सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मैले मात्रै होइन सायद प्राय: सबैले, यसपालीको दशैँको छुट्टै अनुभव गरेको हुनुपर्छ। कोरोना भाइरसको डर, मेरो आफ्नो दशैंको उत्साह, घरमा पनि के गर्ने कसो गर्ने ठ्याक्क निर्णय हुन् नसेकोको अवस्थाको बिच घटस्थापना भन्दा एक-दुई दिनअगाडि नै दशैंको लागि मैले मनपराएको लुगाहरु मामुले किनिदिनुभएको थियो। दादाले पनि आफ्नो लागि नयाँ लुगा मामुलाई भनेर किनिसकेको थियो।
बाबा अफिसियल कामले बाहिर जानुभएको थियो। त्यसैले यसपालि पहिलो पटक घरमा दादाले जमरा राखेको थियो। दादालाई जमरा राखेर पुजा गर्न मामुले सिकाउनुभएको थियो। दादाले जमराको पुजा गरे पनि साँझ आरती गर्दा तुलसीको बोटमा धुपबत्ती गर्ने कामको जिम्मा मेरो थियो। त्यसरी तुलसीको बोटमा धुपबत्ती आज पनि गर्ने गरेको छु।
एकदुई दिनमा बाबा पनि घर आइपुग्नुभयो। कोरोना भाइरसको संक्रमणको डरले बाबा घर आउने बित्तिकै नुहाई धुवाई गरेर छुट्टै नै बस्नुभयो। तर दुई-तीन दिन पछि नै हामी सँगै खानबस्न थाल्यौं।
पोहोरपरारको दशैंमा हामी सबै देवीको मन्दिरहरुमा पूजा गर्न जान्थ्यौं। तर यसपालि संक्रमण हुनसक्ने डरले कुनै मन्दिरमा पनि गएनौं। अझ घरबाट बिना काम बाहिर नै निस्केनौं।
म आफूलाई मासु खुब मनपर्ने। मासु भनेपछि अहिले नै भोक लागेजस्तो हुन्छ।
दशैंमा हामीले आवश्यक मासु पसलबाट किनेर ल्याउदै खायौं। यहाँनिर मेरो हजुरबुवा मिस हुनुभयो, जे जस्तो भएपनि गुनगुन महारानीलाई रमाइलो लाग्छ भनेर बुवाले खसी नै ल्याउनुहुन्थ्यो। हामी खसी बाँधेको ठाउँमा जम्मा भएर खसीले खाए पनि नखाए पनि घाँस सागको पात खसीको मुखमा कोच्याउन पुग्थ्यौं।
त्यो देखेर बुवाले तिमीहरुलाई पख, भन्दै गाली गर्नु हुन्थ्यो र हामी हाँस्दै भग्थ्यौ। खुबै रमाइलो हुन्थ्यो। बुवा अचानक स्वर्गीय भएपछि हामीले दशैंमा खसी काट्न नै छोडिदियौं।
दशैंको फूलपातीको दिन मैले फुलपाती बोकेर बाबाले घन्टी र डमरु बजाउँदै हामीले फुलपाती भित्र्याएका थियौं, त्यो दिन पनि खुबै रमाइलो भएको थियो।
दशैंको महाष्टमीको दिन विशेष पूजा बाबाले गर्नुभयो र हामी सबैलाई नवदुर्गा माताको प्रसाद लगाई दिनुभयो। दिउँसो मासु ल्याएर दशैंको स्पेशल कवाब बनायौं। आहा, क्या मिठो कवाब बनेको थियो। खुब खाएँ मैले कवाब। हुन त् पहिलेको दशैंहरुमा पनि खुब मासु खाइन्थ्यो। मामाको घर, आफन्तहरुकहाँ गएर खुब खाइन्थ्यो। तर यसपालिको दशैंमा कोरोनाको डरले कतै गएनौं। घरमा बसेर बिहान खानामा, दिउँसो खाजा, राती खानामा खुब खाइयो कवाब।
महानवमीको दिनमा पनि खुबै रमाइलो भएको थियो। मामाको घरमा हामी सबै जम्मा भएर मोटरसाईकल, स्कुटर र गाडीको पूजा गरेका थियौं। त्यो दिन खुब फोटो खिचेका थियौं, फोटोहरु पनि खुबै दामी आएको थियो।
दशैंको मुख्य दिन, विजया दशमीको दिन, हामीले नवदुर्गा भवानीको प्रसाद, टीका जमरा लगायौं। बाबाले पहिले मामुलाई अनि मामु र बाबाले दादा मलाई नवदुर्गा भवानीको प्रसाद टीका जमरा लगाई दिनुभयो। ओहो, पहिले मैले पो बाबालाई नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाई दिएकी थिएँ, घरमा ठूलो मान्छे कोही नभएकोले। अनि बाबाले मामु हामीलाई।
पहिले पहिलेको दशैंको टीकाको दिन हामीलाई भ्याइनभ्याई हुन्थ्यो। घरमा, मुख्य घरमा, मामाको घरमा, बनेपा, साँखुसम्म टीका लगाउन जानु पर्थ्यो र त्यसरी टीका लगाउन जाँदाको रमाइलो आहा, खै कसरी बयान गरौं। तर यसपालि, कोरोनाको डरले आफ्नो घर र नजिकैको मामाको घरमा मात्रै टीका लगाएर हामीले दशैं सक्यौं र अरु ठाउँ कतै गएनौं।
यसपालि पहिलो पटक हामीले आफनै घरमा बसेर परिवार भित्र मात्रै खुब रमाइलोसँग दशैँ मनायौं। नत्र पूर्णेको दिनसम्म पनि एकदिन घर बस्न पाइँदैन थियो। कहिले कता कहिले कहाँ टीका लगाउन हिँडिरहेका हुन्थ्यौं। त्यसैले कोरोना भाइरसलाई त धन्यवाद दिनै पर्छ।
(सम्राज्ञी खत्री भ्यालि भ्यु स्कूलमा कक्षा ७मा अध्ययनरत छिन)