सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कुनै पनि प्राणीको जीवनमा पानीले निकै महत्वपूर्ण भूमिका खेल्छ। पानीमा न त रंग हुन्छ न त स्वाद नै। तर पनि पानी नभई प्राणीको जीवन चल्दैन।
पानीको रसायनिक सुत्र एचटुओ (H2O) हो। वर्षा र कुहिरो पनि पानीले नै बन्छन्। पानीको छरिएका कणहरूले बादल बन्ने हो। ठोस रूप भने बरफ हो। यसको स-साना कणले हिउँ बनेको हुन्छ।
पृथ्वीको करिब ७१ प्रतिशत भाग पानीले भरिएको छ। मुख्यतयाः पृथ्वीमा पानी झरना, बर्सात, ताल, नदी आदिको रूपमा पाइन्छ। पानीको विभिन्न स्रोतहरू छन्।
मानव शरीर पनि ६० प्रतिशत पानीले बनेको हुन्छ। पानी विभिन्न ठाउँमा विभिन्न अवस्थामा पाइन्छ। खोला, नदी, महासागर र समुद्रमा पानी तरल अवस्थामा हुन्छ। त्यस्तै बाफ र बरफको रूपमा पनि पाइन्छ।
पृथ्वीमा पानीको चक्र नै छ। सुरूमा पानी वर्षाको रूपमा पृथ्वीमा झर्छ। अनि झरना, नदी, सागरको रूपमा यो पृथ्वीको सतहमा बस्छ। सतहमा रहेको पानीलाई सूर्यको प्रकाशले तान्छ। पानी अब बाफ बन्छ। बाफको रूपमा यो आकासमा जान्छ। बाफ जम्मा भएपछि बादल बन्छ। बादल भारी भएपछि पानीका थोपा बनेर यो बर्षातको रूपमा पृथ्वीमा नै फेरि झर्छ। यो प्रकियालाई जल चक्र भनिन्छ।
सबै प्राणीलाई पानी आवश्यक छ। हामीले आफ्नो शरीरको आवश्यकताअनुसार पानी पिउने बानी बसाल्नुपर्छ। खाना पकाउन, लुगा धुन, सर-सफाइ गर्न, बोट-विरूवा हुर्क्याउनदेखि जनावरहरूलाई समेत पानी चाहिन्छ। बिजुली उत्पादन गर्न, सिंचाई गर्नमा पनि पानीको प्रयोग हुन्छ। त्यस्तै, आगो निभाउन पनि धेरै मात्रामा पानी चाहिन्छ। पानी जल यातायातको लागि पनि आवश्यक पर्छ। भनेपछि पानी हाम्रो घरेलु, कृषिजन्य कामदेखि औद्योगिक क्षेत्रमा पनि आवश्यक छ।
अहिले पृथ्वीमा मानिसको जनसंख्या बढिरहेको छ भने प्राकृतिक स्रोतहरू कम हुँदैछ। पानीको हकमा पनि यो लागु हुन्छ। नेपाललाई नै उदाहरणमा लिएर हेरौं: नेपाल जलस्रोतको दोस्रो ठूलो देश हो। तर कतिपय ठाउँमा अझैं पनि पानीको हाहाकार मचिरहेको छ। यसको पहिलो कारण भनेको पानीको राम्रो सदुपयोग नगरेर हो। हामीले पानीको स्रोतहरूलाई प्रदूषित पारिरहेका छौं।
यी र यस्ता कुरालाई हामी सबैले मनन गर्दै पानीको उचित प्रयोग र पानीका स्रोतहरूको संरक्षण गर्नुपर्छ। यसका लागि वृक्षारोपन गर्ने, वर्षाको पानीको प्रयोग गरेर सिंचाई गर्ने, जतिसक्दो पानीलाई राम्ररी प्रयोग गर्ने गर्नुपर्छ। नभए पानीको अभाव झन् बढ्छ। र, यसले हामीलाई नै गार्ह्रो हुन्छ।
हामीले भविष्यको लागि पानीको संरक्षण गर्नुपर्छ।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ८ मा अध्ययनरत छिन्।)