सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
हामी सबै यस देशका इमानदार र मिहिनेती नागरिक हौं। देशका नागरिकले गर्नुपर्ने कामहरूले नै देशको विकासमा धेरै असर पार्ने गर्छ। सरकारले देशलाई हाम्रै पैसाले चलाउँछन्। बिजुली, खानेपानी, कर आदिका लागि उठाइएको पैसाले नै देशका विभिन्न कार्यहरू गरिन्छ।
हामी नागरिकले हाम्रा अधिकारहरू संविधानबाट पाउँछौ। संविधान विरूद्ध जाने व्यक्तिले सजाय पाउँछ। हामीले आफ्नो अधिकार पाएनौँ भने त्यसका विरूद्ध आवाज उठाउन सक्छौं। त्यसैगरी आफ्ना कर्तव्यहरू इमानदारीपूर्वक गरेर कर तिर्नेदेखि बिजुली, खानेपानीको पैसा पनि समयमा नै दिई असल नागरिकको उदाहरण बन्नुपर्छ।
नागरिकको कर्तव्य देशको हरेक परिस्थितिमा साथ दिनु र आफूले गर्न सक्ने मिहिनेत गर्नु पनि हो। देश भन्नेबित्तिकै हामी सबैको साझा घर हो। यो घरलाई सुरक्षित गर्नु र यसको विकास गर्नु हाम्रो कर्तव्य हो। त्यस कारण हामीले सक्ने काम गरेर दशको अवस्थालाई अझ गतिलो बनाउनुपर्छ। आफ्ना कर्तव्यलाई नभुलेर र देशलाई नछलेर आफ्नो जिम्मेवारी समयमा पूरा गर्नुपर्छ।
कर्तव्यहरूमध्ये कर तिर्ने पनि एक हो। सरकारले कर तिराएर हामीलाई ठग्ने काम गरिरहेको होइन। यसबाट हुने विकासहरू हाम्रै लागि हो तर मानिसहरू कर तिर्ने बेला हेलचेक्रयाइँ गर्छन्।
प्राय: व्यवसाय गर्ने व्यापारीहरू कर तिर्दैनन् र यसको कारण सरकारको धेरै नोक्सान हुन्छ। केही कुरा किनेपछि बिल लिने पनि हाम्रो कर्तव्य हो। त्यही बिलको कारणले ती व्यापारीहरूलाई धेरै कम कर तिर्नुपर्छ। हाम्रो देश नेपालमा १०५ व्यापारीले पनि राम्ररी कर तिर्दैनन् र यसको परिणाम पनि हामीले नै भोग्ने गर्छौ। त्यसै कारणले हामीले आफ्नो दायित्वलाई पुरा गर्नुपर्छ।
यदि हामीले आफ्नो अधिकार पाएनौं भने काटमार, हडताल आदि सुरू गर्न थाल्छौँ तर आफ्नो दायित्त्व भने पुरा गर्दैनौं। त्यस कारणले सुरूमा हामी नागरिकले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ तब मात्र देश विकास भएन भने हामी सरकारलाई दोष दिन सक्छौँ र यसको विरूद्धमा जान सक्छौं।
नागरिकको कर्तव्य आफ्नो समाजमा शान्ति कायम गर्नु, समाजलाई सफा राख्नु, फोहरको व्यवस्थापन गर्नु, राम्रो बानी व्यवहारको प्रयोग गर्नु आदि हो। हामी सबै आजैदेखि आफूले गर्ने काम इमानदारीपूर्वक गर्न थालौं र समाजका लागि एउटा उदाहरण बनौं।
(प्रसिद्धी डंगोल डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)