रेरीमा एउटा ठूलो दुरविन पनि राखिएको थियो।
त्यो दुरविनबाट अन्तरिक्षमा रहेका विभिन्न आकारका ताराहरू देखेँ। कुनै ताराहरू मिलेर सिंहको जस्तो आकार बनाएको देखिन्थ्यो। कुनैले नेपालको नक्शा जस्तै आकार बनाएका थिए। पृथ्वी चाहिँ निकै टाढा एउटा सानो बल जत्रै गोलो देखिन्थ्यो।
'कमान्ड प्लानेट' मा भारत, चीन, बेलायत, जर्मनी, अमेरिका, मेक्सिको, रसिया, अर्जेन्टिना र ब्राजिलबाट मान्छेहरू घुम्न गएका रहेछन्। तिनीहरूका छोराछोरीहरू पनि आएका रहेछन्। उनीहरू मेरा साथी भए।
हामी सबैले 'कमान्ड प्लानेट' सँग एउटा फुटबल मैदान माग्यौँ र सँगै फुटबल पनि खेल्यौँ। हिउँ माग्यौँ र स्केटिङ्ग खेल्यौँ। हिमाल माग्यौँ र हिमाल चढ्यौँ। समुद्र माग्यौँ र बोटिङ्ग गर्यौँ। खुब रमाइलो भयो।
साथीहरूसँग खेलेपछि साँझपख म मेरो घर फर्किन्थेँ। रोबोटसँग विभिन्न खानेकुरा मगाएर खान्थेँ र सुत्थेँ। विहान उठेर नजिकैको सुन्दर बँगैचामा डुल्थेँ। त्यहाँ थरीथरीका फूलका विरुवाहरू, फलफुल मगाएर लगाएको थिएँ, रोबोटहरू ज्यादै सहयोगी थिए। बँगैचाको काममा सघाएका थिए।
यसैगरी प्लानेटमा बसेको ४ महिना वित्न लाग्यो। हाम्रो यात्रा एक वर्षको लागि मात्र थियो। रकेट त्यो अनुसार बनाइएको थियो। बढी समय बसेमा अक्सिजन पुग्दैनथ्यो। पृथ्वीबाट आउँदा ४ महिना लागेको थियो। फर्किँदा पनि ४ महिना लाग्थ्यो। त्यो प्लानेटमा बस्न मन लागेपनि पृथ्वीबाट हिँडेको ८ महिनापछि म आफ्नो रकेटमा चढेर नेपाल फर्केँ।
मलाई लिन भनेर काठमाडौँ एयरपोर्टमा ममी, बाबा र साथीहरू आएका थिए। मान्छेहरूको बीचबाट खुसी हुँदै ममीले, 'बाबु, बाबु' भनेर बोलाउनुभयो। झसँग जाग्दा त म कोठामै रहेछु। विहानको ५ बजेको रहेछ। ममी बाबाले योगा गर्दै हुनुहुन्थ्यो। त्यो चम्किलो ढुंगा र खेलौना रकेट मेरो सिरानीमै थिए। मैले देखेको त्यो त 'कमान्ड प्लानेट' जाँदाको सपना पो रहेछ।
(असिम पन्थी रिब्स स्कुल काठमाडौँ बलम्बुमा अध्ययनरत छन्)