सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मान्छेलाई अरूले नराम्रो भनेको भन्दा राम्रो भनको, 'वाह! वाह!' गरेको मन पर्छ।
समयमै होमवर्क गर्दा होस् वा सफा भएर स्कुल जाँदा, अरूले 'दिव्यान्सी गुड जब' भनेको सुन्दा जुन आनन्द आउँथ्यो त्यो भन्दा एकदमै फरक अनुभव गरेँ यो पटक मैले।
मेरो परिवारका सदस्यहरू भन्नु हुन्छ मसँग केही फरक गुण छ। जस्तो कि म कुनै कुरालाई शब्दमा पोख्न सक्छु। अर्थात, लेख्न सक्छु। व्याख्या गर्न सक्छु। यही कारणले मैलै यसअघि घरमा होम क्वारेन्टाइनमा बस्दा दुइवटा लेख लेखेको थिए।
सेतोपाटीमा ति लेख छापिएपछि मेरो खुसीको सीमा रहेन। म वहाँ को हुनुन्छ चिन्न त चिन्दिन तर मामूको इमेलमा एउटा मेल आएको रहेछ। वहाँले मलाई पढ्न दिनुभयो। त्यहाँ लेखिएको थियो- नानीको लेखाई राम्रो छु- चन्द्र काफ्ले।
यो वाक्य पढ्दा मेरो भुइँमै खुट्टा थिएन। खै कहाँ कहाँ उडिरहेकी थिएँ।
मेरो लेखको पाठक जुन उमेर समूहको भए पनि आफ्नो बाबालाई सम्झिएर लेखेकाले मेरो मुख्य पाठक मेरो बाबा नै हुनुहुन्थ्यो। बाबाले के भन्नु हुन्छ होला भन्ने डर सँधै हुन्छ। कारण म बाबासँग धेरै खुलेर कुरा गर्दिन। बाबासँग सबै छोराछोरी डराउँछन् होला नि! म सोध्न सकिरहेकी थिइन।
आजभोली अनलाइन क्लास हुन्छ। स्कुल जानु पर्दैन। मेरो पाँच कक्षाको पढाई पनि पोहोर चार कक्षा पढेँजस्तै स्कुलमा जाँदै नगई सुरू भएको छ। नयाँ-नयाँ साथीहरू पनि भर्ना भएका छन्। सबैले सबैलाई चिन्दैनन। शिक्षक शिक्षिकाहरू सबैसँग पनि राम्रोसँग चिनजान छैन।
तर एकजना म्यामले अनलाइन क्लासमा पढाई भइरहँदा सबैलाई 'जुम म्युट' गर्न लगाएर भन्नुभयो, 'स्यावास! दिव्यान्सी। तिमी राम्रो लेख्छौं। सबैले दिव्यान्सीबाट सिक।'
थाह छ, मलाई कस्तो भयो होला? मेरो सास झण्डै रोकिएको थियो। मटु ढुकढुक भएर आयो। होस् नै उड्यो। मलाई त म्यामलाई धन्यवाद भन्नुपर्छ भन्ने सामान्य कुरा पनि दिमागमा फुरेन। मन नाँचु-नाँचु भइरहेको थियो। जोडले हाँस्न पनि नमिल्ने। नहाँसु भने पनि खुसी थामिएकै थिएन।
कस्तो लाग्छ कसैलाई जब कसैले प्रसंसा गरिदिन्छ? सायद यस्तै हुन्छ होला!
जब तारिफ पाएँ नि तब लाग्यो, म अब लेख्न कहिले छाडदिन। मेरो मामू भन्नुहुन्छ, 'लेख्न त मात्र सकिन्छ, जब पढ्न मन लाग्छ।'
त्यसैले अचेल मलाई खुब पढ्न मन लाग्छ। समाचार सुन्न मन लाग्छ। मनमा अनेक विचार खेलाइरहन मन लाग्छ। कहिलेकाहीँ ति विचारहरूका चित्र बनाइदिन्छु। यसरी कल्पना गर्दै चित्र बनाउँदा आफ्ना चित्रहरूको आफैँ तारिफ गरुँझै लाग्छ। मैले तारिफ गरीदिँदा मेरै चित्रहरू कति फुरुंग पर्ने थिए होलान्!
हामीलाई रून मन लाग्नु, चित्त दुख्नु वा रिस उठ्नु जतिकै तारिफ सुन्नु पनि एउटा भावना रहेछ। यस्तो भावना जसले आफूले गरिरहेको काम प्रति सन्तुष्टि मात्र दिँदैन, त्यसलाई निरन्तरता दिने हौषला पनि दिन्छ। अचेल मलाई त्यस्तै हौषला प्राप्त भएको छ।
मामू भन्नु हुन्छ, 'धेरै नफुर्कीउ, अहमता बढ्छ। अनि काम बिग्रन्छ।'
तर मलाई त्यस्तो लागेको छैन। म असाध्यै फुर्किरहेकी छु। मलाई 'तिमिले लेखेको सेतोपाटीमा पढेँ नि' भनेर कसैले भन्यो की गदगद हुन मन लागिहाल्छ। कहिलेकाहीँ त म त्यो भावनालाई व्यक्त गर्ने शब्द नै पाउँदिन।
अनि अस्ति मैले एकजना जान्ने मान्छेलाई सोधेँ, 'यो के भएको मलाई? खुसी जस्तो, नाँचु-नाँचु जस्तो। कस्तो हो कस्तो!'
अनि वहाँले मलाई भन्नु भो, 'तिमीलाई कसैले तारिफ गर्यो होला। तारिफ सुनेपछि यस्तै महशुस हुन्छ।'
अनि यो लेखको शिर्षक राखेँ, 'तारिफ सुनेर प्रफुल्ल भएँ।'
(दिव्यान्सी शाही हिमालय इंग्लिस स्कुल कोटेश्वरमा कक्षा ५ मा अध्ययनरत छिन्।)