सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
हर्षित भई भविष्यतर्फ उन्मुख भइरहेको मन थरथर काप्यो
जब सुने म जस्ता हजारौं दौतरीलाई कोरोनाले च्याप्यो
अनुपम उपहार यो जीवन लाखौंको खायो
सुमधुर चलिरहेको यो संसारमा कस्तो विपत्ति छायो
मूल्यवान जीवनको मूल्य बुझ्दैछु झन् भन्दा झन्
प्रतिभा जस्ता प्रतिभाशाली दौतरी गुम्दा विचलित छ मन
लाखौं अस्पतालमा सासको आसमा छट्पटिरहेछन्
साहसी हुन खोज्छु तर यही भयावह स्थितिमा रूमलिरहेछ तन
पुस्तकका पानाहरू पल्टाउँदै गर्दा कति पनि ध्यान जाँदैन
सोची टोलाउँछु कतै यो बहुमूल्य जीवन कोरोनाले त खाँदैन
भविष्यको सपना सजाइ चित्र सुन्दर कोरी छ रंगाई रमाउने रहर
उषासँगको खुसी लुटी निशासँग रमाउ भन्न आयो कोरोना कहर
कोरोनाको चरित्रबारे कापीमा कलमले उल्लेख गर्न त मन थिएन
फर्की आयो हामीमा फेरी उमंगको सासनै फेर्न दिएन
(आँचल अधिकारी लिभरपूल माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत छिन्।)