सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मिति २०७७ माघ १७ गते शनिवार। म, मेरी बहिनी र मम्मा चन्द्रागिरी जाने कुरा भयो।
कोभिड १९ को कारण एक वर्षदेखि घरबाहिर जान नपाएकाले म भित्रभित्रै निकै खुसी थिएँ। खुसीले गर्दा घरमा खाना खान पनि मन लागेन।
मेरो मनमा चन्द्रागिरीको कल्पना मात्रै डुलेका थिए। चन्द्रागिरी जाने, होटलमा बास बस्ने, टिकटक बनाउने र खुब खेल्ने मात्र सम्झिएको थिएँ।
खाना नखाइदिएकोमा मम्मा मसँग एकछिन हल्का रिसाउनु नि भयो। उहाँले बहिनीलाई खाना खुवाउन थाल्नुभयो। तर बहिनीले पनि खुसीले खाना खानै मानिन। आफूले पनि थोरै खानु भयो र चन्द्रागिरी जान हामी कपडा लागाएर तयार भयौँ।
मम्माले पठाओ एपबाट फोन गरी टयाक्सी बोलाउनु भएको रहेछ। हामी बुद्धनगरबाट टयाक्सीमा चन्द्रागिरी केवलकार स्टेसनसम्मै जाने भयौँ। यति दुरीसम्मको शुल्क ६३३ रुपैंया लाग्ने रहेछ।
टयाक्सीमा बसेर म, बहिनी र मम्मा चन्द्रागिरी लाग्यौँ। चढेको २२ मिनेटमै हामी चन्द्रागिरी केवलकारको स्टेसन पुग्यौँ।
बाबा भने शुक्रबारै चन्द्रागिरी जानु भएको थियो। उहाँले केवलकारको टिकट काटेर पठाइ दिनुभएको रहेछ। टिकट लिएर हामी केवलकार चढ्यौँ।
बहिनी केवलकारमा डराउँछिन् होला भन्ने लागेको थियो तर उनी केवलकार चढ्न पाउँदा असाध्यै खुसी भइन्। केवलकार भित्रै टिकटक पनि बनायौँ । आठ मिनेट केवलकारमा बसेपछि माथि पुग्यौं।
हामीलाई लिन चन्द्रागिरी होटलको गाडी आइसकेको रहेछ। त्यहाँबाट हामी गाडीमा बसेर २ किलोमिटर तल चन्द्रागिरी होटल गयौँ हामीलाई लिन बाबा होटलको रिसेम्प्सनमा आउनु भएको थियो।
बाबाले हामी बस्नको लागि चन्द्रागिरी होटलको कोठा नं २२६ बुकिङ्ग गर्नुभएको रहेछ। हामी सबैजना सोही कोठा खोज्दै गयौँ। कोठाको ढोका कार्डबाट खुलेको देखेर म त हेरेको हेर्यै भए।
कोठा भित्रका समानहरू देखेर म त झन् अचम्मै परेँ किनकी म यस्तो होटलमा बास बस्नेगरी कहिल्यै गएको थिएन। कोठाभित्र धेरै भगवानका चित्र थिए। एउटा ठूलो दराज, टेबल, ऐना, सोफा, लकर, आइरन, आइरन स्टयाण्ड र नरम बेड पनि थियो।
नरम बेड देख्नासाथ बहिनी र म एकछिन त्यसमा लडिबडी गर्न पुगिहाल्यौँ। बाहिर कौसीबाट केवलकार हिँडेको र हिँउ परेका पहाडहरू स्पष्ट देखिने रहेछ। हामी सबैले रमाइलो मानी हेर्यौ पनि।
होटल बाहिर कति राम्रो बगैंचा पनि रहेछ। त्यहाँ खेल्नका लागि ब्याडमिन्टन कोर्ट, क्यारेम्बोर्ड, आर्चरी (धनुषबाण), टेबल टेनिस, सुइमिङ पुल पनि रहेछ। म भने धेरैजसो समय आर्चरी खेल्दै बसेँ। सुइमिङ पुल टाडाबाट हेर्दा त समुन्द्रजस्तो देखियो। हामीले वरिपरि सबैतिर घुमेर टन्न फोटो खिच्यौँ र धेरै टिकटक पनि बनायौँ।
साझ भने धेरै चिसो हुने रहेछ चन्द्रागिरीमा। त्यसैले हामी छिटो-छिटो खाना खाएर कोठामा फर्कियौँ। पुनः कार्डबाट ढोका खोलेर भित्र गयौँ। कार्डबाटै होटलको कोठाको बत्ती बल्ने र निभ्ने रहेछ। दिनभर डुलेका भएर खुट्टा पनि हल्का दुःखेको थियो। थकाई मार्न मज्जाले सुत्न खोजेको त नरम बेडमा निदाउनै सकिएन।
राति अबेरसम्म सबैजना छट्पटाएर बस्यौँ। कतिबेला निदायौँ थाहै पाएनौँ। अर्को बिहान बाबा, मम्मा र अंकल-आन्टीहरू माथि मन्दिर जानुभएछ। बहिनी र म सुतिरह्यौं।
९ बजे बल्ल ब्रेकफास्ट खान होटलको डाइनिङ रूम गयौँ। कति मीठो मीठो खाने कुराहरू रहेछन् होटलमा। मैले अरेन्ज जुस, अण्डा-ब्रेड र चिकेन ससेज खाएँ। ब्रेकफास्ट खाएर हामी हेलीप्याडमा फोटो खिच्न गयौँ। थुप्रै फोटो खिचेर फेरि रूम आयौँ।
हाम्राे होटल चेक आउट गर्ने समय हुँदै थियो क्यारे। मम्माले ब्यागमा कपडा मिलाएर राख्न सुरू गर्नुभयो।
बहिनी र म एकछिन अझै बेडमा लडिबडी गरिरहयौं। साढे एघारतिर खान खाइवरी हामी परिवारजन गाडी चढेर केवलकारको माथिल्लो स्टेसन गयौं। त्यहाँबाट फेरी केवलकार चढ्दै घर जाने गाडी भएसम्म पुग्यौँ।
यसरी मेरो चन्द्रागिरीको रमणिय यात्रा सकियो ।
(संयोग घिमिरे सेन्ट जेभियर्स स्कुल, जाउलाखेलमा कक्षा ४ मा अध्ययनरत छन्।)