सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
एकदेशमा एउटा टन्टलापुर नामको गाउँ थियो। त्यो गाउँमा शिक्षा, स्वास्थ्य, पानी, बिजुली, यातायात जस्ता कुनै पनि विकासका पूर्वाधारको केही अत्तोपत्तो थिएन।
त्यस गाउँमा एउटा निम्न वर्गीय राजुको परिवार पनि बस्थ्यो। राजुकी श्रीमतीको नाम रमा थियो। उनीहरू अति विपन्न परिवारका थिए। उनीहरूको आयआर्जनको कुनै स्रोत थिएन। दिनभरि निमेक गरेर दुई छाक टर्थ्यो।
उनीहरूका दुई सन्तान, एक छोरा र एक छोरी थिए। छोराको नाम सविन र छोरीको नाम अञ्जली थियो।
सविन र अञ्जलीलाई पढ्न धेरै मन लाग्थ्यो तर आफ्ना आमाबुबाको आम्दानीको कुनै राम्रो स्रोत थिएन। घरमै बसेर काम गर्ने हुनाले दुबै बच्चाहरूको शिक्षाको लागि खर्च जुटाउने कुनै माध्यम थिएन।
बिहान बेलुकाको दुई छाक टार्नसमेत धौधौ भएको अवस्थामा आफ्ना सन्तानलाई विद्यालय पठाउनु उनीहरूका लागि सपना जस्तै थियो।
एकदिन राजुले रमासँग भन्यो, 'गाउँका सबै केटाकेटी स्कुल गएको देखेर हाम्रा छोराछोरीले पनि स्कुल जान रहर गरेका छन्।'
राजुको कुरा सुनेर रमाले भनिन्, 'हामी कसरी पढाउन सक्छौं र? रहर गरेर मात्र के गर्ने?'
रमाको कुरा सुनेपछि राजुले भने, 'त्यसो भए हामी एउटालाई भए पनि सरकारी विद्यालयमा पठाऔं न त।'
हुन्छ नि त भनेर राजुको कुरामा रमा पनि सहमत भइन्। एउटा सन्तान घरमै बसेर हामीलाई काममा पनि सहयोग होला भन्ने उनीहरूले सोचे।
अब सविन र अञ्जलीमध्ये कसलाई स्कुल पठाउने भनेर सल्लाह गर्न थाले।
रमाले राजुसँग भनिन्, 'हेर्नु, हामीले छोरीलाई स्कुल पठाएर के गर्ने हो र? आखिर छोरी त विवाह गरेपछि अर्काको घर जाने जात हो। फेरि बुढेसकालमा हामीलाई पाल्ने पनि छोरा नै त हो। छोरीलाई पढाएर त काम छैन।'
रमाको कुरा राजुलाई पनि चित्त बुझ्यो। उनी पनि सविनलाई स्कुल पठाउने रअञ्जलीलाई घरको काम गराउने कुरामा सहमत भए।
वैशाखको महिना थियो। विद्यालय भर्नाको समय भएकाले राजु र रमाले सविनलाई टन्टलापुर नाम गरेको विद्यालयमा भर्ना गरिदिए। गाउँका मुखिया बासँग उनको खेतमा काम गरिदिने भनेर पैसा मागेर ल्याए। सविनलाई कापी, किताब र कलम किनिदिए।अर्को दिनदेखि सविन विद्यालय जान थाल्यो।
घरको डिलमा बसेर अञ्जली आफ्नो भाइ विद्यालय गएको हेरिरहन्थी। मनमनै म पनि भाइसँगै विद्यालय जान पाए कति रमाइलो हुन्थ्यो भनेर सोच्थी। राजु र रमालाई म पनि भाइसँगै विद्यालय जान्छु भनेर भन्न पनि सक्दिनथी। आफ्नो घर परिवारको आर्थिक अवस्था उसले बुझेकी थिई। एक्लै बसेर रोइरहन्थी।
एकदिन बिहान राजुको घरमा तीन जना मानिस आए। राजु गोठमा काम गर्दै थियो। रमा भने भान्सामा काम गर्दै थिइन्। अञ्जली घाँस काट्न गएकी थिई। ती तीन जना मानिस अञ्जलीको विवाहका लागि कुरा गर्न आएका थिए। केटा र उसको परिवार उनीहरूलाई चित्त बुझ्यो।
अञ्जलीको विवाह हुने पक्का भयो। आफ्नो विवाहको कुरा सुनेर अञ्जली साह्रै रोई। राजु र रमालाई केही भन्न पनि सकिन। उनीहरूले तोकेको दिनमा विवाह पनि भयो। ऊ रुँदै रुँदै गई।
उमेर सानै भए पनि पराइ घरमा गएर घरका सबै काम गर्न थाली। आफ्नो भाग्यमा नै यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउँथी। समय बित्त्दै गयो। सविनले राम्ररी पढ्दै गयो। पढाइ सकेर जागिर खायो। अब छोराले जागिर खाएपछि राजु र रमाको दैनिकी पनि राम्ररी बित्न थाल्यो। पहिले वास्ता नगर्ने गाउँले पनि राजुका घरमा आउन थाले।
सविनले जागिरबाट बचाएको थोरै थोरै पैसा जम्मा गरेर राख्न थाल्यो। बिस्तारै उसको ध्यान व्यवसायतिर जना थाल्यो। सानै लगानीमा भए पनि उसले व्यवसाय सुरू गर्यो। आमाबुबाको पनि राम्रो हेरचाह गर्थ्यो। पारिवारिक जीवन राम्ररी बित्न थाल्यो।
समयक्रम बित्दै गयो। विवाह गरेर पराइघर गएकी अञ्जलीको जीवन नर्क झैं भयो। अञ्जलीको लोग्नेले बेलुका बेलुका सधैँ जसो रक्सी पिएर आउँथ्यो। माइतीले दाइजो नदिएको कुरा निकाल्थ्यो। अञ्जलीलाई शारीरिक र मानसिक यातना दिन्थ्यो। शरीरभरि निलडाम हुने गरी कुट्थ्यो।
यो कुरा उसले कसैलाई भन्न पनि सक्दिनथी। ऊ आफ्नो भाइलाई सम्झन्थी। आफू र भाइको तुलना गर्थी। एउटै आमाबुबाका सन्तान भएर पनि आफूले पढ्न नपाएकोमा उसलाई अझै दु:ख लाग्थ्यो। आफ्नै भाग्यलाई धिक्कार्थी। आफू छोरी भएर जन्मिनु नै अभिशाप भनेर सम्झन्थी।
समाज र परिवारले छोरा र छोरीप्रति गरेको भेदभाव सम्झन्थी। आफ्नो भाइले जस्तै अवसर पाएको भए आफू पनि आफ्नै खुट्टामा उभिन सक्ने भए आजको जस्तो नारकीय जीवन बिताउन बाध्य हुँदैनथी।
(प्रन्जल खतिवडा डियरवाक सिफल स्कुलमा कक्षा १०मा अध्ययनरत छन्)