सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
कस्तो दिनमा जन्म भयो कस्तो हुन्छ मरण?
जे जे गर्छौ हे भागवान परे तिम्रै सरण
कति थिए साथी सँगी सबै तोड्नु पर्छ
कमाएका धन सम्पत्ति सबै छोड्नुपर्छ।
सानो भनेर हेप्ने चलन हामी सबले छोडौं
भाइचाराको सिद्धान्तले मानव मनलाई जोडौँ
बाँच्न पाउने अधिकारलाई कुन्ठित पार्न हुन्न
सडक बालालिकालाई त्यसै छाड्न हुन्न।
खराब काम गर्नेलाई शिक्षा दिनुपर्छ
कुलतमा लागेकालाई सुधार गर्नुपर्छ
अपाङ्गलाई हेला हैन माया दिनु राम्रो
समाजसेवा गर्न नै कर्तव्य हो हाम्रो।
दुई दिनको जिन्दगीमा गर्नुपर्छ सेवा
दिनदु:खीको सेवा गरे पुग्छ देशलाई टेवा
अन्यायका विरूद्धमा आवाज उठाई बढ्न
समाजसेवी काम गरी आफ्नो नाम राख्न।
फूल राम्रो लालीगुराँस, चरी डाँफे मुनाल
कति सुन्दर हाम्रो देश सुनौला ती हिमाल
सँगै बाचौं, सँगै गरौ भन्ने मेरो मर्म
समाजसेवा गर्न नै हो धेरै ठूलो धर्म।
गार्हो काम नी सबै मिले लगाइन्छ पार
राम्रो काम गर्नलाई मान्नु हुन्न डर
कुराभन्दा बढी हामी काम गर्नुपर्छ
समाजसेवा गरी हामी अघि बढ्नुपर्छ।
(जेनिश खनाल तरूण माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्।)