सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
गएको जाडो बिदामा म, मेरो बाबा र मामु मिलेर चितवन घुम्न जाने योजना बनायौँ। भोलिपल्ट घरबाट निस्कियौँ। कलङ्कीबाट माइक्रोबस चढेर चितवनको लागि प्रस्थान पनि गर्यौ। नागबेली बाटो, हरियाली फाँटहरूको दृश्य हेर्दै मलेखु पुगेपछि खाजा खायौँ।
फेरि हाम्रो यात्रा अगाडी बढ्यो। कुरिन्टार पुग्नै लाग्दा केही समय गाडी रोकियो। बाटो बनाउनका लागि गाडी रोकिएको रहेछ भन्ने कुरा मलाई मामूले भन्नुभयो। बन्द खुलेपछि साँझ चितवन पुग्यौँ।
मेरो मामाघर पनि चितवन नै हो। मामाघरमा हामीलाई मामामाइजू र सानी बहिनीले पर्खिरहेका थिए। केहीबेर कुराकानी गरिसकेपछि हामी सबैजनाले खाना पनि खायौँ।
भोलिपल्ट हामी फनपार्क घुम्न गयौँ। बहिनी पनि हामीसँगै थिइन्। त्यहाँ हामी खेल्यौ, रमायौँ। भोक पनि लागेको थियो। नारायणघाटमा प्रख्यात मानिएको भेटघाटको तास खायौँ। त्यसपछि नारायणी नदीमा मोटरबोट चढ्यौँ। ओहो! नारायणी नदी त ठूलो पो रहेछ। त्यहाँ म निकै रमाएँ। साँझ पनि परिसकेको थियो। हामी घर फर्कियौँ।
अर्को दिन हामी सौरहा घुम्न गयौँ। म निकै उत्साहित थिएँ किनकि सौरहा मेरो पहिलो भ्रमण थियो। त्यहाँ हामीले निकुञ्जभित्र जंगल सफारी पनि गर्यौँ। जंगलमा हात्ती, गैँडा, जरायो, मृग, गोही, मयुर, बकुल्ला पनि देख्यौँ। यसरी नजिकैबाट मैले कहिल्यै पनि जनावर हेर्न पाएको थिइनँ।
फेरि अर्को दिन हामी नवलपरासीस्थित शाश्वतधाम मन्दिर घुम्न गयौँ। मन्दिर निकै कलात्मक पो रहेछ। मन्दिरभित्र हरियाली वातावरण, संग्रहालय र विभिन्न भगवानका कलात्मक मूर्ति साँच्चै हेर्नलायक पो रहेछन्। फर्कने बेला हामीले त्यही नजिकैको चमेनागृहका खाजा पनि खायौँ। साँझ पाँच बजे हामी मामाघर चितवन नै फर्कियौँ।
यसरी चार दिन विभिन्न ठाउँ भ्रमण गरिसकेपछि म, बाबा र मामूसँग काठमाडौँ फर्केँ।
(प्रत्युष लोहनी डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)