सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कहिलेकाहीँ टोलाउँदै म आफैँसँग प्रश्न गर्छु, ‘हामीलाई तड्पाइरहेको खतरनाक जीवाणु कोरोना भाइरसको अन्त्य कहिले होला?'
उत्तरमा अनेक खालका सोचविचारहरू तरंगित हुँदै आफ्नै मनभित्र सल्बलाउन पुग्छन्। विगत डेढ वर्षअघि चीनको वुहानमा देखिएको यो भाइरसले विश्वभर फैलिएर हाम्रो दैनिक जनजीवनलाई तहसनहस बनाइ दियो।
हामीले निर्वाध रूपमा आफ्ना कामहरूलाई अगाडि बढाउन सकिरहेका छैनौँ। करोडौं व्यक्ति रोगले संक्रमण भइसकेको एवम् सोबाट लाखौं व्यक्तिले आफ्ना देहलिला समाप्त गरेको अवस्था हामी बीच ताजै छ।
तपाईं हामी बीच दैनिक रूपमा गरिने क्रियाकलापहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। पर्यटन उद्योग, व्यपार-व्यवसाय एवम् शैक्षिक गतिविधिहरूले पूर्ण रूपमा बाटो समाउन नसकी अन्यौलग्रस्त अवस्थामा हिँडिरहेको देखिन्छ।
विश्वले आर्थिक संकटको सामना गरिरहेको छ। हामीले यसलाई परास्त गर्ने औषधि भने हालका दिनहरूमा निर्माण गर्न सफल भएका छौ। तर यी औषधीजन्य खोपहरू सम्पन्नसाली मुलकमा निर्मित भएको हुँदा गरिब मुलुकको पहुँचसम्म आइपुग्न भने अझ केही समय लाग्ने अनुमान गर्न सकिन्छ।
हालका दिनमा यो भाइरससँग लड्दै भिड्दै दैनिक जीवनलाई चलाउनुबाहेक हामीसँग अर्को विकल्प देखिदैन।
वर्तमान समयमा भाइरस एक प्रमुख चुनौती बन्दै खडा भइरहेको छ। हामी पनि विशेष सतर्कता अपनाउँदै भाइरसलाई निस्तेज पार्ने प्रयासमा घनिभूत संघर्ष गरिरहेका छौ।
प्रत्येक नागरिकले पालना गर्नुपर्ने स्वास्थ्य सम्बन्धी जानकारी एवं रोगको चपेटामा पर्दा हुने भोकमरीको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरामा आम नागरिक सहित राज्यले पनि प्रभावकारी कदमहरू चालिरहेको छ।
विश्वका सम्पन्न राष्ट्रहरूले विज्ञानको प्रयोगशालाबाट कोरना भाइरस विरूद्धको खोप उत्पादन गरी हामी बीचमै परिक्षण गरिरहेका छन्।
केही समयपछि कोरोना भाइरस विरूद्धको खोप हामी सबैलाई उपलब्ध हुनेछ भन्ने कुरामा सबैजना पूर्ण विश्वस्त छौँ।
कोरना भाइरसबाट मुक्त भएको दिन हाम्रो देश लगायत सम्पूर्ण राष्ट्रका मानिसहरूले खुशीयालीरूपी पर्व अवश्य मनाउने छन्।
कोरोना भाइरसको अन्त्य भएको दिन मडारिएको कालो बादल हटेर तपाईं हामी बीचमा रंगिन दिनका सुरूवात हुनेछन्। म पनि मैलो भएको मेरो झोला धोइपखाली सदाझैं विद्यालय जाने दिनको प्रतिक्षा गरिरहेको छु। धेरै समयदेखि बन्द भएको मेरो विद्यालयले मेरो आगमनको प्रतिक्षा गरिरहेको होला। गुरू र गुरूआमाको बिछडिएको माया-प्रिति हामी बीचमा तङ्ग्रिएर मातृस्नेहझैं रमाइरहेका होलान्।
सबैका खुसी मनहरू चङ्गाझैं उडि स्वतन्त्र रूपमा सल्बलाई रहेका हुनेछन्। कयौं दिनदेखि नजिक रहेर पोख्न नपाएका मनका भावनाहरू हामी साथीभाइ बीचमा समेटिनेछन्। भिषम परिस्थितिमा भोग्नु परेका दु:ख-कष्टका क्षणहरूलाई हामीले पूर्ण रूपमा समीक्षा गर्नेछौं।
मानिसहरू पनि खुल्ला आकाशमा स्वतन्त्र रूपमा उडिरहेका पन्छीझैं निर्भिक भएर आफ्नो कार्यक्षेत्रमा डटिरहेका हुनेछन्। मानौं पिजडाबाट मुक्त भएको चरीझैं राष्ट्रले आफ्नो गतिलाई समाइरहेको हुनेछ। हामीले देखेका र भोगेका साथै बाँच्नका लागि गरेका संघर्षहरूले भोलिका दिनमा आउने यस्तै जटिल परिस्थिति प्रति सचेत रहन कोरोना भाइरसको अन्त्य भएको दिनले आम जनमानसमा महत्वपूर्ण सन्देश प्रवाह गर्नेछ।
यस बीचमा तपाईं र हामी बीच टुटेका सम्बन्धहरू जोडिएर पुनः प्रगाढ बन्नेछन्। विश्व नै खुला वातावरणमा रमाइरहेको हुनेछ।
(आरुषी पौडेल दि एक्सेल्सियर स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)