सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
बाबा, बुवा, बा या ड्याडी। जसले जे भने पनि जन्मदाताको सम्बोधन हो बाबा। मेरा कोही साथी बाबाले खानेकुरा ल्याइदिएर हो कि ‘पापा’ पनि भन्दा रहेछन्। म भने बाबा नै भन्छु।
धेरै जनाले आमाको बारेमा मात्र पढ्छन्, लेख्छन्। त्यस्तै, गीत र कथा पनि सुनाउँछन्, ‘आमा भन्दा राम्रीऽऽऽ कोही छैन संसार मै...’ यस्तै यस्तै।
म पनि मेरी आमालाई एकदमै धेरै माया गर्छु। तर मलाई बाबाको माया पनि औधि लाग्छ।
मानिसलाई आफूसँग जे छ त्यसको कम र आफूसँग जे छैन त्यसको धेरै महत्व लाग्ने गर्छ। यस्तो मैले धेरै जनाको मुखबाट सुनेको छु। जस्तै कि मलाई मेरो लुगा, खेलौना र स्कुल ब्यागभन्दा साथीका मनपर्छ। मलाई त्यस्तै चाहियो भनेर घरमा आमालाई धेरै कर गर्छु। कहिले पूरा हुन्छ कहिले हुँदैन। त्यही भएर होकि, मलाई आमासँग बस्दा पनि बाबा भैदिए हुन्थ्यो नि भन्ने लाग्छ। बाबा भएको भए के हुन्थ्यो होला जस्तो लाग्छ।
अचेल बाबा नहुँदा हरेक दिन जस्तो मलाई न्यास्रो लाग्न थालेको छ। आमाको काखले मात्र पुग्ने मलाई तर अब ‘नाईं अब त बाबा नै हुनुपर्छ सँगै’ जस्तो लाग्छ। यस्तो मलाई मात्र हुन्छ कि, अरूलाई पनि हुन्छ? तर म खाली समयमा बाबालाई सम्झिरहने भएकी छु।
मेरो बाबा विदेशमा हुनुहुन्छ। अनि बाबालाई ‘विदेश किन गएको हजुर?,’ भनेर सोध्यो भने, उहाँको जवाफ आउँछ, ‘छोरी म तिमीहरुकै लागि विदेश आएको हुँ। तिमीलाई राम्रो पढाउन लेखाउन, अनि तिम्रो सुन्दर भविस्य होस् भनेर आएको नभए मलाई पनि तिमीसँगै खेलेरै बस्ने मन लागिरहन्छ।’
कहिलेकाहीँ के लाग्छ भने, मेरो लागि भए त बाबा मसँगै हुनुपर्ने होईन र?
अरूका बाबा त नेपालमा छन् मेरो बाबा चाहिँ किन जानुपर्ने? यस्तो प्रश्न मैले एकदिन मेरो घर छेउकै एकजना पत्रकार आन्टीलाई सोधेँ।
‘तिम्रो मात्र होईन नानु अरू धेरै जनाको बाबाहरू बिदेशिएका छन्। कोही खाडी मुलुक जस्तै दुबई, कतार अनि मलेसिया। त्यस्तै कोही दक्षिण कोरिया, इजरायल अनि जापान। अरू विभिन्न मुलुकमा पनि जाने गर्छन्,’ उहाँले भन्नु भो, ‘नेपाल सरकार श्रम मन्त्रालयले सन् २०२० मा निकालेको तथ्यांक अनुसार करीब २ लाख ३६ हजार २ सय ८ जना २० देखि ४० वर्षका नेपाली युवा विदेशमा श्रम गर्छन्।'
आजसम्म तीस लाख भन्दा धेरै नेपाली विदेशी भूमीमा श्रम गरिरहेका छन्। उहाँको कुराबाट के थाहा भयो भने मेरो मात्र होइन, अरूका पनि बाबा विदेश जानेरहेछन्।
मेरो बाबा मलाई विदेशबाटै हरेक दिन फोन गर्नुहुन्छ। भिडओ कलमा हामी धेरैबेर कुरा गछौं। मलाई बाबासँग प्रत्यक्ष भेटेर काखमा बसेर खेल्दै कुरा गर्न पाए हुन्थ्यो नि भन्ने लाग्छ। तर मोवाईलमा मात्र छुन मिल्छ। मैले मोवाईलमा जतीपटक बाबालाई छुन खोजे पनि छोईदैन्। मोवाईलमा यस्तो सुबिधा पनि हुनु नि। स्क्रीनमा छुँदा मेरो बाबालाई मैले छोएको महशुस हुने गरी। कति पटक यस्तो सोच्न आउँछ मलाई ।
