सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
आत्मीय मित्रहरु,
धेरैधेरै सम्झना अनि माया।
धेरै दिनहरु बिते तर तपाईंहरुसँग भेटेर मनका कुराहरु व्यक्त गर्न पाएको छैन। साथीहरू तपाईंहरुलाई पनि मलाई जस्तै भएको होला।
गत सालको चैत्र ५ गते देखि तपाईंहरुसँग सँगै भएर खेल्न, पढ्न, लेख्न, मनका कुराहरु एकआपसमा साटासाट गर्न पाएको छैन।
हामीहरुले टिफिन टाइममा हाम्रो खाजा बाँडेर खाएको, एकआपसमा अँगालो हालेर हिँडेको, सबैजना गोलो घेरा बनाएर छेउका साथीहरुले गीत गाएको र मैले पसिना आउँदासम्म नाचेको पनि आज ठयाक्कै छ महिना भएछ।
मित्रहरु, मलाई त अब हाम्रो स्कूल खुलोस् जस्तो लागिरहेको छ। तपाईंहरुलाई पनि मलाई जस्तै भएको होला नि होइन? स्कुल खुले पनि पहिला जस्तै सँगै बस्न, अँगालो मारेर हिँड्न, तपाईंको र मेरो हात माथि पुर्याएर 'चस' गर्न र हात मिलाएर हिँड्न त नपाइएला।
तर तपाईंहरु र म राम्रो सग दुई मिटरको दुरीमा बसेर त हाम्रो मनको कुरा गर्न सकिन्थ्यो नि। बेलाबेला धारामा गएर सामाजिक दुरी कायम गरी हात मिचिमिची बीस सेकेण्डभन्दा धेरै बेर लगाएर हात धुँदै गफ दिन त हामीलाई कसले रोक्न सक्थ्यो र?
अन्त्यमा साथीहरु, कोभिड १९ बाट बच्ने उपायहरु र सबै नियमहरु अपनाएर अबत हाम्रो स्कुल खुलोस जस्तो मलाई त भएको छ। तपाईंहरुलाई नि?
तपाईंहरुलाई पनि मलाई जस्तै भएमा मैले जस्तै तपाईंहरुले पनि मलाई सम्झेर चिठी लेख्न नबिर्सिनु है।
उही तपाईंहरुको माया गर्ने साथी,
हिमेश थापा
(हिमेश थापा लिटल फ्लावर स्कूल,नारायणगढमा कक्षा ४मा अध्ययनरत छन्)