सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
धेरै देशमा बालबालिकालाई खेल्ने ठाउँ छ। हाम्रो सहरमा भने त्यति खुला ठाउँ छैन। घरबाहिर हामीसँग खेल्ने ठाउँ भयो भने हामी फुर्सदको समयमा घुम्न जाने, कसरत गरेर जीउ स्वस्थ्य पार्ने, दौडिने, उफ्रिने-बस्ने र अरू धेरै कुरा गर्न सकिन्छ।
यसका साथै हामी खुला पार्क, चौरजस्ता ठाउँमा परिवार र साथीसँग समय बिताउन सक्छौं। अनि हामीले नयाँ साथी पनि बनाउन सक्छौं।
मलाई फुटबल खेल्न मन पर्छ। कहिलेकाहीँ म मेरो आमाबुवालाई बाहिर फुटबल खेलाउनका लागि अनुरोध गर्छु। उहाँहरूले ‘बाबु बाहिर सडकमा खेल्न हुन्न। हाम्रो घर नजिकै खुला ठाउँ छैन। कुनै दिन रत्नपार्क या टुँडिखेल गएर खेलम्ला’ भन्नुहुन्छ। जहिल्यै पनि उनीहरूको यस्तो जवाफ सुनेर म हैरान हुन्छु।
पोहोर साल दशैंमा म मेरो मामाघर गएको थिएँ। त्यहाँ खेल्नका लागि धेरै खुला ठाउँहरू रहेछन्। हामीले धेरैजसो दिन खेतमा, चौरमा, धेरै किसिमका खेल खेल्यौं। कहिले बल, कहिले लुकाछिपी, कहिले के, कहिले के खेल्यौं। तर गाउँको जस्तो काठमाडौंमा हामी त्यसरी रमाउन सक्दैनौं किनभने हामी बाहिर निस्किने र बस्ने, खेल्ने मैदान र ठाउँ नहुँदा घरभित्र नै बस्नुपर्छ। घरभित्र नै बस्दा मोबाइलमा नै गेम खेल्न थाल्छौं।
म ठूलो बनेर फुटबल खेलाडी बन्न चाहन्छु। पेले, रोनाल्डो, मेस्सी जस्ता खेलाडी पनि मेरो उमेरदेखि नै मिहिनेत गरेर ठूलो भएका हुन्। उनीहरूले घर नजिक वा स्कुलमा मेरो उमेरमा फुटबल खेल्थे रे। तर यहाँ त्यसरी खेल्न सकिन्न। बच्चाहरूका लागि फुटसल पनि छैनन्।
अहिले स्कुल पनि छैन। दिनभरी घरमा नै बस्नुपर्छ। साथीभाईसँग साँझ-बिहान घुम्न जान सडकमा नै जानुपर्छ। यो कुरामा सबैले ध्यान दिनुहोला।
हाम्रो टोल छिमेकमा पनि बच्चाहरुका लागि खेल्ने ठाउँ हुनेछ भन्ने मेरो आशा छ।
(आगमन भट्ट पाठशाला नेपाल, बानेश्वरमा कक्षा ३ मा अध्ययनरत छन्।)