सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
२०७७ को चैत्र ११ मा पूर्ण लकडाउन भएको एक वर्षपछि फेरि उही कुरा दोहोरियो। नाम भने फरक आयो निषेधाज्ञा।
अघिल्लो सालझैं सबै स्कुलहरू पनि बन्द भए। दिनहरू स्कुल चलेको जस्तो रमाइलो छैनन्। मन जति सबै साथीहरूसँग खेलेको, चौरमा कुदेको, कक्षामा खाली पिरियडमा साथीहरूसँग गफमा मस्त भएको र सरहरूले कक्षामा पढाउँदा सुनाएको कथा, कविता र गीतहरूमा मात्र अडिएको छ।
चैतदेखि विभिन्न ठाउँमा निशेधाज्ञा जारी भयो। काठमाडौंमा पनि वैशाख मध्यतिरबाट निषेधाज्ञा जारी भयो। यही समय हाम्रो विद्यालयमा भने पुनः अनलाइन कक्षा सुरू भयो। जसले मलाई फेरी गत सालको अनलाइन कक्षाको याद दिलायो। फेरि गत साल कै अवस्था यो साल पनि दोहोरिएको मलाई महसुस भयो। अवस्था पहिलेझैं थियो। अनलाइन कक्षा मै पढाइ गर्यौं। तर फरक भनेको मेरो पाठका शिर्षकहरू र शिक्षकहरू मात्रै।
गत वर्ष अनलाइन कक्षा भएको केही समयपछि अनलाइनमार्फत नै परीक्षा पनि संचालन भयो। मेरा धेरैजसो साथीहरू कक्षा बढ्ने भयो भन्ने कुरामा खुसी थिए। म पनि त्यही कुरा सोच्दै खुसी भएँ।
परीक्षाको डरभन्दा पनि कक्षा बढ्ने खुसी प्रायः हरेक साल हुन्छ। गत साल पनि त्यस्तै भयो। परीक्षा राम्रो गरेँ।
अब मलाई नयाँ कक्षाको पढाई, नयाँ किताब, नयाँ साथीहरू अनि नयाँ स्कुल ड्रेसमा कक्षामा नै पढ्ने मन थियो। त्यो पाइने भयो भन्नेमा खुसी थिएँ। तर खुसी छोटो समय मात्रै टिक्यो। कक्षाहरू सबै फेरी अनलाइन नै हुन थाले।
स्कुलको सम्झना र भौतिक रूपमा पढाइ होओस् भन्ने त हुन्छ। तर कक्षा ४ सकेर कक्षा ५ को विद्यार्थी हुँ भन्न पाउँदा म खुसी छु।
(हिमेश थापा लिटल फ्लोवर स्कुल, नारायणगढमा कक्षा ५ मा अध्ययनरत छन्।)