बाबाको मुख हेर्ने दिन पनि भिडीओ कलमा नै हेर्नुपर्छ। सबैभन्दा दिक्क त मलाई यस्तो बेला लाग्छ, जब मैले चिनेका मेरा साथी आफ्नो बाबाले चलाएको मोटरसाईकलमा बजारमा किनमेल गर्न जान्छन्। स्कुलमा बाबाले नै पुर्याईदिएर आएका हुन्छन्। यस्तो बेला म टोलाईरहन्छु।
मेरो बाबा भएको भए म यस्तै गर्न लगाउँथे। स्कुल भ्यानमा स्कुल जानुभन्दा त बाबाको हात समाएर गएको राम्रो हुन्छ होला? मलाई थाहा छैन। मेरो बाबा म ३-४ वर्षको हुँदा नै विदेश जानुभएको रे। आमाले सुनाउनु भएको मलाई। राम्रोसँग बाबासँग बिताएको समय याद नै छैन मलाई। घुम्न गएको वा केही किन्न गएको, यो सबै त मलाई थाहा नै छैन्।
जे भए पनि भगवानले बाबा बनाउँदा नै सोचेर बनाउँछ होला, ‘कि आफ्ना छोराछोरीको लागि तिनै छोरा छोरी त्यागेर एउटा फोन कलको भरमा विदेशमा बसेर दुःख गर’ भनेर।
मेरो बाबा पनि त त्यस्तै हो नि। हामीलाई जति माया गरे पनि हाम्रो लागि विदेशमा दुःख गर्ने। बाबालाई घर आउनु आउनू भनेर जति कर गरे पनि अर्को मनले सोच्छ, ‘बाबा आएपछि हामीले राम्रो स्कुलमा पढ्न पाएनौ भने? राम्रो लुगा र मीठो खाना खान पाएनौं भने? यस्तो कुराले चाही डर लाग्छ। तर बाबासँगै भएपछि के के हुन्छ होला भन्ने कुराले चाहिँ नेपालमै आईदिए हुन्थ्यो भन्ने लाग्छ। पैशा भन्दा त बाबाले नै खुसी हुन्छु म।
कसैले तिम्रो बाबा खोई भनेर सोध्यो भने मलाई पनि त भन्न मन लाग्छ नि, ‘बाबा अफिसमा हुनुहुन्छ’ भनेर वा ‘मेरो बाबा बिजनेश गर्नु हुन्छ’ भनेर तर त्यस्तो त छैन। मैले त भन्नु पर्छ मेरो बाबा विदेशमा हुनुहुन्छ। त्यसैले म परदेशी बाबाको छोरी हुँ। मेरो बाबाले विदेशमा दुःख गर्दा हामीलाई नेपालमा सुख मिलेको छ। बाबाले कमाएको पैशा हामीलाई मात्र होइन देशलाई पनि काम लागेको छ।
विदेशमा बाबाले दुःख गरेर कमाएर नेपालमा पठाएको पैसालाई रेमिट्यान्स भनिन्छ। यो कुरा मैले स्कुलमा पढेको। रेमीटेन्सले नै हाम्रो देशमा विकास निर्माण हुने गर्छन। मलाई कस्तो लाग्छ भने काहिँ बाटो बन्दै छ भने काहिँ अस्पताल बनिरहेको छ भने, त्यसमा मेरो बाबाको कमाई पनि छ होला। यस्तो सोच्दा बाबासँग गर्व लाग्छ। अनि परदेशी बाबाको छोरी भएकोमा पनि गर्व लाग्छ ।
मलाई अचेल निहुँ खोज्न मन लाग्छ, रून मन लाग्छ। मेरो यो हर्कतले आमालाई दिक्क लाग्छ कि भनेर देखाउन मन लाग्दैन। बाबासँगै भएको भए म अशल र ज्ञानी छोरी हुन्थेँ तर यस्तो सोच्नु पनि भएन। जहाँ भए पनि बाबा त हुनुहुन्छ नि। मैले गलत गरेको कुरामा त म छोरी सोरी भन्दा नि भनेर गाली त खाएकै छु। तर जति गाली गरे पनि आफ्नो बाबाले गाली गरेकोलाई के नराम्रो ठान्नु र। माफ गरिदिन्छु।
मेरो बालापन बाबासँग टाढा बसेरै बितिरहेको भए पनि जब बाबा आउनु हुन्छ म मेरा कामबाट बाबालाई सधैं खुसी राख्नेछु।
(दिव्यान्सी शाही हिमालय इंग्लिस स्कुल कोटेश्वरमा कक्षा ५ मा अध्ययनरत छिन्।)