सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला।
इमेल: [email protected]
एकांकी:
(चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस विश्वभर फैलिरहेको छ। नेपालमा पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेहरूको संख्या बढ्दो छ। यसरी कोरोनाले कहिलेसम्म सताउँछ भन्न सक्ने अवस्था छैन। सरकारले यसको नियन्त्रणका लागि विभिन्न चरणमा लकडाउन र निषेधाज्ञा जारी गरेको छ। नेपालमा कोरोनाको पहिलो लहरको कहर कम भएपछि केही समयका लागि विद्यालय खुलेको थियो। रानी, परी र मैरा विद्यार्थी हुन्। यी तीनै जना मिल्ने साथी हुन्। एक दिन उनीहरू घरबाट स्कुल जाने समय बसमा कोरोनासम्बन्धी कुराकानी गर्छन्।)
परी: रानी, तिमीले मास्क किन नलगाएको? अनि सेनिटाइजर किन नल्याएको?
रानी: मैले मास्क लगाउनै पर्छ र? सेनिटाइजर पनि?
मैरा: तिमीलाई यत्ति पनि थाहा छैन? यदि हामीहरूले मास्क र सेनिटाइजरको प्रयोग गरेनौं भने हामीलाई पनि यो डरलाग्दो भाइरस लाग्न सक्छ। बढी भीडभाड हुने स्थानमा विशेष सावधानी अपनाउनुपर्छ। विद्यालयमा पनि यसको जोखिम बढी नै हुने भएकाले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्छ। अँ अनि एक अर्का बीचको दूरी पनि कायम गर्नुपर्छ।
रानी: यो कस्तो प्रकारको भाइरस हो र?
मैरा: लौ! तिमीलाई यो भाइरस कस्तो प्रकारको हो भन्ने पनि थाहा छैन? यो भाइरसको नाम कोरोना (कोभिड-१९) हो। यसले विश्वभरका मानिसहरूलाई अतिनै दुःख दिइरहेको छ। लाखौंको ज्यान लिइसकेको छ।
रानी: हो र! मलाई त कोरोनाले यतिका मान्छेको ज्यान लिएको थाहै थिएन। तर हामीले चाहिं यो भाइरसबाट बच्न के गर्नुपर्छ?
मैरा: मैले अघि नै भनेनि। कोरोनाबाट सुरक्षित हुन हामीले बाहिर निस्कदा अनिवार्य रूपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्छ।
रानी: तर यो भाइरसले आक्रमण गर्यो भनेर हामीहरूले कसरी थाहा पाउने?
परी: यदि कसैलाई कोरोना लाग्यो भने खोकी, ज्वरो, बान्ता, कमजोरी र सास फेर्न अप्ठेरो हुन्छ।
मैरा: हो। यदि यी लक्षण हामीमा पनि देखियो भने कोरोनाको जाँच गर्नुपर्छ अनि यदि पोजेटिभ आयो। घरपरिवारसँग एउटै कोठामा बस्नुहुँदैन। सकेसम्म एउटै वाथरूम पनि प्रयोग गर्नु हुँदैन। सरसफाइमा विशेष ध्यान दिनुपर्छ। डाक्टरको सल्लाह लिनुपर्छ। यदि गाह्रो महसुस भए तत्कालै अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्छ।
रानी: ए हो र? अनि हामीले कोरोनाबाट बच्न कस्ता-कस्ता खानेकुरा खानुपर्छ त?
परी: हामीले प्रशस्त मात्रामा गेडागुडी, हरियो साग-सब्जी, फलफूल जस्ता ताजा र पोषिला अनि झोलिला खाने कुरा खानुपर्छ। बेला बेला मनतातो पानी प्रशस्तै पिउनुपर्छ।
रानी: हो र? मलाई त कोरोनाबाट सुरक्षित रहनका लागि यति धेरै सावधानी अपनाउनुपर्छ भन्ने थाहै थिएन। अबदेखि म सँधै कोरोनाबाट विशेष सजग रहन्छु। भीडभाडमा जान्न। यदि जरूरी काम परेर जानैपर्ने भए मास्क र सेनिटाइजर प्रयोग गर्छु। ताजा र तागतिला खानेकुरा प्रशस्तै खान्छु।
(यतिकैमा बस विद्यालयको गेटबाट भित्र छिर्छ र रोकिन्छ। सबै विद्यार्थीहरू बसबाट ओर्लिएर आ-आफ्ना कक्षातर्फ लाग्छन्। रानी, परी र मैरा पनि आफ्नो कक्षातिर लाग्छन्।)
(आरूषी सापकाेटा बानेश्वरस्थित पाठशाला नेपाल फाउण्डेसनको कक्षा ५ मा अध्ययनरत छिन्।)